राजनराज पन्त, निर्देशक, प्रमाणीकरण नियन्त्रकको कार्यालय
यो क्यानले आयोजना गर्ने एक प्रकारको कुम्भ मेलाजस्तो भएको छ, तर पनि यसलाई नयाँ र सस्ता ब्रान्डका बारेमा जानकारी दिने आधिकारिक थलो मान्न सकिन्छ। ती सामग्री हामी कहाँ र कुन कम्पनीमार्फत प्राप्त गर्न सकिन्छ भन्ने जानकारी सहज रूपमा प्राप्त हुनसक्छ। यद्यपि यसलाई मेलाका रूपमा मात्र लिइएको पाइन्छ। ग्राहकले अवलोकन गरेर मात्र केही हुँदैन, यसलाई ब्रान्ड प्रबर्द्धन गर्ने थलोका रूपमा पनि विकास गर्न सकिन्छ। त्यसका लागि गुणस्तरीय सामग्रीसमेत राख्ने व्यवस्था हुनु आवश्यक छ।
क्यान इन्फोटेकलाई पेन ड्राइभ, माउस तथा इयर फोन जस्ता सामग्री बिक्री गर्ने थलोका रूपमा मात्र विकास गर्नुभएन। केही वर्ष पहिले कुनै कम्पनीले दिएको सस्तो ल्यापटपको स्किमले निकै नै चर्चा पाएको थियो, तर पछि त्यसले ठगी गरेको गुनासो पनि आयो। त्यसैले यस्ता कुरालाई पनि व्यवस्थित गर्नु आवश्यक छ। यस्ता भीडभाडपूर्ण मेलामा ठूलाबडाहरू गएर अध्ययन-अवलोकन गर्ने वातावरण छैन। त्यस्ता भीआईपीहरूका लागि के-कस्तो व्यवस्था छ ? उनीहरूका लागि पनि विशेष व्यवस्था गरे राम्रो हुने थियो। यसलाई कन्जुमर प्रोडक्ट प्रदर्शन गर्ने थलोका रूपमा मात्र भन्दा अझ राम्रो तरिकाले व्यवस्थित गर्नु आवश्यक छ। इन्फोटेकले सूचना प्रविधिका क्षेत्रमा जनचेतना जागृत गर्न पुर्याएको योगदानलाई भने बिर्सन सकिँदैन।
डा. सुवर्ण शाक्य, असिस्टेन्ट डिन, इन्स्टिच्युट अफ इन्जिनियरिङ त्रिभुवन विश्वविद्यालय
कुनै पनि प्रकारका प्रदर्शनी हुनु आफैंमा नराम्रो कुरा होइन। यसबाट अवलोकनकर्ताहरूले धेरै-थोरै लाभ पाइनै रहेका हुन्छन्। त्यसैले यस्ता प्रदर्शनी जति धेरै भयो, उति राम्रो हो। विज्ञहरूले त सूचना प्रविधिका बारेमा सधंै जानकारी पाउन सक्छन्। सर्वसाधारणले त्यस्ता जानकारी पाउने थलो प्रदर्शनी स्थल नै हुन्। अब प्रविधिबाट कोही पनि अछुतो रहन सक्ने अवस्था छैन। नेपालकै कुरा गर्दा हाल आएर आइसिटी प्रोजेक्ट, इ पासपोर्ट, राष्ट्रिय परिचयपत्र आदिका कुरा आइरहेका छन्। मेसिन रिडेबल पासपोर्ट अर्थात् एमआरपी लागू भैसकेको छ। भविष्यमा यस्ता धेरै कागजात सर्वसाधारणका हातमा पुग्नेछन्। त्यसैले पनि प्रविधिका बारेमा सबै अपडेट भैरहनु आवश्यक छ। यसका लागि गरिने विभिन्न प्रदर्शनीले सबैलाई फाइदा पुर्याउन सक्छन्।
पुष्कल खतिवडा, मार्केटिङ हेड, इन्टरनेसनल मार्केटिङ सर्भिसेज प्रालि
आइसिटी सम्बद्ध विभिन्न कम्पनीले आफ्नो उपस्थितिमार्फत आफ्ना सेवाका बारेमा विद्यार्थी, प्रोफेसनल लगायत विभिन्न समूहलाई एकै पटक जानकारी दिन सक्छन्। विभिन्न फरक चाहना भएका ग्राहकलाई एकै पटक एउटै स्थानबाट जानकारी दिन सकिन्छ। यो समग्र आर्थिक विकासका लागि पनि लाभदायक हुन्छ। यसमार्फत एकै पटक आफ्ना उत्पादनका बारेमा एक प्रकारको विज्ञापन पनि गर्न पाइन्छ। व्यापारिक हिसाबले पनि यो लाभदायक सावित हुन्छ।
विश्वमा आइटीसम्बन्धी विकास निरन्तर चलिरहेको छ। इन्टरनेटको पहुँच भएकाहरूले तिनका बारेमा केही थाहा पाएका हुनसक्छन्। यद्यपि ती सामग्री छोएर हेर्न वा तिनका बारेमा प्रत्यक्ष जानकारी लिन यस्ता मेला उपयोगी हुन्छन्, जहाँ ती सामग्रीको प्रयोग र प्रभावकारिताका बारेमा जानकारी लिन सकिन्छ। एउटै स्थानमा धेरै उत्पादनका बारेमा जानकारी पाउँदा समयको पनि वचत हुन्छ। उदाहरणका लागि सामसुङका पछिल्लो प्रविधिका स्मार्टफोनका बारेमा धेरैले सुनेका हुन सक्छन्, तर त्यसको प्रयोग नगरेका हुन सक्छन्। ती सबैका बारेमा हाम्रो स्टलमार्फत जानकारी लिन सकिन्छ।
विप्लवमान सिंह, पूर्व अध्यक्ष, क्यान
क्यान इन्फोटेकलाई जनचेतना जगाउने र व्यापार गर्ने गरी दुई हिसाबले मूल्यांकन गर्न सकिन्छ। व्यापारीहरूको मुख्य उद्देश्य व्यापार भए पनि यसमार्फत वृद्धि भएको जनचेतनाले भविष्यमा हुने व्यापारलाई समेत मद्दत पुगेको छ। कम्पनीहरूले नयाँ प्रोडक्ट लन्च गर्ने उपयुक्त थलोका रूपमा यसलाई उपयोग गरेको पाइन्छ। यसले गर्दा अवलोकनकर्ताले पनि तिनका बारेमा एउटै स्थानबाट जानकारी प्राप्त गर्न सक्छन्। यसको फाइदाकै कारण अहिले यस्ता मेलामा भीड बढिरहेको हो। पहिलो पटक क्यान इन्फोटेक हुँदा २७ सय व्यक्तिको मात्र उपस्थिति थियो। अहिले ३ लाख जति अवलोकनकर्ता हुन्छन्। यो अवस्थामा भीड व्यवस्थापन गर्न भने गाह्रो छ। विदेशमा गरिने प्रदर्शनीहरू पनि यस्तै हुन्छन्। यद्यपि त्यहाँ यस्तो भीड हुँदैन। त्यसका लागि क्यानले पनि अनलाइन रजिस्ट्रेसन, बारकोड प्रणाली आदिको व्यवस्था गर्ने प्रयत्न गर्दैछ। यसमा बिस्तारै सुधार हुदै जाने आशा गर्न सकिन्छ। हामीले पनि समयअनुसार सिक्दै जाने हो। नेपालमा अहिले भैरहेको भृकुटीमण्डप नै प्रदर्शनीका लागि एक मात्र उपयुक्त थलो हो। यद्यपि सबै प्रकारको प्रदर्शनी गर्न सकिने एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्नुपर्ने आवश्यकता छ। व्यवसायीहरूले पनि यो माग गरिरहेका छन्। हेरौं, भविष्यमा केही हुन्छ कि ?
मुरारीमोहन झा, प्रबन्ध निर्देशक, एस पावर बीपीई प्रालि
प्रदर्शनी वा मेलाबाट बजारमा के र कस्ता नयाँ प्रविधि आएका छन् सर्वसाधारणले समेत जानकारी प्राप्त गर्न सक्छन्। विशेष गरी नयाँ प्रविधिका बारेमा उत्सुक सबैलाई जानकारी प्रदान गर्नु यस्ता मेलाको मुख्य उपलब्धि हो। लाखौं व्यक्तिले एउटै स्थानबाट सबै प्रविधिका बारेमा जानकारी पाउन सक्छन्। हामीले यस पटक पिबलको मोबाइल पकेट चार्जर, भामा थिंक क्लाइन्टको सहायताले बिना सिपियु कम्प्युटर चल्ने मल्टि पिसी आदि उपलब्ध गराएका छांै। पकेट चार्जरलाई एकपटक चार्ज गरेपछि दुई-तीन पटकसम्म ब्याकअपका रुपमा प्रयोग गर्न सकिन्छ भने मल्टिपिसीलाई स्कुल, कलेज, बैंक आदिले प्रयोगमा ल्याइसकेका छन्। यी र अन्य विभिन्न प्रविधिका बारेमा हामी इन्फोटेकमा जानकारी प्रदान गर्नेछौं।
प्रदर्शनीले उपभोक्ता एवं व्यवसायीहरूलाई एउटै थलोमा भेट गराएको छ। बजारमा कस्ता प्रविधि आएका छन् र आफ्ना लागि कुन प्रविधि उपयोगी छ भन्ने कुरा बजारमा खोज्दै हिँड्ने फुर्सद सबैलाई हुँदैन। यस्तो अवस्थामा उनीहरूका लागि यस्ता प्रदर्शनी स्थल महत्वपूर्ण बन्न पुग्छन्। त्यसैले यस्ता मेला खासगरी सर्वसाधारणका लागि उपयोगी रहेको मान्न सकिन्छ।
वीरेन्द्र बज्राचार्य, निर्देशक, इन्टरनेसनल इलेक्ट्रोनिक्स कन्सर्न प्रालि
हामीले यस पटकको प्रदर्शनीमा क्याननका इमेजिङ सोल्युसन तथा एनइसीका प्रविधि उपलब्ध गराएका छौं। इमेजिङ सोल्युसनअन्तर्गत प्रिन्टिङ, स्क्यानिङ, फोटोग्राफी आदिसम्बन्धी जानकारी दिनेछौं भने एनइसीका कम्प्युटर टेक्नोलोजीअन्तर्गत व्यावसायिक संगठनले प्रयोग गर्ने सर्भर, डाटा सेक्युरिटी, डिजास्टर रिकभरी आदिका बारेमा जानकारी प्रदान गर्नेछौं।
बजारमा आएका नयाँ प्रविधि के छन् र नेपाली बजारको सन्दर्भमा ती कति उपयुक्त छन् भन्ने कुरा थाहा पाउन प्रदर्शनी अवलोकन गर्न चाहनेहरू प्रशस्त हुन्छन्। नेपालका लागि कस्तो प्रविधि उपयुक्त छ भन्ने कुरालाई ध्यानमा राखेरै विभिन्न कम्पनीले विभिन्न प्रविधि प्रदर्शनमा राखेका हुन्छन्। त्यसैले यस्ता प्रविधिका बारेमा थाहा पाउन र नेपाली सन्दर्भमा त्यसको उपयुक्तताका बारेमा जानकारी लिन प्रदर्शनी अवलोकन गर्नु आवश्यक छ।