साप्ताहिक संवाददाता
वास्तवमा ह्वाट्स एप एक प्रकारको म्यासेजिङ एप हो। जेन कौम र बिर्यान एक्टनले सन् २००९ मा यसको सुरुवात गरेका थिए। यसबाट शब्द, तस्बिर तथा भिडियो सन्देश आफ्नो सम्पर्कमा रहेका साथीलाई पठाउन सकिन्छजसका लागि कुनै रकम तिर्नुपर्दैन। यसबाट सरल, सुरक्षित र छिटो सेवा प्रवाह गर्न सकिन्छ। त्यसैगरी यसलाई एन्ड्रोइड, आईओएस, सिम्बियन तथा ब्ल्याकबेरी सबै प्रकारका अपरेटिङ सिस्टम भएका मोबाइल फोनमा प्रयोग गर्न सकिन्छ। अहिले यसका ४५ करोड प्रयोगकर्ता छन्। तीमध्ये ७० प्रतिशत सक्रिय प्रयोगकर्ता हुन्। यसमा एक दिनमा ६० करोड तस्बिर अपलोड हुन्छन् भने यसमार्फत २० करोड भ्वाइस म्यासेज पठाइन्छ। अब यसका प्रयोगकर्ता अझ बढ्ने अनुमान गरिएको छ।
अहिले धेरैले भाइबरको कुरा गरेको पाउँछौं। मोबाइल एप्लिकेसन भाइबरबाट विश्वमै निःशुल्क रूपमा फोन गर्न सकिन्छ। त्यसैले धेरैले अहिले फोन गर्न यसकै प्रयोग गर्छन्। गत साता अर्को कारणले पनि भाइबर चर्चित रहन पुग्यो। जापानको राकुटेन नामक कम्पनीले यो एप्लिकेसनलाई ९० अर्ब रुपैयाँमा किनेपछि फेरि यो चर्चामा छ। वित्तीय सेवादेखि अनलाइन भिडियो सेवासमेत उपलब्ध गराउँदै आएको जापानको सबैभन्दा ठूलो कम्पनी राकुटेनका ग्राहक संख्या अब ५० करोडभन्दा बढी हुनेछन्। अब भाइबरका ग्राहक संख्या र सुविधा थप बढ्ने अनुमान गरिएको छ। अहिले यसका प्रयोगकर्ता ३० करोडभन्दा बढी छन्।
भाइबरलाई इजरायली सेनाका कर्मचारी टाल्मोन मार्को र इगोर मेग्जिनिक मिलेर निर्माण गरेका हुन्। पछिल्लो समयमा यी दुईबाहेक सानी मारोली र ओफर स्मोचासमेत यसका साझेदार थिए। भाइबर मिडियाका रूपमा लस भेगास र साइप्रसमा यसको दर्ता भएको थियो भने बेलारुस र इजरायलमा यसको डेभलपमेन्ट सेन्टर छन्।
भाइबर सबैभन्दा पहिले सन् २०१० को डिसेम्बर २ मा एप्पलको आइफोनका लागि तयार गरिएको थियो। त्यतिबेला प्रचलित रहेको स्काइपसँग प्रतिस्पर्धा गर्न यसको निर्माण गरिएको थियो। सन् २०११ को मे महिनामा यसलाई एन्ड्रोइड मोबाइलमा समेत प्रयोग गर्न सकिने बनाइयो। त्यसपछि जुलाई १९ मा सबै सफ्टवेयरका लागि उपलब्ध गराइयो। सन् २०१२ को जुलाई २४ सम्म यसका प्रयोगकर्ता बढेर ९ करोड पुगे। अहिले ३० भाषामा यसलाई प्रयोग गर्न सकिन्छ।
भाइबर फोन कल र म्यासेजिङका लागि विश्वमै धेरै डाउनलोड हुने प्रमुख ५ एप्लिकेसनमा पर्छ। यसको ठूलो बजार अमेरिका, रुस, अस्ट्रेलिया आदि धेरै इन्टरनेट प्रयोगकर्ता भएका देशमा छ। पछिल्लो समयमा मोबाइल मात्र होइन, डेस्कटप र ल्यापटपबाट पनि सेवा लिन सकिने गरी एप्लिकेसन सार्वजनिक गरेपछि यसको लोकप्रियता अझै बढेको हो। खासगरी विदेशमा कल गर्न महँगो शुल्क लाग्ने भएकाले भाइबर प्रयोग गर्नेहरू बढेका हुन्। अधिकांश युवाको हातमा स्मार्टफोन भएपछि उनीहरू भाइबरको प्रयोगमा पनि रमाइरहेका छन्।
भाइबरमार्फत कल गर्न छुट्टै एकाउन्ट बनाउनु पर्दैन। मोबाइल नम्बरलाई नै यसले एकाउन्टका रूपमा लिन्छ। मोबाइलमा रहेको कन्ट्याक्ट लिस्ट, म्यासेज र कल हिस्ट्रीलाई सिंक्रोनाइज गर्छ। कुरा गर्ने अर्को डिभाइसमा पनि भाइबर हुनु आवश्यक छ। डिभाइसमा इन्टरनेटको कनेक्सन भने आवश्यक छ। निकै नै सजिलो एक्टिभेसन प्रोसेस भएकाले पनि यसको लोकप्रियता चुलिएको हो।
यद्यपि अन्य म्यासेजिङ अर्थात् च्याट सर्भिस पनि नभएका होइनन्। फेसबुककै फेसबुक म्यासेन्जर पनि पहिलेदेखि नै प्रयोगमा थियो तर त्यसमा भने फेसबुक फ्रेन्ड अर्थात् आफूसित जोडिएका फेसबुक साथीसँग मात्र कुरा गर्न सकिन्छ। ह्वाट्स एपमा भने सबैसँग कुराकानी गर्न सकिन्छ। त्यसैगरी स्काइप पनि पहिलेदेखि नै प्रचलित छ। यसमा च्याटका साथमा भिडियो कल पनि गर्न सकिन्छ। यस्तै अर्को एप किक म्यासेन्जर हो। त्यसबाट ग्रुप तथा पर्सनल च्याट गर्न सकिन्छ। त्यसका लागि युजरको मेल आइडी रजिस्टर गरे पुग्छ। यसबाट पनि म्यासेज मात्र गर्न सकिन्छ। त्यस्तै अर्को एप लाइन हो। लाइन र ह्वाट्स एप लगभग एकै प्रकृतिका छन्। यसबाट पनि फोनमा भएका सबै फोन नम्बर प्रयोगकर्तासँग च्याट गर्न सकिन्छ। लाइनलाई त पर्सनल कम्प्युटरमा पनि इन्स्टल गर्न सकिन्छ। यसबाट अनलाइन कल गर्ने सुविधा पनि उपलब्ध छ। त्यसैगरी काकाओ नामक कोरियन एप पनि चर्चित छ। यसबाट पनि च्याट, कल एवं भिडियो सेयरिङ गर्न सकिन्छ।