साप्ताहिक संवाददाता
मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभामा दुईतिहाइ ल्याउने फूर्ति लगाएर हिँड्ने प्रचण्डलाई यसपटक जनताले उत्तानाटाङ पारेर लडाइँ दिए। पृष्ठ २
ढिपी शिरोमणि— बामदेव गौतम
वामदेव गौतमलाई गृहमन्त्री बन्न मन लागेपछि रोक्ने हिम्मत कसको ? यसपटकको मन्त्रिपरिषद् विस्तार ढिलो हुनुको प्रमुख कारण नै वामदेव गौतमको जिद्धी बन्यो।
फ्लप शिरोमणि— माधवकुमार नेपाल
अघिल्लो पटक चुनाव हार्दा माधवकुमार नेपालले प्रधानमन्त्री नै बन्ने अवसर पाए। यसपटक दुई स्थानबाट जिते पनि केपी शर्मा ओली र वामदेव गौतमको एकताका कारण माधवकुमार नेपाल फ्लप भए।
पंगु शिरोमणि— खगेन्द्र संग्रौला
दोस्रो संविधानसभाको निर्वाचनमा दुई जना कांग्रेसी उम्मेदवार नरहरि आचार्य तथा गगन थापाको पक्षमा उभिए पनि बाँकी २ सय ३८ ठाउँमा एमाओवादीको पक्षमा लाग्ोका खगेन्द्र संग्रौलाले अनुमान गरेभन्दा विपरीत नतिजा आएपछि उनी 'पंगु विश्लेषक' सावित भए।
ट्वाँ शिरोमणि— भुवन केसी
सदावहार नायक भुवन केसीले यो वर्ष सभासद् बन्ने सपना देखेका थिए तर एमालेको समानुपातिक सदस्यमा समेत आफ्नो नाम नआउँदा स्वयं भुवन स्तब्ध भए। सभासद् बन्ने प्रयास निरर्थक भएपछि केसी यो वर्ष ट्वाँ शिरोमणिको हकदार भए।
कोक्ल्याँटे शिरोमणि— डा. शशि शर्मा
डा. शशि शर्मालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नियुक्त गरिएपछि डा.गोविन्द केसीले त्यसको विरोध गरे, तर यी कोक्ल्याँटे शिरोमणिले राजीनामा दिने छाँटकाँट देखाएनन्। अन्ततः उनी पदबाटै बर्खास्त भए।
काग शिरोमणि— खिलराज रेग्मी
खिलराज रेग्मीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदबाट राजीनामा नै नगरी मन्त्रिपरिषद्को अध्यक्षता गरिरहे। संविधानसभाको निर्वाचनपछि रेग्मीले दुवै पदबाट राजीनामा दिए। उनको अप्रत्याशित राजीनामाले उनलाई सर्वोच्चमा छिर्न नदिने प्रपञ्च रचिरहेका बार एसोसिएनका पदाधिकारीहरू तिनछक्क परे।
ठिस शिरोमणि— मोहन वैद्य किरण
सम्पूर्ण देश निर्वाचनमा होमिएका बेला मोहन वैद्य किरणको पार्टी भने आतंक मच्चाइरहेको थियो। वैद्यको आतंकले नेपाली जनता आहत त भए तर निर्वाचन रोकिएन।
गन्गन शिरोमणि— अर्जुननरसिंह केसी
नेपाली कांग्रेसमा प्रभावशाली भए पनि अचेल अर्जुननरसिंह केसीलाई कांग्रेसमा खासै भाउ दिइएको पाइँदैन। सार्वजनिक सञ्चार माध्यमहरूमा लगातार गन्गन गर्दै आएका यी नेतालाई गन्गने शिरोमणिको उपाधि दिइएको छ।
बहादुर शिरोमणि— सिपी मैनाली
एउटा सिंगो पार्टी हाँक्ने यी नेता प्रत्यक्ष निर्वाचनमा पनि उम्मेदवार नबन्ने, समानुपातिकमा आफूसहित श्रीमतीलाई पनि सभासद् बनाउने अनि मन्त्रीको कोटामा पनि श्रीमतीकै नाम सिफारिस गर्ने बहादुर हुन्।
डुकुलन्ठक शिरोमणि— सुवास नेम्वाङ
संविधान सभाको दोस्रो कार्यकालमा पनि नेम्वाङ नै सभामुख बनेका छन्। यसपटक भने उनको प्रस्तुतीकरण खासै प्रभावकारी देखिन सकेको छैन। आफ्नै पार्टी एमालेका सभासद्को समेत मन जित्न नसकेको गुनासो सुन्न थालिएपछि यिनलाई डुकुलन्ठक शिरोमणिको उपाधि दिँदा फरक नपर्ने देखिन्छ।
ग्वाँ शिरोमणि— सुशील कोइराला
गृहमन्त्रालय एमालेलाई दिन तयार हुने अनि आफ्नै पार्टीले विरोध गरेपछि मैले त्यस्तो निर्णय गरेकै होइन भन्ने त्यसपछि एमालेले सरकारलाई दिएको समर्थन नै फिर्ता लिने स्थिति बनेपछि लुरुक्क परेर गृहमन्त्रालय एमालेलाई नै सुम्पिएर ग्वाँ गर्ने नेपालका नयाँ प्रधानमन्त्री सुशील कोइराला।
धम्की शिरोमणि— केपी शर्मा ओली
संविधान सभा-२ को निर्वाचनपछि एमालेका नेता केपी शर्मा ओलीको फुर्ती बढेको छ। एमाले तेश्रो दल हुँदै विपक्षी दललाई धम्क्याउन सिपालु यी नेता एमाले सत्ता आएपछि आफ्नै पार्टिका सहकर्मिलाई समेत धम्क्याएको देख्दा यीनलाई धम्की शिरोमणिको उपाधी दिन करै लाग्छ।
हिम्मत शिरोमणिः रेखा थापा
प्रचण्डसँग कम्मर मर्काउनदेखि श्रीमान्सँग डिभोर्स गर्ने हिम्मत उनले त्यसै जुटाएकी होइनन्। सभासद बन्न नपाएको दुःखलाई पनि उनले हिम्मत गरेरै पचाएपछि हिम्मत शिरोमणिमा उनको हक लागेको हो।
प्रचार शिरोमणिः दिनेश डिसी
दिनेश डिसीको पछिल्लो चलचित्र 'छ एकान छ' बम्बर हिट भएपछि यिनको चर्चा पनि चुलियो। अमेरिकाको सिएनएन स्टुडियोदेखि रूपन्देहीको महोत्सवसम्मको आफ्नै तस्विरलाई फेसबुकमा शेयर गरेर आफ्नै प्रचारमा दंग पर्ने डिसी यसपटकका प्रचार शिरोमणि !
नखरमउली शिरोमणिः स्मिता थापा
'सेक्सी देखिनु नै मेरो सौख हो' भन्ने अभिव्यक्ति दिने स्मिता थापा व्यवहारमा समेत अत्यन्त सेक्सी छिन्। उनले दिने सेक्सी पोजले फोटोग्राफरहरू पनि पानीपानी हुन्छन्।