र्याफ्टिङका लागि गोरखास्थित एक रिसोर्टमा पुगेका कलाकारहरूले स्थानियवासी चेपाङ समुदायका मानिसहरूसँग जमेर होली खेले। नेपाल-चीन वाणिज्य मैत्रीसंघले आयोजना गरेको राहत वितरणको उपलक्ष्यमा चेपाङ समुदायलाई सहयोग गर्दै उनीहरूले होली मनाएका हुन्। 'यसपटक होली छुट्टै ढंगले मनाइयो, स्मरणीय क्षण बन्न पुग्यो,' हास्यकलाकार मनोज गजुरेलले भने- 'व्यवसायी साथीहरूले निमन्त्रणा गरेको राहत वितरण एवं र्याफ्टिङ कार्यक्रमले अल्पसंख्यक चेपाङ समुदायसँग साक्षात्कार हुने अवसर जुराइदियो।' कार्यक्रममा गायकहरू तुलसी पराजुली, दीपक लिम्बू, संगीतकारहरू सुरेश अधिकारी, महेश खड्का, लक्ष्मण शेष, गीतकारहरू विपिन किरण, राम भट्टराई, कुमार अविवाहित, सुदिप रेग्मी आदिको उपस्थिति थियो। उक्त अवसरमा आयोजित मनोरञ्जक कार्यक्रममा कलाकारहरूले आ-आफ्नो प्रस्तुति दिएका थिए। स्थानीय चेपाङ समुदायका २० परिवारलाई होलीको अवसर पारेर चामल, दाललगायतका अन्य सामग्री सहयोग गरिएको कार्यक्रमका संयोजक रमेश बरालले बताए। मुलुककै ख्यातिप्राप्त कलाकारहरूको टिम राहत सहयोग, सांस्कृतिक कार्यक्रम एवं होलीपछि र्याफ्टिङमा सहभागी भएका थिए। मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ, कान्छीको छाता ढल्काइदेउ यता आदि लोकपि्रय गीतमा सहभागीहरूले खुलेर नृत्य गरेका थिए भने मनोज गजुरेलको रोचक घोचक हास्यप्रस्तुतिले सबैको मन जितेको थियो।