साप्ताहिक संवाददाता
इन्टरपोलद्वारा 'रेडकर्नर नोटिस'मा राखिएका टन्डनले अपहरितलाई राख्न राजधानीको बौद्ध, मैजुबहाल, मण्डिखाटार र रुपन्देहीको छपियामा घर भाडामा लिएका थिए।
निकै चतुर टन्डनले फिरौतीको रकम हुन्डीमार्फत काठमाडौंबाट हङकङ, दुबई, बैंकक हुँदै भारत पुर्याउँथे। उनी त्यही रकम फेरि काठमाडौं, लक्जेम्बर्ग र अमेरिका पठाउँथे। उनले यो कार्यमा एक अमेरिकी नागरिकलाई पनि सहयोगी बनाएका थिए। टन्डन विभिन्न अपराधमा सजाय काटेर निस्कन लागेका कारागारका बन्दीसँग सम्पर्क गरेर नयाँ गिरोह बनाउँथे। उनले पक्राउ पर्नुअघि ११ जना तथा कारागारभित्रैबाट दुई जनाको अपहरण गराए।
मुम्बईबाट बीकम पास गरेका टन्डन सहज ढंगले हिन्दी, अंग्रेजी, नेपाली तथा विभिन्न क्षेत्रीय लवजलगायत आठवटा भाषा बोल्न सक्छन्। पक्राउबाट जोगिन दर्जनजति भिन्न-भिन्न नम्बरका मोबाइल बोक्ने टन्डन अन्ततः त्यही साधनकै कारण प्रहरीको जालमा परेका थिए। भारतमा किर्ते कागत प्रयोग गरी लिएको '.......७७६' नम्बरको मोबाइलबाट उनको पत्ता लागेको थियो। त्यो नम्बर अपहरणमा प्रयोग भएको थियो। प्रहरीले उनीविरुद्धको कारबाहीलाई 'अपे्रेसन ७७६' नाम दिएको थियो।
भारत र नेपालका विभिन्न आपराधिक गिरोहमा संलग्न नेपालस्थित मुख्य सम्पर्क बिन्दु टन्डन नै भएको त्यतिबेला रहस्य खुलेको थियो। रूपन्देही अमुवा-३ का टन्डन २०६६ मा जेलभित्रबाटै अपहरणको गिरोह चलाउन थाले। जति नै चलाख भए पनि प्रहरीले हरेक पटक टन्डनलाई प्रमाणसहित समात्यो। प्रहरीले उनी र उनको गिरोहका एक सदस्यबीचको फोन वार्ता र 'कोड वर्ड' को रहस्य खोलेको थियो। फोनमा प्रयोग गरिएको सांकेतिक भाषामा समूहको नाइके (टन्डन) लाई 'आमा' र पक्राउ परिसकेको जानकारी दिन 'मैले चिया खाएँ' भनिएको थियो।
उनी शरीर बन्धक तथा लागूपदार्थ कारोबार मुद्दामा अहिले कारागारमा छन्। एकपछि अर्को अभियोग र सजायको भारले थिचिएका टन्डन अहिले निष्क्रिय छन्। जेलभित्र पनि विभिन्न हिंसात्मक गतिविधि एवं प्रदर्शनमा संलग्न टन्डनलाई पटक-पटक कारागार फेर्दै राख्नुपरेको छ। उनी २०७० वैशाख २५ देखि राजधानीको जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा छन्। २०६४ वैशाख ६ देखि बन्दी जीवन बिताउँदै आएका टन्डनको सजाय १९ वर्ष १० महिनापछि अर्थात् २०८३ फागुन १३ मा पूरा हुनेछ।
- जीतेन्द्र शाह