यहाँ अपराधसम्बन्धी थुप्रै कथा धेरैपटक भनिए, अपराध कथालाई नयाँ शैलीमा यसरी पनि भन्न सकिने रहेछ भन्ने कुरा फिटकिरी हेर्नेहरूले अनुभव गर्न सक्छन्। फिटकिरी हरेक व्यक्तिको कथा हो।
सबल कलाकारहरूको उत्कृष्ट पर्फमेन्स पनि भन्न सकिन्छ होला नि ?
पर्फमेन्स आर्टमा स्थापित सौगात मल्ल, दिया मास्के, निश्चल बस्नेत आदि कलाकारको अभिनयका कारण फिटकिरी राम्रो बनेको छ। म आफैं पर्फमेन्स आर्टसँग जोडिएको व्यक्ति भएकाले सशक्त अभिनयका कारण पनि यसले दर्शकको मन जित्ने अपेक्षा राखेको छु।
फिटकिरीको कुन पक्ष जबर्जस्त छ ?
राम्रो निर्देशकले कुनै एउटा पक्ष हेरेर चलचित्र राम्रो बनाउन सक्दैन्, चलचित्रको कुनै सट, स्टोरी टेलिङ वा साउन्ड, सिनेमाटोग्राफी मात्र राम्रो भएर पुग्दैन। सुरुमा कथा त्यसपछि पर्फमेन्स राम्रो हुनुपर्छ। मैले फ्रेस स्विट जुस बनाएको छु, यसको नयाँ स्वादलाई दर्शकले मनपराउनेछन्।
थियटरको स्थापित निर्देशकलाई डर लागिरहेको छ ?
मलाई डरभन्दा पनि कौतुहलता छ। माध्यमको हिसाबले थियटर र चलचित्रबीच धेरै भिन्नता छ। चलचित्र निर्देशकको माध्यम हो भनें थियटर अभिनेताको।
फिटकिरीकै काममा एकातर्फ द्वन्द्व र अर्कोतर्फ अफेयरका कुरा आए नि ?
अफेयर त अलिक अगाडिदेखि नै हो, तर फिटकिरीमा सँगै काम गर्दा हामीबीचको भ्याकुम स्पेस भरियो। सम्बन्ध अझ सबल भयो। एउटा कलाप्रेमीको राम्रो कलाकारसँग अफेयर भएको छ, योभन्दा राम्रो अर्को के हुनसक्छ र ?
सम्बन्ध अघिदेखि कै हो ?
हो नि, दलन, कागवेनी, एकदिन एक रातदेखि फिटकिरीसम्म मैले दिया मास्केसँग काम गरें। लामो यात्रासँगै जोडिएको मायाप्रीति हो यो।
अब कहिलेदेखि सँगै बस्ने त ?
असारदेखि हुन्छ होला, अहिले त्यो अपेक्षा छ। दुवै पक्षका परिवारसँग एकचरण कुरा भैसकेको छ। अब फाइनल टच दिन बाँकी छ।
चलचित्रको शीर्षक 'फिटकिरी’ नै किन ?
शरीरमा घाउ खटिरा वा चोट लाग्दा एन्टिसेप्टिकका रूपमा 'फिटकिरी' ले काम गर्छ, दाह्री काट्दा पनि हामी फिटकिरी लगाउँछौं, चलचित्रको कथा सहरी अपराधमा आधारित छ। जुन अपराधलाई मल्हमपट्टी लगाउन फिटकिरीको आवश्यकता महसुस गरिएको हो।
थियटर आर्टिस्ट एकाएक मारधाडले भरिपूर्ण चलचित्र निर्देशन गर्ने आँट कसरी गर्नुभयो ?
मेरो बुझाइमा चलचित्र भनेको कि राम्रो हुन्छ कि नराम्रो हुन्छ। मेरो विश्वास राम्रो चलचित्रमा अडिएको छ। सामाजिक विषयलाई छुने कथालाई व्यावसायिक ढंगले पेस गर्ने प्रयासमा म थिए। त्यसैले यो चलचित्र मानिसहरूलाई हेरुन्जेल तानिरहने बनाउने प्रयास गरेको छु।
अघिल्लो र पछिल्लोपुस्ताका बीचमा रहेर तपाईं प्रतिस्पर्धामा उत्रिदै हुनुहुन्छ होइन ?
मेरो लागि म नै प्रतिस्पर्धी हो। मैले सोचेअनुरूप आफ्नो क्षमताअनुरूप काम गरे गरिन भन्ने कुरा मुख्य हो। यो क्षेत्रमा अब मैले स्पेस इनसेक्युरिटी लिन आवश्यक छैन।
यो उमेरमा रोमान्टिक हुनुको कारण नि ?
म अहिले मात्र होइन, पहिलेदेखि नै रोमान्टिक हो। म जीवनलाई सकारात्मक रूपमा बुझ्छु। जीवनले जे दियो सहज रूपमा आत्मसाथ गर्दै आएको छु, टेन्सनमा रहन्न।
हेर्दै हिरो जस्तो अनुप बराल किन नायकको भूमिकामा नदेखिएको होला ?
कथाले अनुप बराललाई नायकका रूपमा खोज्यो भने त्यो पनि असम्भव नहोला। वा कसैले अनुप बराललाई नै हेरेर कथा तयार पार्यो भने झन राम्रो। यो सबै समयको कुरा हो।