साप्ताहिक संवाददाता
गायक शिशिर योगी सधैं नौलो काम गर्न रुचाउँछन् । यतिबेला उनले एउटा नयाँ गीति संग्रह सार्वजनिक गरेका छन्, जहाँ दिवंगत संगीतकारका हालसम्म सार्वजनिक नभएका संगीत सुन्न सकिन्छ । योगीले सार्वजनिक गरेको ‘शिशिर’ शीर्षकको एल्बममा अम्बर गुरुङ तथा नारायण गोपालका अहिलेसम्म बाहिर नआएका गीत सोटिएका छन् ।
एल्बममा समावेश कमल दीक्षितको पुतली शीर्षकको कवितामा गायक योगीले नै धुन भरेका छन् । उक्त कविता २०२२ सालमा उदय पत्रिकामा प्रकाशित भएको थियो । अघिल्लो साता काठमाडौंमा आयोजित एल्बम विमोचन समारोहमा पुतलीको म्युजिक भिडियो समेत प्रिमियर गरिएको छ । एल्बमका अन्य गीत भीम विराग, सत्यमोहन जोशी, रत्नशमशेर थापा, कालीप्रसाद रिजाल आदिले रचना गरेका छन् ।
‘म आफ्नो संघर्षमय जीवनमा अम्बर गुरुङजस्ता संगीतविज्ञ एवं साधकलाई गुरु थाप्न पाएर धन्य भएको छु,’ गायक योगी भन्दै थिए– ‘गुरुबाट मैले संगीतका सम्बन्धमा सिकेको र बुझेको कुरा के हो भने, मैले केही पनि सिकेको छैन र केही पनि बुझ्न सकेको छैन ।’