साप्ताहिक संवाददाता
सपना
ठ्याक्कै एक वर्षअघि हङकङमा दिवंगत भएका युवा गीतकार स्व. लोकेश बोगटीले रचना गरेका आधुनिक गीतहरूको एल्बम 'सपना' उनकै वाषिर्कीको अवसर पारेर काठमाडौंमा सार्वजनिक भएको छ। संगीतकार सुरेश अधिकारी तथा गीतकार बोगटीकी आमाले उक्त एल्बम सार्वजनिक गर्दा उपस्थित संगीत अनुरागीका आँखा रसाएका थिए। बोगटीको निवास सामाखुसीमा आयोजित समारोहमा एल्बममा आवद्ध अधिकांश संगीतकर्मीको उपस्थिति थियो। एल्बममा दीपक लिम्बू, जुनु रिजाल काफ्ले, बाबु बोगटी, कृष्ण काफ्ले, अच्युत गिरी, रामचन्द्र काफ्ले, गणेश न्यौपाने, गणेश पराजुली, स्व.लोकेश बोगटी आदिको स्वर सुन्न सकिन्छ। गीतकार बोगटीको हृदयघातका कारण ३० वर्षकै उमेरमा निधन भएको थियो।
सम्झनाका छालहरू
अमेरिकामा बसोबास गरिरहेका गीतकार ज्ञानेन्द्र गदालले रचना गरेका गीतहरूको एल्बम 'सम्झनाका छालहरू' काठमाडौंमा सार्वजनिक भएको छ। अघिल्लो साता काठमाडौंमा आयोजित एक समारोहमा एल्बमसहित 'झरीपछिको आकाश' शीर्षकको गीति-संग्रह पनि सार्वजनिक गरिएको थियो। विमोचित एल्बममा रञ्जित गजमेरको एकल संगीतका गीतहरू समावेश छन्, जसमा दीप श्रेष्ठ, राजेशपायल राई, उदय सोताङ, मनिला सोताङ, अञ्जना गुरुङ, कुवेर राई, आशा भोसले तथा साधना सरगमको स्वर सुन्न सकिन्छ।