साप्ताहिक संवाददाता
अहिले यो प्रविधिले धेरैको मन तानेको छ । अहिले जोकसैले कति पैसा कमाइयो भनेर एक अर्कासँग सोधेको पाइन्छ। केही समयअघि नेपाली बजारमा उपलब्ध क्यास अन एड नामक एप्स एन्ड्रोइड मोबाइलमा डाउनलोड गरेपछि फोनको घन्टीसँगै एउटा विज्ञापनको भिडियो बज्छ। फोन उठाउनुअघि करिब ६ सेकेन्डसम्म त्यसलाई हेर्नुपर्छ वा त्यो समयभन्दा अघि फोन उठाउनु हुँदैन। त्यसबापत एक सेन्ट अर्थात् लगभग एक रुपैयाँ मोबाइल धनीले कमाई गर्छन्।
यो एप्स डाउनलोड गरेपछि त्यहाँ रहेको र्फम भरेर वा फेसबुक लग इन गरेर आफूलाई रजिस्ट्रेसन गर्न सकिन्छ। यसमा आफ्नो नाम र अन्य विभिन्न प्रकृतिका तथ्य पेस गर्नु आवश्यक छ। रजिस्ट्रेसन भैसकेपछि मात्र विज्ञापन देखिन्छ। एउटा विज्ञापन हेरेबापत आउने एक अमेरिकी सेन्ट तत्कालै आफ्नो खातामा जम्मा भएको देखिन्छ। कम्तीमा एक डलर जम्मा भएपछि त्यसलाई ई-सेवाको खातामा ट्रान्सफर गर्न सकिन्छ। त्यो पैसालाई ई-सेवामार्फत आफ्नो बैंक खातामा सार्ने, मोबाइल रिचार्ज गर्ने, विद्युत्, खानेपानी आदिको महसुल तिर्ने, चलचित्रको टिकट खरिद गर्ने, बस, हवाईजहाज आदिको टिकट किन्ने आदि कार्यमा उपयोग गर्न सकिन्छ।
कम्प्युटर इन्जिनियरिङ पृष्ठभूमिका चार युवा सजत श्रेष्ठ, सञ्जय सिके, राजेश शर्मा तथा सैलेश ज्ञवाली मिलेर उक्त एप्स निर्माण गरेका हुन्। उनीहरूले गत असोजमा यसलाई औपचारिक रूपमा बजारमा ल्याएको घोषणा गरेका थिए। त्यसयता यसको लोकप्रियता चुलिँदो छ। अहिले यसको २.० भर्सन पनि आइसकेको छ। पहिलेको भर्सनमा केही समस्या भएकाले कतिपय फोनमा त्यसले सपोर्ट गर्दैनथ्यो भने ग्राहकका पनि केही गुनासा सुनिन्थे। नयाँ भर्सनका कारण पहिले चलाउन छोडेका ग्राहकले समेत फेरि यो सेवाको उपभोग गर्न थालेका छन्। अहिले यो एप्लिकेसन गुगल प्लेमार्फत लगभग एक लाखको हाराहारीमा डाउनलोड भैसकेको छ। यसलाई अन्तर्राष्ट्रिय बजारमा समेत फैलाउने उद्देश्यका साथ कार्य भैरहेको इन्टरनेसनल बिजनेस म्यानेजर सुशील शर्मा बताउँछन्। शर्माका अनुसार सन् २०१४ भित्र विश्वका ८० देशमा यो एप्लिकेसन फैलाउने लक्ष्य छ। १० वटा देशमा यसका लागि सम्पूर्ण तयारी पूरा भैसकेको छ। सन् २०१४ लाई यो व्यापार फैलाउने चुनौतीपूर्ण वर्षका रूपमा लिएको शर्माले बताएका छन्।