साप्ताहिक संवाददाता
गायिका बिष्णु माझीको स्वर रहेको गीत ‘सिलौटो’मा चर्चित गायक कुलेन्द्र विश्वकर्माले नृत्य गरेर सबैलाई चकित पारेका छन् । खासै अरु कलाकारको स्वरमा अभिनय गर्दैनन्, कुलेन्द्रले । गायनमा स्थापित विश्वकर्माले यसपटक व्यवसायिक मोडल बनेर समेत काम गरेका छन् ।
गीत मन परेपछि आफु यो गीतमा काम गर्न राजि भएको उनले बताए । गीतको म्युजिक भिडियोमा अभिनय गरेका ‘सालको पात टपरी हुनी’का गायक तथा मोडल कुलेन्द्र विश्वकर्मा र मरिष्का पोख्रेलको अभिनयलाई खुबै मन पराइएको थियो । सोहि कारण यसपटक उनीहरुलाईनै काम गराइएको निर्देशक प्रकाश भट्टले जानकारी दिए । उनीहरुलाई राम्रो रकम खर्चिएर भिडियोमा काम गराइएको हो ।
म्युजिक भिडियो सार्वजनिक भएको केहि दिनमै यसको लोकप्रियता चुलिएको छ । युट्युबमा हेर्ने दर्शक–श्रोताले निकै मन पराएको प्रतिक्रिया दिएका छन् ।
यो म्युजिक भिडियो अर्को कारण पनि महत्वपुर्ण छ । भिडियोमा नेपाली म्युजिक इतिहासमा सर्वाधिक धेरै कोरस राखिएको छ । विष्णु माझीसँगै बालकुमार श्रेष्ठको स्वर रहेको उक्त गीतको सम्पुर्ण छायाँकन भक्तपुरस्थित दरवार स्वायरमा छायाँकन गरिएको हो ।
भिडियो निर्माणमा मात्रै निर्माण टिमले ५ लाख बढि लगानी खन्याएको छ । निर्देशक प्रकाश भट्ट भन्छन्, ‘यो गीत रेकर्डिङ हुँदा देखि भिडियो निर्माण हुँदासम्म स्थापित कलाकारहरुले काम गर्नुभएको छ, सोहि कारण भिडियो निर्माणमा हामिले हेलचेक्राई नगरेर काम गरेका हौं ।’
राजु बिरही लामाको प्रस्तुती रहेको गीतमा चर्चित गीत लालुमैका सर्जक शिव हमालको उत्कृष्ट लय तथा शब्द सृजना सुन्न सकिन्छ । गीत सुनिरहुँ जस्तो लाग्छ । भिडियो हेरिरहुँ जस्तो लाग्छ । गीतका संगीत संयोजक आशिष अविरल हुन् ।
भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्, विष्णु शर्माले सम्पादन गरेका छन् ।