साप्ताहिक संवाददाता
मलाई भड्किलो पोसाक मन पर्दैन। म कटनका हल्का पहिरन नै बढी लगाउँछु। म सधैं सहजतालाई ध्यानमा राखेर पहिरन छनौट गर्छु। पार्टीमा लगाउने पोसाक पनि सामान्य नै हुन्छ। आफूसँग जे छ, त्यसमै सजिन रुचाउँछु। पार्टी छ भनेर पहिलेदेखि जोडजाम गर्न मन लाग्दैन। प्रायः साडी लगाउँछु। यसो ऐना हेर्दा ठिक लाग्यो भने त्यही पहिरनमा जान्छु। यद्यपि जबसम्म ठीक लाग्दैन तबसम्म पहिरन परिवर्तन गरिरहन्छु। क्याजुअल पहिरनमा सर्ट र पाइन्ट मन पर्छ। ब्लाउज र लुङ्गी पनि मलाई राम्रो लाग्छ। कुर्ता-सुरुवाल त्यति धेरै मन नपरे पनि प्रायः जसो लगाउँछु। हल्का जोगी, सेतो, क्रिम र हरियो रंगप्रति मेरो रुचि छ, तर ब्रान्डप्रति झुकाव छैन। अरू सामान्य समयमा भने म लुङ्गी लगाउँछु। ट्राउजरसँग कुर्ता वा टिसर्टमा सहज अनुभव गर्छु।
गाजल सधैं लगाउँछु, पाएसम्म घरमा बनाइएको गाजल नै लगाउँछु। अनुहारमा मोइस्चराइजर र कोल्ड क्रिम लगाउनु मेरो दैनिकी हो। कहिलेकाहीं लगाउनैपर्यो भने फाउन्डेसन वा पाउडर प्रयोग गर्छु। मेकअपका सामग्रीमा भने म ब्रान्ड संवेदनशील छु। मेकअपको सामान प्रयोग गरेपछि अनुहार सफा गर्न भने मलाई साह्रै अल्छी लाग्छ। त्यसैले टारेर टरेसम्म त्यस्तो मेकअप नै गर्दिनँ। लिपस्टिक कहिलेकाहीं हल्का रंगको लगाउँछु। परफ्युम प्रयोग गर्दिनँ। मेरो केश छोटो भएकाले अरूको लामो र बाक्लो केश देख्दा मन लोभिन्छ।
मैले प्रयोग गर्ने महत्वपूर्ण एसेसरिज चस्मा हो। म राल्फ लोरेनको सन ग्लास प्रयोग गर्छु। राम्रो लाग्यो भने ब्रान्डमा त्यति चासो दिन्नँ, तर आँखामा प्रयोग गर्ने कुरा भएकाले स्तरीय हुनुपर्छ। त्यसैगरी अर्को एसेसरिजमा मलाई क्लोज सुज मन पर्छ। मेरा सबै जुत्ता त्यस्तै छन्। आफूले प्रयोग गर्ने जुत्ता अहिलेसम्म कुन ब्रान्डको भनेर हेरेकी छैन। खुट्टालाई सुन्दर, सहज र नदुखाउने भए जुन ब्रान्ड वा ब्रान्ड नै नभए पनि केही फरक पर्दैन।
घर बस्दा गहना लगाउदिनँ। मलाई चाँदीका पुराना डिजाइनका गहना निकै मन पर्छन्। गहनाका डिजाइन कलात्मक एवं सुहाउने किसिमको हुनुपर्छ भन्ने लाग्छ। दैनिक प्रयोगका लागि हल्का डिजाइनका गहना ठीक लाग्छन्।