साप्ताहिक संवाददाता
प्यारो छोरा
आशीर्वाद!
बाबु, तँलाई रातारात बिमार परेर अस्पताल लगेका छन् भन्दा थाम्नै सकिनँ। अल्सर भएको भन्ने खबर पाएँ। रुँदारुँदा थाकिसकेकी छु। यस्तोबिधि दु:ख कसका लागी गर्छस्? हामी सबैलाई तँ चाहिया छ, सम्पत्ति होइन। सपना पनि कहिल्यै राम्रो देख्दिनँ। आँखा फरफराइरहन्छ। तेरो बाउ बितेदेखि म आधी मासु भएकी छु। तँलाई पनि तलमाथि केही भयो भने म रहन्न। दु:खसु:ख गरेर बसौँला। खोला पारीको बाँझो खेत जोत्न सके यहीँ पनि सून फलाउन सकिँदो हो। उसै पनि गाउँमा अब बूढाबूढी र आइमाइ-केटाकेटी मात्र रह्यौँ। यस्तो लाग्छ आधा गाउँ बसाइँ हिँडेको छ। धेरैजसोका खेत बाँझा छन्। हली पनि पाइन्नन्। ती पनि रिन काढेर परदेसिए। आइज बाबु फर्केर, सके गरि खाउँला, नसके सँगै मरिजाउँला।
सुनेथेँ, महिना दिनसम्म काम गर्न पाइवस् अरे, त्यसैले होला गएको महिना पैसा पठाइनछस्। बुहारी भुत्भुताउँदैथिई। उसको छाँट पनि निको देख्दिनँ बाबु। न काम न काज, दिनभरि लोग्नेमान्छे झैँ गाउँ बरालिन्छे। कहिलेकाँही रात छिप्पिसकेपछि मात्र घर आउँछे। गाउँलेले कुरा काट्न थालिसके। अझ सप्पै कुरा त यो चिठ्ठीमा भन्न पनि सक्दिनँ। यो बुढेसकालमा कतितिरको पीर खेप्नु बाबु मैले! घरमा लोग्नेमान्छे नहुनु भनेको समाजलाई बात लाउने ठाउँ प्रशस्त हुनु रै'छ। तेरो बाउ खस्ने सालदेखि दशा लाग्न सुरु भएको। पैले भैँसी भीरबाट लढेर मर्यो। त्यही साल असिनाले जम्मै धान नासियो। तेरी स्वास्नीको पहिलो गर्भ त्यही साल तुहियो। तँ बरखी सिध्याएर अर्को साल हिँडिहालिस्। दु:खसुख गरेर बसौँला आइज। तँ आइस् भने बुहारी पनि सम्हालिन्छे होली।
त्यहाँ चौबीसै घण्टा तातो बालुवाजस्तै हावा बगिरहन्छ रे। पेटभरि खान पनि पाइन्न भन्छन्। अस्ती भर्खर धारापारिको तामाङ बूढोको छोरोको लास बाकसमा हालेर काठमाडौँ फर्काएका थिए। त्यहाँ देखि त मन झन् थीर छैन। तामाङ्ग बूढोको हालत देख्छु, भक्कानो फुटेर आउँछ। त्यसमाथि भएकी एउटी बुहारी पनि बालक छोरा छोडेर पोइल हिँडी। खै के देख्छन् आजकालका ठिटाहरू परदेशमा। भएको सप्पै थोक गुमाएर पैसाका पछि लाग्छन्। आफू र आफ्नो परिवारको साथ नरहे पैसाको के काम? आजभोलि मन धेरै नै अशान्त भएको छ बाबु। यो दुखिया आमाको बचन राखिदे। चाँडै घर फर्के!
चिठ्ठी पढेर धेरै कुरा मनमा खेल्न लागे। जवाफ फर्काउनु नै थियो। लेखेँ.......
पूजनीय आमा
साष्टांग दण्डवत्
सकुशल छु यहाँ। कहिलेकाहीं तल माथि त संसारको जुनसुकै कुनामा बसे पनि भैहाल्छ नि। बेकारमा रुनुहुन्छ, तर म आमाको ममता बुझ्छु नि। म अरूका छोराछोरीजस्तो कहाँ हुँ र?
त्यस्तो अल्सर सल्सर केही भएको होइन। एकदिन खानपानमा अलिक गडबड भो, त्यै भएर पेट दुखेर अस्पताल गएको थिएँ। स्वास्थ्यको जाँच बेला बेला भैरहन्छ। हामीले काम गर्ने ठाउँमा पूर्ण: सुविस्ता छ। चौविसै घण्टा एसी चलिरहन्छ। खाडीको बालुवामाथिबाट बग्दै आउने तातो हावाले हामीलाई पोल्न पाउँदैन। काम पनि त्यस्तो बिध्न् गर्नु पर्दैन। तामाङ बूढोको छोरो खै कारणले मर्यो थाहा भएन। छिटपुट दुर्घटना त भैहाल्छन् नि आमा। नआत्तिनुस्। गएको महिना कम्पनीको हिसाब नमिलेकाले पैसा पठाउँन पाइनँ। अर्को महिनादेखि निरन्तर पठाउने वाचा गर्छु।
सुमित्राको छाँट ठीक छैन भन्नुभो। बिचरी खाऊँखाऊँ र लाऊँलाऊँ उमेर छ। वरपर हिँड्डुल गर्न मन हुँदो हो। आमालाई त्यस्तो लागेको मात्र होला। हिजोआजका श्रीमतिहरू पहिलेका जस्तो हुँदैनन्। तैपनि म उसलाई सम्झाइदिउँला। छोरो चार वर्षको लागिसक्यो, उसलाई पनि त बदनामीको डर हुँदो हो।
मन त किन हुन्नथ्यो र तपाइँहरूको समीपमा बस्नलाई? के मलाई आमाको हात सधैँ मेरो शिरमा परिरहोस् जस्तो लाग्दैन र? के मलाई चैँ स्वास्नीको माया नचाहिने हो र? छोराको मुख हेर्ने तिर्सनालाई कसरी थुनेर राखेको छु यो छातीभित्र, खै कसले पो बुझ्ला र त्यो? जे गरिरहेको छु, तपाइँहरूकै लागि गरिरहेको छु। बैँकको रीन बल्ल चुक्ता भयो। छोरालाई राम्रो स्कूलमा पढाउनुपर्छ। काठमाण्डौँमा घर बनाउने रहर छ। हामीले जेजस्तो दु:ख खेप्यौँ, त्यो हाम्रा सन्तानले नखेपुन्। यसैका लागि त यति पर आएर मेहनत गरिरहेको छु।
टाढै भए पनि आमाको आशीर्वाद पाइरहूँ। अब एक-दुई साल यहाँ बस्न पाएँ भनेँ केही गर्न सक्छु त्यहाँ आएर। नआत्तिनुस, सब ठीक हुन्छ।
तपाईंको छोरा सब झूट लेखेँ। सत्यले आमालाई पोल्थ्यो। आन्ध्रामा घाउ भएको छ। भत्भती पोल्छ। आमाको मनजस्तै। मन त आजकाल मेरो पनि खुब पोल्छ। केही ठीक छैन। न उता न यता। कस्तो भताभुङ्ग। लथालिङ्ग! कुनै दिन तामाङ्ग बूढोको छोरो झैँ काठको बाक्सामा प्याक भएर त्रिभुवन विमानस्थल ओर्लन नपरोस्। त्यसो हुँदा मेरी आमा रहनुहुनेछैन। मेरो छोराको हातखुट्टै भाँचिनेछ। उफ! मलाई अझै बाँच्नु छ।
किनभने यत्रोबेरदेखि उसले हेर्न खोजेको मेसेज १४१४ बाट ब्यालेन्स सकिएको जानकारी भन्दा बढ्ता केही थिएन।
त्यो मेसेजले उसलाई गिज्याएझैँ लाग्यो। नेपाल टेलिकमले भनिरहेको हुँदो हो, 'जाबो ब्यालेन्स त टायममा हाल्न नसक्नेले के प्रेम गर्छस्?'