चुल्ठोमा बस्न चाहन्थें
बस्न त आँखामा चाहन्थें, ओठमा चाहन्थें
तर तिम्रो हत्केलामा बसें
कतै छातीमै पो राखिदिन्छौ कि भनेर
म फूल न थिएँ
भुइँमा फाल्यौ, खुट्टाले किचिमिची पार्यौ
तिम्रो एक कुल्चाइमा
जिन्दगीभरका लागि छरपस्ट भएँ
म त ऐना न थिएँ
तिमीले हेछ्र्याै कि भनेर
तिम्रो अनुहारको झ्यालमा उभिएको थिएँ
के–के सम्झिएर झस्किँदा
स्वाट्ट बांगिएको गाजल, लाली देखाइदिउँ भनेर
तिमीलाई विश्वासै नलागेका
बैंसका ज्वारभाटा देखाइदिउँ भनेर
बैंसका आधी
ओठमा ठोक्किदाको महकता देखाइदिउँ भनेर
म त ऐना न थिएँ
तिम्रा आँसुहरू लुकाइदिन सकिनँ
तिमीले झर्ल्याम्म पछार्यौ
म त पात न थिएँ
कुन विश्वासमा हो
या तिमीले कस्तो कम्पन दियौ कुन्नि
तिमीसँगै बत्तिएँ
तिमी बहँदै गयौ, म पछ्याउँदै गएँ
तिमी गइरह्यौ...
जाँदाजाँदै म माकुराको जालोमा अड्किएँ
तिमी गइरह्यौ... गइरह्यौ... गइरह्यौ...
अचानक एकदिन
क्यामेरा आइपुग्यो मलाई छातीमा सजायो ।