चाडपर्वमा सांस्कृतिक ज्ञानको पनि उत्तिकै आवश्यकता हुन्छ। त्यही भएर संस्कृतिविद् जनार्दन घिमिरेले होली पर्वको सांस्कृतिक पक्षका सम्बन्धमा विस्तृत जानकारी दिंदै क्रिकेट टिमकै सफलताको कामना गरे। उक्त अवसरमा बालगायक प्रेम परियारले ' बल्ल भेट भयो....दर्शन नमस्ते' र 'यो आँखामा तिमी,' गीत गाएका थिए।
त्यसपछि पप गायक विजय गिरीले 'हाम्रो प्यारो विराटनगर,' भन्ने मधेसी एवं पहाडीलाई जोड्ने सन्देशमूलक र्याप गाए भने अमृत क्षेत्रीले 'क्षणक्षणमा बदलिन्छ यहाँ माया,' सुनाए। चर्चित लोक दोहोरी गायक पशुपति शर्माले 'मलाई ह्वीस्की पनि... बियर पनि यही चाहिन्छ' गाएपछि त आमन्त्रित पाहुना एवं दर्शकहरू जोस्सिएर उफ्रिन थाले।
गायक अनील सिंहले पूरा ऊर्जाका साथ 'धिनधिन्तिना...' गाउँदा कार्यक्रम पूरा उत्कर्षमा पुगेको देखिन्थ्यो। गायक राजेशपायल राईले 'एक्कासि, दुक्कासि' गाएर दर्शकको बचेखुचेको इच्छा पनि पूरा गरिदिए भने गायक शिव परियारले आफूलाई चिनाउने गीत 'बेहोसपछि होसमा आउन.... र 'मलाई जालैमा पार्यो फेसबुकले..' गाएर वातावरणलाई थप रमाइलो बनाए।
जोगिरा सरर र ठुमकाको प्रसंग बिना होलीलाई अधुरै मानिन्छ। धीरेन्द्र प्रेमषिर्ले रंगको मात लागेर झुमिरहेकाहरूको त्यो चाहना पनि पुरा गरिदिए। हास्यकलाकार दमन रूपाखेतीले स्टयान्ड अप कमेडी प्रस्तुत गर्दै नेपाली माझ निकै लोकप्रिय भएको 'आई फोन' र 'भ्यालेन्टाइन डे' माथि चुट्की लिए। कार्यक्रमको मध्यान्तरमा रेडियो कान्तिपुरले आयोजना गरेको होलीसम्बन्धी प्रश्न प्रतियोगिताका १५ जना विजेतालाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा 'फिटकिरी,' 'मनलाई मनले छुन्छ', 'झेली' तथा 'ब्रह्मा' को टिम आ-आफ्नो चलचित्र प्रवर्द्धनका लागि उपस्थित थियो।