घरपालुवा बिरालो जस्तै जिउडाल भएको हिउँ चितुवा बिरालोभन्दा केही ठूलो हुन्छ। यो नेपालको हिमाली क्षेत्रमा पाइन्छ। अन्य चितुवाभन्दा केही छरितो यो चितुवा पुग नपुग एक मिटर लामो हुन्छ। प्राध्यापक डाक्टर मुकेशकुमार चालिसेले गरेको अध्ययनअनुसार हिउँ चितुवाको भाले ४५ देखि ५५ किलोग्राम तथा पोथी ३५ देखि ४० किलोग्रामसम्मको हुन्छ। यो प्रायः सेतो रंगको हुन्छ, जसमाथि हल्का कालो र पहेंलो रंगको बुट्टा हुन्छ। ३ हजार मिटरभन्दा माथि बस्न रुचाउने हिउँ चितुवाको आहारा नाउर, मृग, खरायो, न्याउरीमुसा आदि हुन्। हिउँ चितुवा नेपालको लाङटाङ, अन्नपूर्ण, कञ्चनजंगा, मकालु, संगरमाथा आदि संरक्षित क्षेत्रमा पाइन्छ। यसको पोथीले ३ वर्षको भएपछि भाले खोज्छ र वसन्त ऋतुमा संसर्ग गर्छ। ९३ देखि १ सय १० दिनसम्मको गर्भधारणपछि गि्रष्मऋतुमा १ देखि ५ वटा बच्चा पाउँछ। नेपालमा हिउँचितुवाको गणना नभएकाले यसको संख्या कति छ भन्ने यकिन छैन।