साप्ताहिक संवाददाता
नरगिसको संकल्प
नयाँ वर्ष लागेपछि संकल्प लिनु नयाँ कुरा होइन। अधिकांश सेलिब्रेटी नयाँ वर्ष प्रवेश सँगै संकल्प लिन आतुर हुन्छन्। चलचित्र 'रक स्टार' बाट डेब्यू गर्ने नायिका नरगिस फाकरीले पनि वर्ष २०१४ का लागि तीन वटा संकल्प लिएकी छिन्। तीमध्ये पहिलो संकल्प हो हरेक दिन कम्तीमा २० मिनेट मेडिटेसन गर्ने। यसबाट उनले आफूलाई मानसिक रूपमा शान्त पार्नेछिन्। दोस्रो हो, नियमित योग गरेर फिट रहने। तेस्रो संकल्पलाई उनले सबैभन्दा महत्वपूर्ण भनेकी छिन्। त्यो हो, बढीभन्दा बढी हिन्दी बोल्नु। नगरिस प्रायः अंग्रेजी भाषामा कुराकानी गर्न रुचाउँछिन्। यो वर्षदेखि उनले अंग्रेजीभन्दा हिन्दी भाषाको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेकी छिन्।
बिपाशाको जवाफ
दुई साताअघि बलिउड अभिनेता जोन अब्राहमले गोप्य रूपमा विवाह गरे। उनले अचानक गरेको विवाहले बलिउडमा हलचल नै मच्चायो। त्यसको सबैभन्दा गहिरो प्रभाव जोनकी पूर्वप्रेमिका बिपाशा बसुलाई परेको अनुमान अधिकांशले गरे। जोनको विवाहको समाचार सार्वजनिक भएको केही दिनपछि नै बिपाशाले पनि विवाहको घोषणा गरेकी छिन्। बिपाशाले बलिउडका नयाँ अभिनेता हरमन बावेजासँग विवाह गर्न लागेकी हुन्। यतिबेला नायिका बिपाशा बसु र नायक हरमन बावेजा चलचित्र 'ढिस्क्याउँ' को प्रदर्शनको पर्खाइमा छन्। शिल्पा शेट्टीले निर्माण गरेको यो चलचित्रको प्रदर्शन लगत्तै हरमनसँग घरजम गर्ने बिपाशाको योजना छ। बिपाशाको विवाहको कुरा कहाँसम्म अघि बढिसकेको छ भने उनका आमा-बुवाले हरमनका आमा-बुवासँग पनि भेटघाट गरिसकेका छन्। बलिउडमा भने बिपाशाको विवाह योजनालाई जोनलाई दिएको जवाफका रूपमा समेत बुझ्न थालिएको छ।
कट्रिनालाई रिस उठ्यो
चौथो पटक सबैभन्दा सेक्सी एसियाली महिलाको उपाधि जित्न सफल बलिउड अभिनेत्री कटरिना कैफलाई शान्त स्वभावकी नायिकाका रूपमा चिनिन्छ। तैपनि उनको पनि पारो भने चढ्दो रहेछ। हालै एउटा विज्ञापनको छायांकनमा फाटोग्राफरले अनेकौं पटक कमेन्ट गरेपछि रिसले चुर भएकी कटरिना उक्त विज्ञापनको छायांकन नै पूरा नगरी आफ्नो बाटो लागेको बताइन्छ। उक्त विज्ञापन छायांकनका लागि अस्ट्रेलियाबाट आएका एड डाइरेक्टर उनीसित ठीक ढंगबाट प्रस्तुत नभएपछि कटरिनालाई रिस उठेको समाचारमा जनाइएको छ।