साप्ताहिक संवाददाता
एपेन्डिक्स क्यान्सरले थलिएका डा. चित्रप्रसाद वाग्लेको कात्तिक ७ गते युवाअवस्थामै निधन भयो। डा. वाग्लेले दुर्गम क्षेत्रको पहाडी जिल्ला अर्घाखाँचीमा १२ वर्ष चिकित्सकका रूपमा सेवा गरेका थिए।
पूर्वसभासद शिवराज गौतम
पूर्वसभासद शिवराज गौतमको कात्तिक १ गते निधन भयो। नेकपा (माओवादी) का केन्द्रीय सल्लाहकार एवं पूर्वसभासद गौतम रक्त क्यान्सरबाट पीडित थिए।
पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्याय
पूर्वप्रधानन्यायाधीश तथा २०४७ को संविधानका मस्यौदाकार विश्वनाथ उपाध्यायको यसै वर्ष निधन भयो। उपाध्यायलाई ८४ वर्षको उमेरमा मस्तिष्कघात भएको थियो।
कृषि वैज्ञानिक हुतराम वैद्य
फोक्सोको समस्याबाट पीडित नेपालका पहिलो कृषि वैज्ञानिक एवं बागमती बचाउ अभियानका अभियन्ता हुतराम वैद्यको पुस ९ गते ९४ वर्षको उमेरमा निधन भयो। मुलुककै पहिलो कृषि इन्जिनियरका रूपमा वैद्यले २०४७ सालबाट १४ वर्षसम्म कृषि विभागमा सेवा गरेका थिए।
कम्युनिस्ट नेता नरबहादुर कर्माचार्य
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक ८९ वर्षीय नरबहादुर कर्माचार्यको साउन ९ गते निधन भयो। २००६ साल वैशाख १० गते कर्माचार्यसहित पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य र नारायणविलास जोशीले भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए।
गोपालराज पहाडी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ६८ वर्षीय गोपालराज पहाडीको भदौ ३ गते निधन भयो। संखुवासभाको मादीराम्वेदीमा जन्मिएका पहाडी २०३२ सालदेखि राजनीतिमा सक्रिय थिए।
पूर्वप्रधान न्यायाधीश त्रिलोकप्रताप राणा
सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश त्रिलोकप्रताप राणाको ८१ वर्षको उमेरमा निधन भयो। राणा संवैधानिक कानुनका ज्ञाता थिए। २०५३ मा प्रधानन्यायाधीश भएका राणाले २०५४ भदौ ३१ मा उमेरका कारण अवकाश लिएका थिए।
पूर्वप्रहरी महानिरीक्षक डीबी लामा
नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) एवं पूर्व सहायकमन्त्री डीबी लामाको हृदयाघातका कारण ८५ वर्षको उमेरमा निधन भयो।
मरिचमान सिंह श्रेष्ठ
निरंकुश पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको साउन ३० गते निधन भयो । वि.संं. १९९७ मा सल्यानमा जन्मिएका श्रेष्ठले तत्कालीन पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायत सदस्यदेखि प्रधानमन्त्रीसम्मको यात्रा तय गरेका थिए ।
साहित्यकार कृष्णप्रसाद पराजुली
साहित्यकार कृष्णप्रसाद पराजुलीको ७९ वर्षको उमेरमा निधन भयो । पराजुलीका तीन दर्जन पुस्तक तथा साहित्यिक कृति प्रकाशित छन्।
साहित्यकार जगदीश घिमिरे
साहित्यकार जगदीश घिमिरेको कात्तिक १४ गते उपचारका क्रममा निधन भयो। वि.सं. २०२० सालदेखि साहित्ययात्रामा क्रियाशील घिमिरेले मदन पुरस्कार र उत्तम शान्ति पुरस्कारजस्ता महत्वपूर्ण पुरस्कारसमेत पाएका थिए।
वैज्ञानिक दयानन्द बज्राचार्य
दुई पटक नास्टमा उपकुलपति भैसकेका र त्रिभुवन विश्वविद्यालयका पूर्व रेक्टर एवं वैज्ञानिक दयानन्द बज्राचार्यले यो वर्ष विश्राम लिए। ६९ वर्षीय बज्राचार्य श्वासप्रश्वास रोगबाट ग्रसित थिए। उनले अँध्यारोमा एक काँटी सलाई, वैज्ञानिक गोरेटोमा र चेतनाको यात्रा गरी तीनवटा कृति समेत लेखेका थिए।
व्यवसायी लक्ष्मणबाबु श्रेष्ठ
नेपालमै पहिलो पटक गोरखामा मनकामना केबुलकार सञ्चालनमा ल्याएका व्यवसायी लक्ष्मणबाबु श्रेष्ठको फागुन २ गते निधन भयो। ७६ वर्षीय श्रेष्ठ मधुमेह तथा मृगौला रोगले पीडित थिए।
उद्यमी आत्माराम मुरारका
व्यावसायिक जगत्मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उद्यमी आत्माराम मुरारकाको पनि यसै वर्ष निधन भयो। नेपालमा सिमेन्ट, रङ, फलामे छड, विद्युतीय सामग्री, जलविद्युत्, बैंक तथा वित्तीय संस्था, खाद्य तथा चिया, वनस्पति घ्यू-तेल उद्योग आदिको विकास एवं विस्तारमा मुरारकाको महत्वपूर्ण योगदान छ।
उद्योगपति जगदीशप्रसाद राठी
विराटनगरका उद्योगपति जगदीशप्रसाद राठीको पुस २८ गते हृदयाघातबाट निधन भयो। बाग्मती ग्रुपका सञ्चालक ७० वर्षीय राठी मोरङ व्यापार संघका पूर्वअध्यक्ष पनि थिए।
गायक फत्तेमान राजभण्डारी
मर्न बरु गाह्रो हुन्न..., सान्नानीको गालैमा... जस्ता कालजयी गीतका गायक फत्तेमान राजभण्डारीको ७७ वर्षको उमेरमा भदौ २४ गते निधन भयो ।
चलचित्र निर्देशक शिव रेग्मी
चलचित्र निर्देशक शिव रेग्मीको ४९ वर्षको उमेरमा मंसिर २४ गते निधन भयो। चलचित्र आफन्तबाट निर्देशन सुरु गरेका रेग्मीले ए मेरो हजुर, आफ्नो मान्छे, सुखदुःख, हामी तीनभाइ, मुग्लान आदि चलिचत्र निर्देशन गरेका थिए।
गीतकार विनोद गौचन
गीतकार विनोद गौचनको ५८ वर्षको उमेरमा यसै वर्ष निधन भयो। जति माया लाए पनि जति कसम खाए पनि, तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले, कस्तो ठाउमा फुल्यौ तिमी टिप्नै गाह्रो भयो जस्ता लोकप्रिय गीतका सर्जक गौचनले साहित्यका अन्य विधामा पनि कलम चलाएका थिए।
संगीतकार सुन्दर थापा
संगीतकार सुन्दर थापाको ४१ वर्षको उमेरमा ग्वान्झाउमा निधन भएको छ। व्यापारको सिलसिलामा त्यहाँ रहँदै आएका थापा घाँटीको क्यान्सरबाट पीडित थिए।
गायक बुद्ध थापा
एक दशकदेखि मलेसियाको क्वालालम्पुरस्थित एउटा होटलमा गायिका पत्नी रोजी श्रेष्ठसंग गीत गाउँदै आएका ४७ वर्षीय गायक बुद्ध थापाको मृत्यु हृदयाघातका कारण भयो।
मेकअप म्यान साम्भा डी पाटेल
नेपाली चलचित्र क्षेत्रमा मेकअपको सुरुवात गर्ने मेक अप म्यान साम्भा डी पाटेलको यसै वर्ष निधन भयो। ६० वर्षीय पाटेल नसा रोगबाट पीडित थिए।
गायिका मन्जु महत
वर्षको अन्त्यमा चर्चित लोक गायिका मन्जु महतले संसार त्यागिन्। गीत रेकर्डिङका लागि स्टुडियो जाने क्रममा दुर्घटनामा परेकी मन्जुको उपचारका क्रममा निधन भएको थियो।