सुजना ढकाल, मोडल

सुजना ढकाल, मोडल

फाल्गुन १६, २०७०

बोल्दै नबोलेको कुरालाई अतिरञ्जित तरिकाबाट अनलाइनमा राखिएपछि मैले चिताउँदै नचिताएको कुरा भोग्नुपर्‍यो। पत्रकारिताको धर्मबाट हटेर आफूले लिएको अन्तर्वार्तालाई हिट बनाउन एक पूर्वपरिचित अनलाइन पत्रकारले मसँग बेइमानी गरे। उनले मसँग लिएको अन्तर्वार्तामा 'सेक्स' सँग सम्बन्धित मैले अन्तर्वार्ताका क्रममा भन्दै नभनेका कुरा उल्लेख गरेर मलाई बदनाम गरे। आफ्नो साइटमा उनले अपकमिङ मोडलका रूपमा मेरो अन्तर्वार्ता लिएका थिए, तर अन्तर्वार्ता अनलाइनमा अपलोड गरिँदा भने आठभन्दा बढी प्रश्न मलाई सोधिएको नभै कपोलकल्पित ढंगबाट उनले आफंै बनाएका रहेछन्, जसको जवाफ पनि उनैले दिएछन् अनि नाम कमाउन र साइटको भिजिटर बढाउन शीर्षक पनि आपत्तिजनक राखेछन् 'सेक्स कति गरियो गन्ती गरिन्'। आफन्त तथा साथीहरूले साइट हेरेर गाली गर्न थालेपछि मैले पनि उक्त साइट हेरें। एकछिन त म छाँगाबाट खसे झैं भए। मोडलिङ तथा चलचित्रमा लागेर नाम कमाउन संघर्षरत मैले यो क्षेत्रमा लागेको दुई वर्षमा पाएको सबैभन्दा तीतो अनुभव थियो त्यो। मैले ती अनलाइन पत्रकारसँग 'तुरुन्तै हटाएनांै भने प्रहरीमा जाहेरी दिन्छु' भनेपछि उक्त अनलाइनले मेरो अन्तर्वार्ता त हटाएछ, तर त्यतिबेलासम्म अरू अनलाइनले पित पत्रकारिता शैलीमा त्यसमा अझ आपत्तिजनक कुराहरू थपेर आ-आफ्नो साइटमा अपलोड गरे, जसलाई फेसबुकमार्फत धेरैलाई ट्यागसमेत गरिएछ।

मलाई जबरजस्ती 'सेक्स स्क्यान्डल'मा मुछियो। खाएको विष पो लाग्छ, नखाएको विषले मलाई असर त गर्दैन, तर यो बदनामीपछि मेरो फेसबुकमा जथाभावी लेखिन थालिएको छ। मलाई मानिसहरूले नकारात्मक दृष्टिले हेर्न थालेका छन्। घरमा मेरो मर्का मेरी मम्मीले बुझ्नु भएको छ, तर अन्य आफन्तसँग नजर मिलाउन सकिरहेकी छैन। सुरुमा त यो कुरा त्यत्तिकै सेलाउँदै जान्छ भन्ने थियो, तर अब मलाई यसरी बदनामीको खाडलमा पुर्‍याउनेहरूका विरुद्ध कारबाही अघि बढाउने निधो गरेकी छु। यसै पनि कलाक्षेत्रमा लाग्ने महिलाहरूलाई नकारात्मक दृष्टिले हेरिन्छ। यदि मैले आफूसँग नराम्रो व्यवहार गर्नेविरुद्ध खुलेर लागिन भने आगामी दिनमा मजस्ता अरू महिला कलाकार पनि यस्तो षड्यन्त्रको शिकार हुनेछन्।

प्रकाशित :फाल्गुन १६, २०७०

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्