साप्ताहिक संवाददाता
पिरिम नलाउने...
केही महिनाअघि सार्वजनिक भएको एउटा आधुनिक शैलीको युगल गीतले युट्युब तथा टिकटकमा मात्र होइन, सार्वजनिक जीवनमा समेत लोकप्रियता हासिल गरेको कुरा सुनेर उक्त गीतका गायक आशिष गौतम सचिन दंग छन् । आफ्नो सांगीतिक जीवनकै दोस्रो गीत विवाह भोजदेखि पिकनिकसम्म बजाएर नाचिरहेको देख्दा यी युवा गायक दंग नपर्ने कुरै भएन ।
हुन पनि, ‘पिरिम नलाउने...’ गीत आजको मितिसम्म युट्यबुमा १ करोड ९५ लाखभन्दा बढी पटक हेरिएको छ । टिकटकमा यही गीतमा हजारौंले अभिनय तथा नृत्य गरेका छन् । टिकटकमा त सर्वसाधारण मात्र होइन, नेपाली सेलिब्रेटीहरूले समेत यही गीतमा आधारित भएर भिडियो बनाएका छन् ।
दीपक शर्माको शब्द तथा संगीतको उक्त गीतमा गायक आशिष सचिनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । सुव्रतराज आचार्यद्वारा निर्देशित म्युजिक भिडियोमा गायक आशिष सचिनसँगै अभिनेत्री वर्षा राउत तथा तीन दर्जनभन्दा बढीले नृत्य गरेका छन् ।
लोकधुनसमेत मिश्रण गरिएको यो गीतको भिडियोले युट्युबमा अपलोड भएको डेढ महिनामै १ करोड भ्युज पाइसकेको थियो । गायक सचिनले उक्त गीतको सफलतापछि संगीतकार दीपक शर्माकै संगीत निर्देशनमा उक्त गीतको सिक्वेल समेत गाउने घोषणा गरेका छन् । यसअघि मेरो हरपल शीर्षकको गीत गाएका गायक सचिनको तेस्रो गीत दिन पनि भेरी गुड चाँडै दर्शकमाझ आउँदैछ ।
यसबीच युट्युबमा ८५ हजार लाइक तथा २ हजार ८ सय ३० वटा प्रतिक्रिया पाउने उक्त गीतको भिडियोले प्राप्त गरेका केही महत्वपूर्ण प्रतिक्रिया :
तीन वर्षसम्म पनि विदेशबाट घर नजाने, हल्का दार्ही फुलेकाहरूले यता हाजिर गरौं त । त्यसका बाजे, कस्तो राम्रो सिर्जना हो ।
रत्न कार्की
यो गीत टिकटकका लागि नै बनेको हो ।
मानव बस्याल शर्मा
दिनमा एक न एकचोटि यो गीत नहेरी मनै मान्दैन ।
अमर चौधरी
तीन महिनामा एक महिना नि गाउँमा नआउने, क्यारी होला यस्तासँग माया पलाउने, भैगो भैगो तिमीसँग पिरिम नलाउने । साह्रै उत्कृष्ट गीत ।
एचआरके इन्टरटेन्मेन्ट
मौलिक गीत–संगीतलाई सबैले प्रोत्साहन गर्नुहोस् है । यस्तै सुमधुर छ यो गीत । एक पटक सुन्न नभुल्नुहोला ।
अर्जुन तिवारी अविरल
साथी हो, पासपोर्ट जोगाएर राख्नु है । घर जाँदा श्रीमतीले च्यात्न बेर छैन यो गीत हेरेपछि । राम्रो छ, गीत मन पर्यो ।
सुरज र सागर
सलाई बिना आगो बल्ने भए, पैसाबिना संसार चल्ने भए, ल्हासा किन जान्थे र मदन, मायाले नै संसार चल्ने भए । असाध्यै सुन्दर गीत र भिडियो ।
शान्तिको खोजीमा
लिन आउँछु घर तिम्लाई बाजा बजाइ, नमानेमा जबर्जस्ती लान्छु भगाइ ।
बाबु राजा
आँखाबाट आँसु नै झर्यो भिडियोको अन्तिम दृश्यले ।
चन्द्रकला डल्लाकोटी
कति राम्रो स्वर छ हजुरहरू दुवै जनाको ।
भीष्म न्यौपाने
गजब प्रस्तुति अनि राम्रो गीत र नृत्य ।
खेमानन्द पाण्डे
यो गीतले मेरो घरबार बिगार्ला जस्तो लाग्यो यार ! घर नगा’को पनि चार वर्ष हुन लाग्यो । अब यो तालले भएन । घर त जसरी पनि जानुपर्छ । एक वर्ष थप गरेर पाँच वर्षमा घर जानुपर्ला भन्ने सोच गरेको थिएँ, अहँ हुँदैन । अब घर जानुपर्छ । पैसा भन्ने यस्तै हो । अब थप नगर्ने, चार महिना बाँकी छ । अब जानुपर्छ ।
राज बुढाथोकी
समसामयिक विषयमा आधारित यो गीत उत्कृष्ट छ ।
राज कुमार
सालको पातको
टपरी हुने....
पछिल्ला केही वर्षयता कुनै पनि नयाँ गीत कति लोकप्रिय छ भन्ने कुराको मापन गर्ने सजिलो माध्यम बनेको छ यूट्युब । नेपाली गीत–संगीतमात्र होइन, हिन्दी तथा अंग्रेजी गीतको लोकप्रियताको मापन पनि अचेल यूट्युबको भ्युजबाटै हुन थालेको छ । यही मेसोमा यतिबेला नेपाली सांगीतिक बजारमा एउटा लोकदोहोरी गीत भाइरल भएको छ । करिब तीन महिनाअघि वसन्त थापाको यूट्युब च्यानलमा अपलोड भएको ‘सालको पात टपरी हुने...’ गीत यतिबेला हरेक दर्शकको मनमा बस्न सफल भएको छ । अहिलेको पिकनिकको मौसममा यो गीतको महत्व अझ बढेको छ ।
कुलेन्द्र विक तथा विष्णु माझीको स्वरको यो गीतको म्युजिक भिडियो हालसम्म २ करोड ७१ हजारभन्दा बढी पटक हेरिएको छ । हरेक उमेरका दर्शकले मन पराएको यो गीतको म्युजिक भिडियोमा गायक कुलेन्द्र बिकसंगै अभिनेत्री मरिष्का पोखरेल तथा अभिनेता वसन्त थापाले कोरससँगै आकर्षक नृत्य प्रस्तुत गरेका छन् । १४ मिनेट २३ सेकेन्ड लामो उक्त गीतमा समावेश धुन, प्रयोग गरिएका शब्द तथा बाजाले गीतको सौन्दर्य त बढाएकै छ, भिडियोमा पनि मौलिकता पाइन्छ ।
गीतका सर्जक कुलेन्द्र विक समेत अहिले दंग छन् । ‘गीत राम्रै बने जस्तो लागेको थियो, गायक विकको भनाइ छ– तर यति धेरै लोकप्रियता पाउला भन्ने थिएन । यो गीतका शब्द नवराज पन्तले रचना गरेका हुन् भने वसन्त थापाले त्यसलाई संगीतबद्ध गरेका हुन् । मौलिक शब्द तथा आधुनिक शैलीको संगीतले यो गीतलाई लोकप्रिय बनाएको उनको कथन छ । आशिष अविरलद्वारा संगीत संयोजन गरिएको यो गीतको भिडियो शिव विकले निर्देशन गरेका हुन् ।
यूट्यबुमा आएका केही प्रतिक्रिया :
जोडी पन्छी देखे पनि घरमुनिको बोटमा, तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठमा...वा क्या शब्द छ, अनि संगीतको दम भन्नु नै वसन्त दादाको नाम हो र त्यो नाम आफैंमा काफी छ । कुलेन्द्र दा र विष्णु दिको गायकीको बयान गर्न मेरो क्षमताले भ्याउँदैन । निकै उत्कृष्ट गीत, आफैंमा बलियो छ । भिडियोको मेहनतका लागि सलाम छ शिव दाजु ।
भूमिका गिरी
मलाई लोक गीत खासै मन पर्दैनथ्यो, तर जुन दिन यो गीत सुनें, म लोक गीतको फ्यान भएँ ।
बुद्धराज राई
बिरामीलाई औषधि जस्तै बिहान, दिउँसो, बेलुका, राति कम्तीमा एक–एक पटक सेवन नगरी नहुने, कस्तो गीत हो यो ?
रमेश सिग्देल
नेपाली गीत–संगीत जगतमा यस्तै सिर्जना हुँदै जाने हो भने विदेशी गीत–संगीतको प्रकोप कम हुनेछ ।
देव श्रेष्ठ
मौलिकता झल्किएको छ । नेपाली लोकदोहोरीको इतिहासमा सबैभन्दा बढी मन परेको गीत यही हो ।
चेतन बोहोरा
हैट, जिन्दगीमा पहिलो पटक लोकदोहोरी गीत मन परेको र धेरै पटक सुनेको यही हो ल ।
केशव केसी
लोक गीतमा सबैभन्दा धेरै दर्शक पाएको गीत १.सालको पात टपरी, २.उही खोलाको पानी, ३. बोल माया ।
एसके मिडिया
मलाई सबैभन्दा खुसी लागेको नेपाल आइडलले पनि यो गीतलाई सम्मान गर्यो, जसले लोक तथा दोहोरी गीतको प्रचार–प्रसार अनि सम्बद्र्धनमा सहयोग पुर्याउनेछ ।
रामहरी अर्याल
लोक गीतको इतिहासमा लेखिनु पर्छ यो सिर्जना । कस्तो मीठो स्वर अनि लय, म त हेरेको हेर्र्या भएँ ।
नीलिमा थापामगर
विष्णु माझीको गीतले एक किसिमको तरंग फैलाउँछ युवाहरूमा । उनको आवाज मै मोहनी छ । तपाईंको आवाज लता मंगेशकरभन्दा कम छैन । सधैं यस्तै आवाज सुन्न पाइरहियोस् ।
गोविन्द अधिकार
हाम्रो नेपालमा अब परिवर्तन आएछ । गायक,गायिका, कोरियोग्राफर सबैलाई धन्यवाद छ । साह्रै राम्रो गीतका साथै भिडियो पनि साह्रै राम्रो ।
केशव खत्री