साप्ताहिक संवाददाता
पारम्परिक रूपमा क्रिकेटको सर्वोच्च स्वरूप हो- टेस्ट। त्यसपछि प्रथम श्रेणीको क्रिकेट आउँछ, जुन सामान्यतः ३ देखि ४ दिनको हुन्छ। त्यसपछि सन् ७० मा वान डे क्रिकेट आयो। एक दिन खेलिने यो खेल अचेल ५०-५० ओभरको हुन्छ। नामैअनुसार ट्वान्टी-२० क्रिकेट २०-२० ओभरको हुन्छ। यस्तोमा क्रिकेटका तीन स्वरूपमध्ये यो नै सबैभन्दा छोटो हो, आफ्नो इतिहास जस्तै। सन् २००३ मा पहिलो पल्ट इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेटले ट्वान्टी-२० क्रिकेटलाई औपचारिक रूपमा प्रतियोगिताको स्वरूप दिएको थियो। काउन्टी टिमहरूले त्यसमा सहभागिता जनाएका थिए। कारण स्पष्ट थियो, यो खेललाई नयाँ पुस्तासम्म पुर्याउने, लामो समय खेल हेर्न नभ्याउनेहरूलाई पनि यो खेलप्रति आकषिर्त गर्ने।
ट्वान्टी-२० क्रिकेटको एक खेल समाप्त हुन तीन घन्टा भए पुग्छ, अर्थात् ९० मिनेटमा एक खेलले पूर्णता पाउँछ, २० मिनेटसम्मको मध्यान्तरलाई छाडेर। इङ्ल्यान्डमा सुरुवाती वर्षमा यो अत्यधिक सफल भएपछि अचेल क्रिकेट खेल्ने सबै देशमा यसको घरेलु प्रतियोगिता हुन्छ। यो टेस्ट र वान डे भन्दा केही फरक पनि हुन्छ। फुटबलमा जस्तो खेलाडीहरू टेक्निकल लाइनको पछाडि बस्छन्, प्लेयर बक्समा। खेलका क्रममा चियर्स गल्र्सहरूको पनि उत्तिकै प्रयोग हुन्छ। यसले खेलमा ग्ल्यामर पनि थपेको छ। फिल्डिङसम्बन्धी नियमले गर्दा यसमा चौका र छक्का प्रहारको सम्भावना पनि व्यापक हुन्छ। त्यसैले यसलाई अहिले अत्यधिक रुचाइएको छ।