साप्ताहिक संवाददाता
तिमीलाई नै खोज्छन् आज मेरा यी नजरहरू
यतै कतै रोकिदिउ“m कि जिन्दगीका सफरहरू
बेसहारा रातहरू तिम्रै बाटो हेर्ने गर्छन्
सम्झनाको बिछ्यौनामा दिनहरूले कोल्टे फेर्छन्
भमराको अधीनमा छन् फूलका रहरहरू
समुन्द्रकै छेउमा बस्छन् कठै प्यासी बगरहरू
एकै पल भए पनि तिमी मेरी भइदेऊ न
धन्य हुन्थ्यो जिन्दगानी स्नेहले छोइदेऊ न
सपनाहरू डढाउँछन् निष्ठुर यी सहरहरू
तिमी आई भिजाइदेऊ न जलेका छन् अधरहरू।
२
जबदेखि तिम्रो बास्ना आयो मन्द-मन्द
बगैंचामा डुल्न मैले गरिदिएँ बन्द
कोपिलाले घुम्टो खोली हेर्दै मुस्कुराउँछन्
जवान ती फूलहरू झनै जुर्मुराउँछन्
कसलाई भनूँ खराब मैले कसलाई भनूँ असल
जताततै थापेका छन् चाहनाका पसल
कोइली पनि गर्छे सवाल मिलाएर छन्द
बगैंचामा डुल्न मैले गरिदिएँ बन्द
जब देखे चन्द्रमाझैं निधारमा टीका
इन्द्रेणीको रङ्ग पनि भयो फिका-फिका
जिन्दगीको यो यात्रामा कहाँ-कहाँ धाएँ
संसारका सबै शोभा तिमीमा नै पाएँ
त्यो नजरले मुटु मेरो पार्यो खण्ड-खण्ड
बगैंचामा डुल्न मैले गरिदिएँ बन्द
हत्केलाको रेखा मेटी आफै लेख्न थालें
किन म त खुल्लै आँखा सपना देख्न थालें
पिरतीले सजाइदिउँला तिमी बस्ने दरबार
हृदयकै भू-भागमा राज्य गर सरकार
माफ गर्नु पाप हो भने दिए हुन्छ दण्ड
बगैंचामा डुल्न मैले गरिदिएँ बन्द।
३
धेरै चोटि मरें म त धेरै चोटि बाँचें
सम्झनामा देखे उनलाई रुँदारुँदै हाँसें
आकाशको यो टुकी बाली निकै पर गएँ
अतीतका ती पलसित धेरै नजिक भएँ
ओसिएका रहरहरू विस्कुन झैँ रेलें
जिन्दगीको मैदानमा सधै एक्लै खेलें
बाध्यताले जसो भन्यो उसैगरी नाचें
सम्झनामा देखे उनलाई रुँदारुँदै हाँसें
खोइ आज कहाँ पुग्यो उमङ्गको हूल
नफर्किदै ओइलिएछ चाहनाको फूल
ओठको यो मुस्कान पनि झर्यो आँखाबाट
विश्वासको चरी उड्यो मनको पाखाबाट
जडौरी यो मायालाई नयाँ सम्झी साँचें
सम्झनामा देखे उनलाई रुँदारुँदै हाँसें।
४
तिम्रो हर विजयमा म फूलको हार बनें
तिमीले जस्तो चाह्यौ उस्तै आकार बनें
उजाडिएको बिर्सेर पिरतीको छानो मेरो
आफैंलाई रुझाएर तिम्रो छत्रधार बनें
के थाहा मायामा पनि जलप लगाइन्छ यहाँ
भुइँमा छु भन्ने भुली म त मौनार बनें
मनबाट निकालेर मिल्काएर पनि मलाई
तिमीलाई थन्काउने म त भण्डार बनें
कहिले सितार भन्यौ कैले बहार भन्यौ
आज पो थाहा पाएँ म त निस्सार बनें
शिशिरमा तप्त भए ग्रीष्ममा भए 'शीतल'
कुन्नि के सुर चल्यो अब होसियार बनें।
५
चिनिसकें साथी मैले स्वभाव जिन्दगीको
बारबार उघारेर नकाव जिन्दगीको
कहिले शोकसभा देखें कहिले उत्सव यहाँ
जब मैले खोजेको थें हिसाब जिन्दगीको
हरेक खेलमा तिमीले मलाई हरायौ त के भो?
आज मैले जितेको छु चुनाव जिन्दगीको
खडेरीमै सताउँछ कहिले झरी बनी
म त भन्छु यही नै हो सुझाव जिन्दगीको
जति पटक सोधे पनि सवाल एउटै थियो
बेग्ला-बेग्लै पाएको छु जवाफ जिन्दगीको
संसारमा सबैभन्दा उही हो धनवान्
जसले झेल्छ हाँसी-हाँसी अभाव जिन्दगीको
मन अझै ए दुनियाँ ! पढ्न के छ बाँकी
अब मलाई कठस्थ छ किताब जिन्दगीको।
६
कहाँ थियौ रङ्गमञ्च उठेपछि आयौ
समयले जवानी यो लुटेपछि आयौ
तिमी र म सँगसँगै गर्नु हुन्थ्यो यात्रा
जिन्दगीलाई बोक्ने गरी छुटेपछि आयौ
वैलिएका रहरहरू पलाउँछन् कि फेरि
सम्झनाको असिनाले चुटेपछि आयौ।
७
बनायौ तिमीले बहाना अनौठो
बुझेरै नसक्ने जमाना अनौठो
धनुष थियो यौटै मरेछन् हजारौं
लगायौ के गरी निशाना अनौठो
कहाँ हो हमेशा हतारेेछ भन्छौ?
हरे यो नदीको रमाना अनौठो
थियो गीत मेरो थियो धुन मेरै
सुनायौ तिमीले तराना अनौठो
दिलकै सदनमा सजाएर माया
दियौ जिन्दगीको खजाना अनौठो।
८
म बिजोर थिएँ अब जोर भएँ
अति सज्जन थिएँ दिलचोर भएँ
म त पग्लिसकें पिए हुन्छ अब
भन लौ कसरी म कठोर भएँ?
एक घाम थपें अरू तेज थपी
कति रात हुने म त भोर भएँ
दिनहुँ रूपको मदिरा पिएर
बलियो म थिएँ कमजोर भएँ
म मरे पनि हेरिहन्छु सधैं
बन दिप्ती तिमी म चकोर भएँ
धुन है सगरै अझ माथि पुगी
ल हजुर पतङ्ग म डोर भएँ
नरुझेर कहाँ सुख पाउँछ र?
म त बादलझैं घनघोर भएँ।
९
म आफू नै आज शिकार तिम्रो
मुहारमा देखें विचार तिम्रो
म आज भा'को छु हजार टुक्रा
कटाक्ष नयन् ती हतियार तिम्रो
सुगन्ध छर्दा मन मगमगायो
हरे जवानी गुलजार तिम्रो
मुसुक्क हाँस्दा पनि लाग्छ सत्ते
अमूल्य हो यो उपहार तिम्रो
सुटुक्क आइ दिलभित्र बस्यां
म माथि कत्रो अधिकार तिम्रो।
१०
म नाजुक काँचको हुँ पत्थर नउठाऊ है
टुक्रिन पनि के बेर नजर नउठाऊ है
अनगिन्ती आशाहरू यहाँ भत्किन सक्छन्
त्यसैले आवाद होस् यो सहर नउठाऊ है
यदि त्यो ब्यु√यो भने मलाई निकै सताउँछ
सुत्न देऊ सधैं मेरो रहर नउठाऊ है
रम्न जम्न देऊ उसलाई त्यही सुहाउँछ
पराग फलभित्रै छ सुन्दर ! नउठाऊ है
ढाक्न सक्छ उज्यालो त्यसले बनी कादम्बिनी
दिलको शान्त सिन्धुमा लहर नउठाऊ है !
११
देख्ने बित्तिकै मेरो मुटु ढुकढुक हुन्छ
मसँग घाउ छ तिमीसँग नुनचुक हुन्छ
नखेल न मेरो मनसँग मनपरी तिमी
यो त सिसाभन्दा पनि नाजुक हुन्छ
बनाउनेले यस्तो बनायो तिमीलाई
देखेर मान्छे के ढुङ्गा पनि भावुक हुन्छ
मेरो त हृदयको बनावट नै यस्तै छ
जसमा तिमी हुन्छ्यौ र मेरो मुलुक हुन्छ
उही हो संसारको सबैभन्दा धनी मान्छे
जसको मनमा मनहरू राख्ने सन्दुक हुन्छ।