साप्ताहिक संवाददाता
जाडो महिनामा बालाजुकी सविता पौडेलको हातखुट्टाका औंला सुन्निएर रातो हुन्छ । हातखुट्टाका औंला चिलाउँदा र रातो हुँदा उनलाई जाडो महिना नआए पनि हुन्थ्यो जस्तो लाग्छ । सविताको जस्तो समस्या धेरैलाई पर्न सक्छ । हातखुट्टाका औंला सुन्निने तथा चिलाउने समस्यालाई ‘चिल ब्लेन’ भनिन्छ ।
डर्मापर्फेक्ट स्किन लेजर एन्ड प्लास्टिक सर्जरी सेन्टरकी डर्मेटोलोजिस्ट अपर्णा शाहका अनुसार जाडो महिनामा एसी र हिटरमा लामो समय बस्दा छालाको चिल्लोपन कम हुन जान्छ । यसले गर्दा छाला सुख्खा हुन्छ, यसलाई ‘जिरोसिस’ भनिन्छ । यसैगरी छाला सुक्खा भएर चिलाउने, पोल्ने तथा कत्ला देखिने पनि गर्छ । यसलाई एक्जोटिक भनिन्छ । यसैगरी यो मौसममा छालाको साइड–साइडमा, छातीको बीच भागमा, गालामा रातो दाग, धब्बा देखा पर्छ, यसलाई सेबोरिक डम्र्याटाइटिस भनिन्छ । अनुहारमा चाया पोतोको समस्या पनि धेरै पाइने गरेको छ । जाडो भएर ऊनीका पहिरन धेरै लगाउने गर्दा पसिना आउँदा फङ्स संक्रमण पनि हुन सक्छ ।
जाडो मौसममा कम नुहाउँदा संक्रमण भई लुतो पनि देखा पर्न सक्छ । यस्ता लुतो खटिराजस्तो हुन्छ, खुट्टा तथा शरीरमा देखिन्छ । यो रातको समयमा धेरै चिलाउँछ । यसैगरी धेरैको हातमा पैसाजस्तो दाग पनि देखिन्छ । लुतो र दाद भने एकबाट अर्कोमा सर्न सक्छ । यतिबेला सबैलाई घाम प्यारो हुन्छ । चर्को घाममा बस्दा पनि एलर्जी हुन सक्छ । घामको एलर्जीका कारण अनुहार, घाँटी तथा छाती रातो हुने गर्छ, यसलाई फोटो डम्र्याटाइटिस भनिन्छ ।
जाडो मौसममा चिन्ता धेरै लिएमा, चुरोट, रक्सी धेरै सेवन गरेमा कत्ले रोग बढ्छ । यो वंशाणुगत रोग हो । घुँडा, कुहिना तथा अन्य ठाउँमा सेतो कत्लाजस्तो देखिन्छ । यो निकालेपछि रातो देखिन्छ । कतिपयको केशमा समेत यस्ता कत्ला देखा पर्छन् । जाडोमा धेरैलाई केशमा चायाको समस्या पनि धेरै नै देखा पर्छ ।
बालबालिका तथा वृद्धाका लागि खानपान
बालबालिका र वृद्धावस्थामा इन्फ्लुयन्जा रुघाखोकी तथा निमोनियाँ हुने सम्भावना भएकाले छाती तथा शरीर न्यानो पार्ने खानेकुरा खानु उपयुक्त हुन्छ । डाइटिसियन विपिन कार्कीका अनुसार अन्डामा पर्याप्त मात्रामा भिटामिन डी हुने भएकाले यसको सेवनले छातीको संक्रमण कम गर्छ । यतिबेला झोलिलो गेडागुडी, मासुको रस तथा मसरुमको सुप सेवन गर्नु प्रभावकारी हुन्छ ।
यसले शरीरको तापक्रम सामान्य अवस्थामा ल्याउन मद्दत पुर्याउँछ । बालबालिकाले उसिनेको अन्डा, चिकेन, मह तथा अदुवाको रस खाएमा शरीर न्यानो हुन्छ । वृद्धावस्थामा शरीर कमजोर हुने र जाडोमा प्रर्याप्त मात्रामा पोषण तत्त्व नपुग्दा जाडो महसुस हुन्छ ।
न्यानोपनका लागि मासु, अन्डा, सागसब्जी, सुन्तला, कागती, पुदिना, तुलसी पानी, ओखर, चना र केराउको रस सेवन गर्नु उपयोगी हुन्छ । तीलको लड्डु, तरुल राजमाको तरकारी खानाले शरीरमा कार्बोहाइड्रेट परिपूर्ति हुन्छ । यसका साथै मासु, अन्डा तोफु, ओखर तथा बदाम खानाले सम्पूर्ण पोषण तत्त्वको मात्रा सन्तुलित हुनुका साथै जाडो मौसममा शरीरलाई आवश्यक तापक्रम प्राप्त हुन्छ ।