साप्ताहिक संवाददाता
कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अत्यन्त उत्साहित देखिएका गायक रामकृष्ण ढकालले यो एकल सांगीतिक कार्यक्रमलाई भव्यता प्रदान गर्ने तयारी भैरहेको दाबी गरे। ग्रिष्मा इन्टरटेन्मेन्टले चैत ३० गते साँझ होटल याक एन्ड यतिको प्रेक्षालयमा यो कार्यक्रम आयोजित गर्दैछ।
'कार्यक्रम राति ९ बजेदेखि मध्यरात १२ बजेसम्म चल्नेछ, कार्यक्रमका बारेमा प्रकाश पार्दै गायक ढकालले भने- 'करिब दुई दर्जन लोकप्रिय गीत-संगीत प्रस्तुत गर्दैछु।' करिब २५ जना संगीतकर्मीले लाइभ म्युजिकमार्फत एकल कार्यक्रमलाई संगीतमय बनाउने जिम्मा लिएका छन्।
ढकालको गीतमा तात्यो बट्टार बजार
नुवाकोट महोत्सवको अवसर पारेर गायक रामकृष्ण ढकालले गत शनिबार आफ्ना कर्णप्रिय सदावहार गीतहरू गाएर नुवाकोटवासीलाई पर्याप्त मनोरञ्जन प्रदान गरे। पहिलो पटक नुवाकोटमा प्रस्तुत भएका ढकालले दर्शकको मन चोरेको त्यतिबेला प्रस्ट भयो, जब उनले गाउन थाले। ढकालको स्वर सुन्न महोत्सव स्थलमा छरिएका दर्शकहरू मञ्चको वरिपरि झुम्मिएका थिए।
फागुन १४ गतेदेखि ११ दिनसम्म चलेको नुवाकोट महोत्सवमा जिल्लाका ग्रामीण क्षेत्रमा उत्पादित रेन्बो ट्राउट माछा तथा स्ट्रवेरी मुख्य आकर्षक रहे। महोत्सवमा मध्यमाञ्चलका १९ जिल्लाको प्रतीकात्मक सहभागिता थियो।
विष्णु तारुके