त्रिचन्द्र क्याम्पसका स्नातक विद्यार्थी सुजन शिवाकोटी भन्छन्- प्रेम अभिव्यक्त गर्न सामाजिक सञ्जालसँग सँगै उपहारहरू पनि प्रभावकारी छन्। कतिपय अवस्थामा 'सामाजिक सञ्जालले मन परेको व्यक्ति प्रभावित नहुँदा, आकर्षक कागजले बेरेर दिएको उपहार नै सधैं स्मरण गराइरहने माध्यम हुने रहेछ,' सुजनले बताए। अमेरिकाको क्यार्लिफोनियामा रहेका पवन पौडेलले नेपालमा रहेकी आफ्नी प्रेमिकालाई केही ग्याजेट पठाउने योजना बनाएका छन्। 'सामाजिक सञ्जालमा प्रेम दिवसको सन्देश पठाउने मात्र हो, किनेर दिएको उपहार नै सदैव जीवन्त रहन्छ।' उनले च्याट बक्समा लेखे- 'फेसबुकमा कार्ड पठाएर मात्र खुसी बनाउन नसकिने रहेछ, भौतिक उपहारले उनको मन प्रफुल्लित बनाउँदो रहेछ।'
क्यानाडाको कलग्रेइमा रहेका फिदिमका किरण खरेल सामाजिक सञ्जालमा अभिव्यक्त गरिने मायाको वजन र विश्वास नहुने कुरा स्वीकार गर्छन्। कलग्रेइमै रहेकी आफ्नी प्रेमिका रश्मिसँग रेस्टुराँमा प्रेम दिवस मनाउने योजना बनाएका किरणले सामाजिक सञ्जालमा अभिव्यक्त गरिने प्रेमसँगै उपहार दिएर वा प्रत्यक्ष भेटेर भावना साटासाट गर्दै गरिने मायाको तुलनै हुन सक्दैन। आरआर क्याम्पसमा प्राध्यापनरत एल.पी. पौड्यालको विचारमा सामाजिक सञ्जाल प्रत्यक्ष भन्न नसकिएका कुरा भन्ने माध्यम मात्र हो । पहिले-पहिले कागजमा रगतले लेखेर आफ्नो भावना व्यक्त गरिन्थ्यो र त्यो प्रभावकारी पनि थियो। हाल आएर भने उपहार नै प्रेमलाई प्रगाढ बनाउने माध्यम भएको छ। पौड्यालले भने- 'सञ्चरमाध्यमको विकासले युवाहरूलाई प्रेम व्यक्त गर्न सहज त भयो, तर त्यसले प्रेमलाई अमर बनाउन सकेन।'
व्यवसायीको अनुभव
प्रेमदिवसका लागि भनेर यो वर्ष ४० लाख रुपैयाँबराबरको उपहार सामग्री भित्र्याएको कुरा बताउँदै केबी ब्रदर्स एन्ड सन्स, महाबौद्धका वासु श्रेष्ठ सामाजिक सञ्जाल तथा एसएमएसले व्यापारका कुनै प्रभाव पारेको छैन। श्रेष्ठका अनुसार 'प्रेमदिवस र नयाँ वर्षमा नै उपहारको बजार तातिन्छ।' यस वर्षको प्रेमदिवसका लागि भनेर बजारमा नयाँ-नयाँउपहार सामग्रीहरू भित्रिएका छन्। रातो गुलाफको फूल पनि सक्कली र कृतिम छन्। रोजसेट, किरिङ, औंठी, पर्स, पेट घडी, कपसेट, सिगरेट किटका साथै 'ह्याप्पी भ्यालेन्टाइन डे' लेखिएका अन्य धेरै सामग्री बजारमा उपलब्ध छन्। सामान्यतः ६० रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्मका उपहार बजारमा आएका छन्।
गहना पसलहरूमा पनि प्रेमदिवसकै लागि भनेर उपहारहरू तयार भएका छन्। हल्का गहना जोडीहरूको रोजाइमा पर्ने गरेको ऋद्धिसिद्धि ज्वेलर्स, विशालबजारका रोहित सरावगी बताउँछन्। प्रेमदिवसका लागि जोडीहरू गहना किन्न आउने क्रम दिन-प्रतिदिन बढिरहेकाले सामाजिक सञ्जालको प्रभाव खासै नपरहेको सरावगी बताउँछन्। जोडीहरूले प्रायः १५ देखि ८० हजार रुपैयाँसम्मका गहनाहरू लाने गरेको सरावगीको अनुभव छ।
सामाजिक सञ्जालका गिफ्ट
सामाजिक सञ्जालको सहायतामा कसैलाई उपहार दिन कतिपयले आफैं ग्राफिक डिजाइन गरेर पोष्ट गर्ने भए पनि कतिपय अनलाइनले गि्रटिङ कार्डहरू आफैं बनाइदिने गरेका छन्। स्मार्ट फोनको सहायताले क्षणभरमै प्रेम प्रस्ताव वा भावना अभिव्यक्त गर्न कुनै समस्या पर्दैन। प्रेम अभिव्यक्त गर्ने शब्दहरू लेखिएका अनलाइन डिजिटल कार्डहरू विभिन्न अनलाइनमा सहजै उपलब्ध हुन्छन्। अनलाइनमा उपलब्ध कार्डलाई शब्द, आकार र विभिन्न रंगमा सजाएर आफूले चाहेको व्यक्तिलाई पठाउन सजिलो छ। नेपाली ई-कार्ड्स डटकम, खत्तम डटकम, ठमेल डटकम आदिमा यस्ता कार्डहरू उपलब्ध छन्। त्यस्तै एसएमएसका लागि पनि 'स्विट मोबाइल एसएमएस कलेक्सन'मा जान सकिन्छ।
बजारभरि उपहारै उपहार
प्रेमदिवस आउनु १० दिन अघिदेखि नै ठूला सपिङ मल, कम्प्लेक्स तथा उपहार पसलहरूमा प्रेमदिवस उपहारको बिक्री प्रारम्भ भैसकेको छ। विशेष छुटमा पनि त्यस्ता उपहार उपलब्ध छन्। यसपालि कुखुराको प्वाँखबाट बनेको आकर्षक रातो गुलाफसमेत बजारमा भित्रिएको छ। त्यस्तो गुलाफले धेरैको मन खिचेको छ। कुखुराको प्वाँखमा बनेको रातो गुलाफ ६० देखि ३ सय रुपैयाँसम्मका छन्। बजारमा सजावटका सामग्रीहरू पनि उत्तिकै मात्रामा छन्। 'आई लभ यू', 'ह्याप्पी भ्यालेन्टाइन डे' लेखिएका कपसेटमा प्रेमी-पे्रेमिकाको तस्बिर छाप्ने प्रचलन पनि उत्तिकै छ। त्यस्ता कपको सामान्यतः २ देखि ५ सय रुपैयाँसम्म पर्छ।