ललितपुरको खोकनास्थित सिद्धकाली रुद्रायणी मन्दिरमा सामान्यतः नेवार समुदायका मानिसहरूले मात्र पूजाआजा गर्छन्। यही मन्दिरको दर्शनका लागि भनेर टाढा-टाढाका मानिस विरलै मात्र पुग्छन्। खोकनावासीले रुद्रायणीलाई आराध्य वा इष्टदेवी मान्छन्। दसैंमा रातो टीका नलगाउने खोकनावासीले यही मन्दिर परिसरबाट सिद्धकाली जात्रा प्रारम्भ गर्छन्। यो जात्रा दसैंताका मनाइन्छ। रुद्रायणी मन्दिरको आँगनमा एउटा पोखरी छ। त्यही पोखरीमा बाख्रा फ्यालेर दाँतले टोकेर मार्ने प्रचलन रहँदै आएको छ। ज्यूँदो बाख्रा पोखरीमा फाल्नुअघि मन्दिरमा चढाइन्छ। अमर मल्लले वि.सं. १५८६ देखि १६१७ सम्म राज्य चलाउँदा यो मन्दिरको स्थापना गर्न लगाएको इतिहासकारहरू बताउँछन्। रुद्रायणी देवीको उपासना गर्दै यहाँ सिकाली जात्रा पनि निकालिन्न्छ। सिद्धकाली रुद्रायणी मन्दिर खोकनाका हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र मानिन्छ। यो मन्दिरमा काटमार चल्दैन, बरु जिउँदो बाख्रा चढाउने चलन छ। सिकाली जात्राका ४६ जना देवता पनि खोकनावासी नै हुन्छन् भने सबैले रुद्रायणीको विशेष पूजा-अर्चना गर्छन्।