बंगलादेश
बंगलादेशमा पनि होली पर्व मनाइन्छ। यो मुलुक बहुसांस्कृतिक मुलुक हो। यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुस्लिम समुदायका मानिसहरू बसोबास गर्छन्। मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन्। हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ। बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ।
गुयाना
दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ। उक्त क्षेत्रमा होलीको विशेष महत्त्व छ। यहाँ पानी, रङ र गीत-संगीतका बीच होली मनाउने चलन छ। बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन्। भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ। त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदासमेत दिइन्छ। पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ।
बेलायत
बेलायतमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आ-आफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ। यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ। कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ। ठूलो मुलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ। होलीमा सांगीतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन्। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धूमधामका साथ होली मनाउने चलन छ।
मरिसस
अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन्। यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ। यहाँ पनि होलिका दहन गर्ने चलन छ। एकआपसमा मिठाई बाँडेर तथा पानी र रङका साथ होली खेलिन्छ। साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ।
फिजी
फिजीमा सांगीतिक रमझमका साथ होली मनाइन्छ। राधा र कृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ। यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ। फिजीमा होलीमा मात्र होइन, यो मौसमभरिनै होली गीतहरू गाइन्छ।
पाकिस्तान
पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ। भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति छ। यहाँ घर-आँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ। पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ। प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भै होली खेल्ने चलन छ। विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ। दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ।
सुरिनाम
सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन्। त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ। यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ। साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ।
अमेरिका
अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ। विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ। यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलनअनुसार होली मनाउने गरेका छन्। अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ। आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो।