अहिलेका मानिसहरू लभलेटरको युगबाट भर्चुअल लभ म्यासेजको युगमा पुगिसकेका छन्। त्यसैले अब लभलेटर भन्ने शब्द नै हराउने बेला भैसकेको छ। मैले भने आफ्ना लागि आएका लभलेटरको अनुभव मज्जाले बटुलेकी छु। अचम्म लाग्छ होला, मेरो जीवनको पहिलो लभलेटर कक्षा चारमा पढ्दा मेरो कक्षाकै एउटा केटाले दिएको थियो। लभ के हो? किन हुन्छ? भन्ने कुरा नै नबुझेको बालापनमा उसले मलाई मनपराएको भन्दै लभलेटर दिएको थियो। म पनि कहाँ बुझ्थे र? उसले दिएको लभलेटर यसो हेरेर फ्याँकिदिएँ। ऊ मेरो ड्याडीको साथीको छोरा भएकाले सानैदेखि चिन्थें, तर उसले लभलेटर पठाएकाले मैले ऊसँग बोल्नै छाडिदिएका थिएँ। एकैपटक प्लस टु पढ्दा मात्र ऊसँग बोलेँ। लभलेटर पठाएको कुरा सम्झाउँदा उसको अनुहार नै लाजले रातो हुन्थ्यो। अहिले ऊ विवाह गरेर विदेशतिर छ।
कक्षा आठ र नौ पढ्दा भने मनग्गै लभलेटर तथा प्रेमप्रस्तावहरू आए। एउटाले पठाएको लभलेटरमा लेखेको शब्द 'हे मेरी अञ्जान मायालु' पढेर म धेरै दिनसम्म हाँसिरहे। मायालु पनि कहीँ अञ्जान वा अपरिचित हुन्छन् त? अहिले हामी अनामनगरमा बस्छौं, यहाँ पनि 'दिवाना'हरू भेटेकी छु। स्कुल बसमा र्फकंदा र जाँदा रुटमा मलाई हेर्ने अनि मनपराउने, कसैमार्फत लभलेटर पठाउने 'दिवाना'हरूसँग पनि जम्काभेट भैरहन्थ्यो। स्कुलकै गेटमा बसेर हातमा लभलेटर दिन खोज्नेहरू पनि थिए। यहाँसम्म कि त्यतिबेला कुपन्डोलमा बस्दा तरकारी बजारमा तरकारी किन्न जाँदा कुरा गर्ने र लभलेटर दिने बहानामा झोला बोकिदिन आउने 'दिवाना'हरू पनि भेटेँ।
मेरो विचारमा उमेरमा विपरीत लिंगीप्रतिको 'इन्फ्याचुएसन' सबैलाई हुन्छ। लभलेटर दिने काममा युवतीभन्दा युवकहरू नै बढी सक्रिय रहेको पाएँ। लोकलाजको डरले युवतीहरू मनपरे पनि मनमै दबाएर बस्थे। मलाई लभलेटर दिने कोही पनि मन परेनन्। लभ भनेको कागजको टुक्रामा साहित्य छाँटेर हुने कुरा होइन, त्यसका लागि मनसँग मनको कनेक्सन हुनुपर्छ। अनि पो हुन्छ साँचो प्रेम।
लभ प्रपोज : एलिजा बस्नेत, भिजे/मोडल
म १४ वर्षकी थिएँ होला। विराटनगरमा घरबाट स्कुल जाँदा र आउँदा एउटा युवक मलाई देख्नेबित्तिकै बाटोको छेउमा साथीहरूसँग बसेर गीतार बजाउँदै गायक सञ्जीव सिंहको गीत 'आकाशबाट' गाउँथ्यो। कोरस जसरी उसका साथीहरू उसलाई साथ दिन्थे। केही दिन त्यसरी गीत गाएपछि एक दिन त एउटा कागजमा केही लेखेर मलाई दिन खोज्यो, मैले लिन मानिनँ। सायद ऊ लभ प्रपोज गर्दै थियो। मैले उसलाई सीधै रिजेक्ट गरिदिएँ। बुझ्ने भएदेखि मलाई अनेकौं प्रेम-प्रस्ताव आइरहेका छन्। परिचितदेखि अपरिचितसम्म धेरै युवाले प्रेमका लागि प्रस्ताव नगरेका होइनन्।
मेरो विचारमा प्रेम त्यतिबेला हुन्छ जब कसैसँग नजिकिएको अनुभूति मनको भित्री कुनामा हुन्छ। फोनमा 'लभ यू' र 'मिस यू' भन्दैमा प्रेम हुँदैन। कसैसँग दुई-चार शब्द मीठो बोल्दैमा उनले मलाई मन पराउँछिन् भन्ने भ्रम पाल्नेहरू पनि भेटेकी छु। प्रेम प्रस्तावलाई बढी नै सस्तो बनाइएको छ। प्रेम प्रस्ताव गर्नसमेत ऊप्रति राम्रो फिल आउनुपर्छ। यहाँ त एउटी प्रेमिका हुँदाहुँदै वा विवाहित हुँदासमेत केटीहरूलाई प्रेम प्रस्ताव राख्छन् अनि उसको प्रस्ताव अस्वीकार गरियो भने भोलिपल्टदेखि अपरिचित नै बन्छन्। युवक र युवती मित्र मात्र पनि त हुनसक्छन्, तर यहाँ त 'भेट्यो कि लभ, छुट्यो कि ट्रयाजिटी' भनेर सम्बन्धलाई धुमिल बनाउन खोजिन्छ, त्यो पनि धेरैजसो पुरुषबाट।
म त्यति राम्री पनि होइन। मलाई आफू राम्री छु भन्ने पटक्कै लाग्दैन, तर मलाई राम्री भन्नेहरू धेरै भेटेकी छु। मलाई त आफूलाई कसैले राम्री भन्यो भने गफ दिएजस्तो पो लाग्छ। विराटनगरमा स्कुल पढ्दा टोलको एउटा केटो हरेक दिन घर बाहिर बिहानदेखि साँझसम्म ढुकिरहन्थ्यो। उसले राम्री मानेर मेरो झलक हेर्न खोजेको रहेछ। उसको चाहना भेटेर लभ प्रपोज गर्नु पनि रहेछ। एक हप्तासम्म ऊ हरेक दिन मेरा लागि ढुकेको थाहा पाएपछि मैले दाईहरूलाई भने। उहाँहरूले त्यो केटोलाई सम्झाई-बुझाई पठाउनुभयो। अहिले त्यो घटना सम्झँदा हाँसो उठछ।
रोमान्टिक गीत : युवराज चौंलागाइं, गायक
'सान्नानीको गालैमा कालो कोठी रहेछ, नजर नै तिरमिर गराउने..' फत्तेमान राजभण्डारीको यो गीत म धेरै पहिलेदेखि गाउँथे। मलाई लाग्छ, नेपाली रोमान्टिक गीतहरूमा यो सबैभन्दा पहिलो स्थानमा हुनुपर्छ। मलाई फत्तेमानले जस्तै रोमान्टिक गीत गाउने रहर छ। त्यसबाहेक मलाई नारायण गोपालको 'केही मिठो बात गर..' पनि निकै रोमान्टिक लाग्छ, अनि गायक तथा संगीतकार राजन इशानले गाएको 'वशमा छैन मेरो मन' पनि साह्रै रोमान्टिक छ। गायकहरू प्रेमध्वज प्रधान, सुरेशकुमार, उदितनारायण झाले गाएका रोमान्टिक गीतहरू पनि निकै मन पर्छन्।
मेरो पहिलो एल्बम 'यु फिल्स'मा चारवटा रोमान्टिक गीत थिए। ती मध्ये 'साँझ पख जब सम्झनामा..'ले मलाई चिनायो। दोस्रो एल्बम 'यश'मा पाँचवटा रोमान्टिक गीत थिए। तीमध्ये 'लैजा चरी मेरो सन्देश' तथा रिमेक गीत 'टुङ्नाको धुनमा'ले मलाई गायन क्षेत्रमा स्थापित नै गरिदियो। मैले दर्जनौं रोमान्टिक गीत गाइसकेको छु। चलचित्रको पाश्र्व गायनमा मलाई प्रायः फरक किसिमका गीत गाउन लगाइएको छ। चलचित्रको कथामा बगेर गाउनुपर्ने त्यस्ता गीतमा धेरैजसो भावुक गीत छन्। चलचित्र 'थ्री लभर्स'को रोमान्टिक तथा चुलबुले शैलीको गीत 'लाइफ दुई दिनको हो साथी' गाउँदा मलाई निकै रमाइलो लागेको थियो। त्यस बाहेक चलचित्र 'सम्झिराख है', 'नोभेम्बर रेन' आदिमा पनि रोमान्टिक गीत गाएको छु। म रोमान्टिक गीत गाउन मन पराउँछु, तर सुन्ने बेलामा चाहिँ भावुक र यथार्थवादी गीतहरू नै सुन्छु। रोमान्टिक गीत गाइसकेपछि मन चंगा भएको महसुस हुन्छ। कतिले सोध्छन्- 'रोमान्टिक गीत गाउँदा गर्लफ्रेन्ड सम्झिन्छस् होला नि?' मेरो जवाफ हुन्छ, 'स्टुडियो भित्र रोमान्टिक गीत गाउँदा मलाई त आफ्नी नभएकी गर्लफ्रेन्ड पनि त्यहीं अगाडि बसेर मलाई नियालिरहेकी छिन् भन्ने लाग्छ।'