साप्ताहिक संवाददाता
नर्सिङ प्राविधिक विषय हो। त्यसैले यसको अध्ययनपछि सोझै रोजगार बजारमा प्रवेश गर्न सकिन्छ। अस्पताललगायत स्वास्थ्य संस्थाहरूको संख्या बढ्दै जानु र विदेशमा समेत राम्रो अवसर प्राप्त हुनुले यो क्षेत्रतर्फ उनीहरूको ध्यान तानिएको छ। रोजगारीका हिसाबले नर्सिङमा व्यापक सम्भावना रहेको जानकारहरू बताउँछन्।
अन्तर्राष्ट्रिय मान्यताअनुसार ६ जना रोगीका निम्ति १ जना नर्स आवश्यक हुन्छ। नेपालको अवस्था फरक छ। 'यहाँ १ जना नर्सले २५ जना बिरामी हेर्नुपर्छ,' नेपाल नर्सिङ एसोसिएसनकी अध्यक्ष प्रमिला देवान भन्छिन्- 'यो अनुपात एकदमै फराकिलो छ।' त्यस्तै, विश्व स्वास्थ्य संगठनको मापदण्डले १० हजार जनसंख्या बराबर २३ जना स्वास्थ्यकर्मी आवश्यक हुनुपर्ने कुरा औंल्याएको छ। नेपालमा भने १० हजार जनसंख्या बराबर १४ जना स्वस्थ्यकर्मी मात्र छन्।
जनसंख्याको अनुपातमा स्वास्थ्यकर्मीको अभाव हुनु, स्वास्थ्य संस्थाहरू तीव्र रूपमा वृद्धि हुनु र विदेशमा समेत यस किसिमको जनशक्ति माग हुनुले नर्सिङमा रोजगारीको अवसर सधैं खुला रहेको अनुमान गर्न सकिन्छ।
कहाँ पढ्ने?
नर्सिङमा पनि 'स्टाफ नर्सको' क्रेज बढी छ। एसएलसी सकेलगत्तै स्टाफ नर्स बन्ने दौडमा भेटिन्छन्, थुप्रै युवती। अत: यो विषय अध्ययनका लागि नेपालमा शिक्षण संस्थाको कमी छैन।
त्रिभुवन विश्वविद्यालयका आंगिक कलेज एवं काठमाडौं विश्वविद्यालयले निश्चित कोटामा स्टाफ नर्सको भर्ना लिने गरेका छन्। त्यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त विभिन्न इन्स्टिच्युटमा स्टाफ नर्स अध्ययन गर्न सकिन्छ। यसका साथै वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ क्याम्पस (बीपीकेआइएच) धरानबाट समेत यो विषयमा दक्षता हासिल गर्न सकिन्छ।
स्टाफ नर्स भर्नाका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पस पहिलो प्राथमिकतामा पर्ने गरेको बागबजारस्थित नाइन इन्स्टिच्युटका प्रवन्ध निर्देशक मातृकाप्रसाद भट्टराई बताउँछन्। किन त? 'तुलनात्मक रूपमा सस्तो र गुणस्तरीय भएकाले,' उनले संक्षिप्तमा भने। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका महाराजगन्ज नर्सिङ क्याम्पस, ललितपुर नर्सिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, नेपालगन्ज नर्सिङ क्याम्पस, विराटनगर नर्सिङ क्याम्पसमा स्टाफ नर्ससम्बन्धी पठनपाठन हुन्छ। यी ६ कलेजमा कुल २ सय ७५ सिटका लागि कडा प्रतिस्पर्धा हुने भट्टराईले बताए। महाराजगन्ज नर्सिङ क्याम्पसले बर्सेनि ६० जना विद्यार्थी भर्ना लिने गरेको छ भने बाँकी क्याम्पसले ४५ तथा ४० जनाका दरले भर्ना लिन्छन्। त्रिभुवन विश्वविद्यालयपछि विद्यार्थीको रोजाइमा पर्ने गरेको छ, वीर अस्पताल। यहाँ वाषिर्क ४० जनालाई भर्ना लिइन्छ। वीरमा कम शुल्कमा गुणस्तरीय शिक्षा लिन सकिन्छ। सुविधायुक्त प्रयोगशाला एवं प्रभावकारी शिक्षण विधिले यी शिक्षण संस्थाप्रति विद्यार्थी आकषिर्त भएको पाइन्छ।
सिटिइभिटीबाट सम्बन्धनप्राप्त थुप्रै शिक्षालयमा स्टाफ नर्स अध्ययन गर्न सकिन्छ। सिटिइभीटी वा कुनै पनि शिक्षालयबाट स्टाफ नर्स कोर्स गर्न ३ देखि ४ लाख रुपैयाँ जोहो गर्नुपर्छ। सरकारी कलेजमा त्यसको झन्डै आधा शुल्कमा पढ्न सकिन्छ।
भर्ना प्रक्रिया
साउन महिनादेखि स्टाफ नर्सका लागि भर्ना सुरु हुने निमास एजुकेसन बागबजारकी प्रबन्ध निर्देशक गीता रिजालले बताइन्। क्रमश: काठमाडौं विश्वविद्यालय, सिटिइभिटी, बीपीकेआइएच, त्रिभुवन विश्वविद्यालय र वीर अस्पतालमा भर्ना खुला हुने गरेको छ। एसएलसीमा कम्तीमा ५० प्रतिशत अंक हासिल गरेकाहरूले भर्नाका लागि आवेदन दिन सक्छन्। शिक्षण संस्थाले तोकेको मापदण्ड पूरा गरेपछि प्रवेश परीक्षामार्फत छनौटमा पर्न सकिन्छ, तर प्रवेश परीक्षाको विधिमा एकरूपता भने छैन।
आवश्यक तयारी
त्रिभुवन विश्वविद्यालयअन्र्तगतका क्याम्पसमा भर्ना पाउन विद्यार्थीहरू प्रवेश परीक्षाको तयारीमा जुट्ने गरेका छन्। अत: यिनै विद्यार्थीलाई लक्षित गर्दै काठमाडौं लगायतका सहरी क्षेत्रमा प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन हुने गरेको छ।
'आधारभूत तयारी गर्नुपर्छ,' निमास एजुकेसनकी प्रबन्ध निर्देशक रिजाल भन्छिन्- 'यसले उनीहरूको द्विविधा हटाइदिन्छ र ढुक्कसाथ परीक्षा दिन सक्छन्।' निमासले स्टाफ नर्सलगायत रेडियोग्राफी, बी-फार्मेसी, सिएमएलटी, डेन्टल आदिको तयारी कक्षा सञ्चालन गरिरहेको छ। विभिन्न शिक्षण संस्थाले प्रवेशका लागि सोध्न सक्ने सम्भावित प्रश्नकै ढाँचामा विद्यार्थीहरूलाई प्रशिक्षित गरिने रिजालले बताइन्। रिजालले भनिन्- 'प्रवेश परीक्षामा जे-जस्तो प्रश्न सोधिन्छ, त्यही ढाँचामा उत्तर लेख्न सिकाइन्छ।' यसबाट राम्रा कलेजमा विद्यार्थीले भर्ना पाउन सक्ने रिजालले बताइन्। निमासले मल्टीमिडिया माध्यमबाट प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गरिरहेको छ।
यता बागबजारकै नाइन इन्स्टिच्युटले तयारी कक्षाका लागि आवश्यक शैक्षिक सामग्री पनि उपलब्ध गराउँछ। 'हामी प्रवेश परीक्षा तयारीका साथै अभिभावकत्व पनि प्रदान गर्छौं,' प्रबन्ध निर्देशक भट्टराईले भने- 'छात्राहरूको शैक्षिक क्षमताअनुसार कलेज छनौट, भर्ना जस्ता काममा सघाउँछौं।'
गीता रिजाल, प्रबन्ध निर्देशक
निमास एजुकेसन, बागबजार
विद्यार्थीको प्रतिस्पर्धा कस्ता शिक्षण संस्थामा हुने गरेको छ?
खासमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका शिक्षण संस्थाहरूमा विद्यार्थीको बढी प्रतिस्पर्धा छ। त्रिभुवन विश्वविद्यालयअन्र्तगत ६ वटा कलेजले सीमित सिटमा स्टाफ नर्सका लागि आवेदन माग्ने गरेका छन्। त्यसपछि वीर अस्पतालमा बढी चाप हुन्छ।
स्टाफ नर्स प्रवेश परीक्षाका लागि पूर्वतयारी कक्षाले कति सघाउ पुर्याउँछ?
स्टाफ नर्स, एचए, ल्याब टेक्निसिएन, डी फार्मेसीजस्ता कोर्स अध्ययनका लागि प्रवेश परीक्षा अनिवार्य छ। सीमित सिटमा धेरैले प्रतिस्पर्धा गर्ने भएकाले बिनातयारी नाम निकाल्न गाह्रो छ। सरल भाषामा भन्नुपर्दा एसएलसी परीक्षा उत्तीर्ण गर्न जति तयारी गर्नुपर्छ त्योभन्दा वढी स्टाफ नर्सका लागि गर्नुपर्छ। त्यसैले पूर्वतयारीबिना नाम निकाल्न त्यति सहज छैन।
पूर्वतयारी कक्षाअन्तर्गत के-कस्ता कुरा सिकाइन्छ?
पूर्वतयारी कक्षामा मेडिकल इन्ट्रान्स प्रिपरेसनअन्तर्गत स्टाफ नर्स, एचए, डी फार्मेसी, डेन्टल, रेडियोग्राफीजस्ता विषयमा सोधिने सम्भावित प्रश्नहरू हल गर्न सिकाइन्छ भने फिजिक्स, केमेस्ट्री, जुलोजी, बोटानी, म्याथ, हेल्थ, अंग्रेजी, जनरल नलेजका मल्टिपल च्वाइस प्रश्नको तयारी गराइन्छ।
कसरी सिकाइन्छ?
तयारी कक्षाका लागि पीपीटी तथा भिज्युअल प्रणालीबाट विद्यार्थीले बुझ्ने शैलीमा सिकाइन्छ। फलत: विद्यार्थीले सहज रूपमा मल्टिपल च्वाइस प्रश्न हल गर्न सक्छन्। प्रत्येक च्याप्टरपछि रिभाइज गराउने र प्रत्येक हप्ता मोडल एक्जाम लिइने भएकाले विद्यार्थीको पढाइमा थप निखार आउँछ।
यसबाट अपेक्षित उपलब्धि हासिल हुन्छ?
हाम्रा विगतका नतिजाहरू हेर्ने हो भने पूर्वतयारी कक्षाले राम्रो उपलब्धि हासिल भएको देखाउँछ।