अहिले 'यी आँखामा तिमी छौं ...' सबैको मुखमा झुन्डिएको गीत हो। 'मेरी ऋतु त धर्तीमा एक छे', 'ऋतु मलाई पनि तिम्रो आँखामा राखन त' प्रतिउत्तर 'अहँ राख्दिनँ आँखामा राख्यो भन्यो त आँसुले बगाइहाल्छ नि।' यो गीत र संवादले जो कोहीलाई पनि भावुक तुल्याउँछ। निकै आशा र भरोसा गरिएको चलचित्र 'नाइँ नभन्नु ल-२' को गीत र संवाद हो यो। यसमा अभिनय गर्ने बालकलाकार हुन्— अनुभव रेग्मी। चलचित्र 'भिजागर्ल'बाट अभिनय यात्रा प्रारम्भ गरेका रेग्मी काठमाडौंस्थित काविएल स्कुलमा कक्षा-१ मा अध्ययनरत छन्। २०६४ मा जन्मिएका अनुभवले भिजागर्ल, रिदम, काली आदिमा अभिनय गरेका छन्। चलचित्रका अतिरिक्त उनले रियोपुन्टे, सानिमा बैंक, शिवम् सिमेन्ट आदिका विज्ञापनमा पनि अभिनय गरिसकेका छन्। कलाकारितामा उनी नेपाली सलमान खानको उपमा पाउने ध्याउन्नमा छन्। रेग्मी चलचित्र 'रिदम'बाट डिसिने एवार्डको नोमिनेसनमा पनि परेका थिए। अभिनयका अतिरिक्त उनी अध्ययनमा पनि अब्बल छन्। अनुभव आफू अभिनयमा लाग्नुको श्रेय आफ्ना बुबालाई दिन्छन्। मान्छे सानो तर काम ठूलो गर्ने सोच बोकेका अनुभवद्वारा अभिनीत चलचित्र 'नाइँ नभन्नु ल-२' विकास आचार्यले निर्देशन गरेका हुन्। चैत २८ गतेदेखि प्रदर्शनमा आउने यही चलचित्रका विषयमा रेग्मीसँग सन्तोष राईको तीन प्रश्न : तपाईंले अभिनय गर्नुभएको चलचित्र 'नाइँ नभन्नु ल-२’ प्रदर्शन हुने तयारीमा छ, कस्तो महसुस भैरहेको छ ?
म त एकदमै 'एक्साइटेड' छु। सबैले तिम्रो अभिनय राम्रो छ भन्नुहुन्छ। मेरो स्कुलका शिक्षकहरू, साथीभाइ अनि मेरा आफन्तहरूले पनि प्रशंसा गरिरहनुभएको छ। मैले चलचित्रको प्रोमो हेरेको छु। साँच्चै राम्रो अभिनय गरेको छु भन्ने महसुस भैरहेको छ।
यो चलचित्रमा काम गर्दाको क्षण बताइदिनुहोस् न ?
विकास आचार्य अंकलले मलाई एकदमै सजिलो तरिकाले अभिनय गर्न सिकाउनुभयो। उहाँ मेरो गड फादर पनि हुनुहुन्छ। चलचित्रका अरू कलाकार तथा प्राविधिकहरूले पनि मलाई धेरै सहयोग गर्नुभयो त्यसले मलाई अभिनय गर्न सजिलो भयो। सुटिङकै समयमा प्रियंका कार्की मेरी गर्लफ्रेन्ड हुनुभएको छ र निशा अधिकारी पनि मेरी गर्लफ्रेन्ड हुन्। सुटिङको समयमा मलाई रमाइलो लाग्यो।
आमदर्शकलाई के भन्नुहुन्छ ?
म बालकलाकार हुँ। मलाई सबैले माया गरिदिनुहोस्। अनि .. म अब कलाक्षेत्रमै निरन्तर अघि बढ्नेछु। सबै दाजुभाइ तथा दिदी बहिनीहरूलाई एक पटक 'नाइँ नभन्नु ल-२' हेरिदिन अनुरोध गर्छु। तपाईंहरूको मायाले गर्दा विकास अंकलको अर्काे चलचित्रमा पनि अभिनय गर्ने तयारीमा छु।