विश्व यतिबेला कोरोना भाइरसको महामारीको चपेटामा छ । विश्व कसरी यो महामारीबाट बच्ने भन्ने चिन्ताबाट गुज्रदै गर्दा नेपाली भने आफ्नो मिचिएको भूमिको पीरमा टेकेर हिडिरहेका छन् ।
विश्व कोरोना भाइरसको महामारीसँग लड्दै गर्दा गत वैशाख २६ गते भारतले धार्चुला हुँदै तिब्बतको मानसरोवरसम्म पुग्ने लिंक रोडको उद्घाटन गर्यो । सोही बाटोमा पर्यो नेपाली भूमि लिपुलेक र कालापानीको भू–भाग ।
भारतले नेपालको स्वीकृति बिनै भूमि मिचेर बाटो बनाएपछि अधिकांशले आफ्नै तवरले विरोध गरे । गरिरहेका छन् । गीतकार रमेश बिजीलाई लिपुलेक कालापानीले नमज्जासँग दुखायो । त्यहि दुखेको मनलाई शब्दमा उतारे ‘आमा तिम्रो छातीको पाटो, छिमेकीले बनायो मुलबाटो’ । रमेशको यो दुखाईमा पुराना संगीतकार नारायण रायमाझीले लय भरे । अनि गीत रेकर्ड भयो नारायण रायमाझी र शान्ति श्री परियारको स्वरमा ।
महामारी झेलिरहेको यो समय गीत रेकर्ड गरी भिडियो नै बनाएर सार्वजनिक गर्न त्यत्ति सहज थिएन् । तर, यो गीत अहिलेनै सार्वजनिक गर्नु पर्ने भएर सार्वजनिक गरेको नारायण रायमाझी बताउँछन् । महामारीको विपदमा अझिएका नेपालीको स्वाभिमानमाथिको आक्रमणका बेला सार्वजनिक गरिएको यो गीतले अहिले धेरैको मन जितिरहेको छ ।
केहि कुराको ठूलो असर पछि मात्रै यस्ता गीत सिर्जना जन्मने भन्दै रायमाझीले भने, ‘यो सिर्जना अहिले नै नागरिकसम्म पुग्नु जरुरी थियो । त्यसैले हामीले विपदका बेला पनि तयार पारेका हौँ ।’
गीतकार रमेशले भारतीय पक्षले बेला बेला विभिन्न क्षेत्रका नेपाली भूमि मिच्दा ताकानै गीतको अन्तरा तयार पारेका थिए । लिपुलेकमा बाटो उद्घाटन भएपछि उनको मन फेरि नराम्रोसँग बिथोलियो । उनले भने ‘विपतमा त छिमेकीले आड भरोसा दिने हो । हामीलाई अप्ठ्यारो पर्दा त्यसको फाईदा लुटेन् खोज्छ छिमेकी । छिमेकीले नै डसेपछि कसरी सहनु ? सहनै नसकेर लखेको हो यो गीत ।’