सगरमाथा अञ्चलका ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा व्यवसायिक क्षेत्रको प्रचार-प्रसार एवं प्रवर्द्धनको उद्देश्यले चैत २४ देखि सिरहाको लाहानमा दोस्रो सगरमाथा महोत्सव हुने भएको छ। महोत्सवले लाहानदेखि चार किलोमिटर पश्चिम स्थित सलहेश फूलबारीको नववर्ष मेलालाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गर्ने भएको छ। महोत्सवमा सिरहाको घरेलु हस्तकला, मिथिला संस्कृति, स्थानीय रूपमा मनाइने पर्वहरूको प्रतीकात्मक स्वरूप, धुमरा तथा झिंझियालगायत स्थानीय नृत्यहरू प्रदर्शन गरिनेछ। त्यसैगरी महोत्सवमा सगरमाथा अञ्चलका सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी र उदयपुर जिल्लाका ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा व्यावसायिक क्षेत्रको प्रचार-प्रसार एवं स्थानीय उत्पादनहरू बिक्री गरिनेछ।