साप्ताहिक संवाददाता
वर्ष २०७० मा प्रदर्शन भएको एउटा चलचित्रले गरिमा पन्तको करियरको ग्राफलाई नै उचाइमा पुर्याइदियो। यादव भट्टराईद्वारा निर्देशित चलचित्र 'झोला' मा उत्कृष्ट अभिनय गरेर गरिमाले आफ्नो अभिनय क्षमता प्रमाणित मात्र गरिनन्, चुनौतीपूर्ण भूमिकालाई जीवन्त बनाएर चलचित्रकर्मीहरूको ध्यानसमेत आकषिर्त गरिन्। वर्ष २०७० मै उनले अभिनय गरेको चलचित्र 'पराई' पनि प्रदर्शनमा आयो। वर्षको अन्त्यमा उनको नयाँ चलचित्र 'मनले मनलाई छुन्छ' पनि प्रदर्शन हुँदैछ।
'झोला' बाट पाएको सफलतापछि गरिमाले थुप्रै चलचित्रबाट अभिनय प्रस्ताव पाइन्। यतिबेला उनी नयाँ चलचित्र 'ठूली' मा शीर्षक भूमिका निर्वाह गरिरहेकी छिन्।
केकी अधिकारी, नायिका
म्युजिक भिडियोकी स्थापित नायिका केकी अधिकारी यतिबेला चलचित्रकी हट केक भएकी छिन्। वर्ष २०७० मा केकीले अभिनय गरेको चलचित्र 'बितेका पल' व्यावसायिक रूपमा सफल भयो। यही वर्ष केकीले अभिनय गरेको चलचित्र 'महसुस' र 'मुटु' पनि प्रदर्शनमा आयो, तर सफल भएन।
'माई प्रमिस' उनको आगामी चलचित्र हो। यतिबेला उनी 'श्री ५ अम्बरे' मा व्यस्त छिन्। म्युजिक भिडियोलाई निरन्तरता दिइरहेकी केकी व्यवस्थापन संकायमा स्नातकोत्तर गरिरहेकी छिन्।
नीता ढुंगाना, नायिका
अघिल्लो वर्षको अन्त्यतिर प्रदर्शन भएको चलचित्र 'नोटबुक' को 'गाला रातै...' गीत लोकप्रिय भएपछि नायिका नीता ढुंगानालाई दर्शकले 'मार्क' गरेका थिए। बालकलाकारकै रूपमा चलचित्रमा पदार्पण गरेकी नीता म्युजिक भिडियोमा पनि व्यस्त रहन्छिन्। वर्ष २०७० मा नीतालाई चलचित्र 'छ एकान छ' ले माथि पुर्यायो। आधा दर्जन नायककी एक्ली नायिकाका रूपमा नीताले आफ्नो अभिनय क्षमता प्रमाणित गर्ने अवसर समेत पाइन्। दीपकराज गिरीदेखि सीताराम कट्टेलसम्मका हास्यकलाकारसँग अनस्क्रिन रोमान्स गर्दै नीताले दर्शकको मन जितिन्। छ एकान छको सफलतासँगै नीतालाई नयाँ-नयाँ चलचित्रबाट प्रस्ताव आउने क्रम जारी छ।
रेखा थापा, नायिका
'रेखा थापा नायिका भएको चलचित्रमा नायक को हो भनेर नसोध्नू' चलचित्र क्षेत्रमा यो वाक्य चर्चित छ। हुन पनि रेखा आफ्ना चलचित्रमा कुनै नायकभन्दा कम देखिन्नन्। विगत एक दशकयता थापाले नेपाली चलचित्रमा एकछत्र राज गरेकी छिन् भन्दा फरक पर्दैन। रेखाले अभिनय गरेका चलचित्र सफल पनि हुन्छन्। वर्ष २०७० मा रेखाले चलचित्र 'काली' मार्फत सफलता हासिल गरिन्। अभिनय, नृत्य तथा द्वन्द्वमा समेत पारंगत रेखाले 'काली' मा एक्सनलेडीको भूमिका निर्वाह गरेकी छिन्। वर्षको उत्तरार्द्धमा रेखाले आफ्नै ब्यानरमा नयाँ चलचित्र 'हिम्मतवाली' को निर्माण थालिन्। प्रारम्भमा श्याम भट्टराईले निर्देशन गर्ने भनिएको उक्त चलचित्र अन्ततः रेखाले नै निर्देशन गरिन्। वर्ष २०७१ मा उनी निर्देशकका रूपमा समेत प्रस्तुत हुनेछिन्। उनले अभिनय गरेको चलचित्र 'दमदार' पनि वर्ष २०७१ मै प्रदर्शन हुनेछ।
प्रियंका कार्की, नायिका
नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्र 'झोले' वर्ष २०७० का सफल चलचित्रहरूमध्ये एक हो। उक्त चलचित्रमा प्रियंकाको अभिनयलाई दर्शकले मन पराए। चलचित्रमा उनले नगरबधुको भूमिका निर्वाह गरेकी छिन्। चलचित्रका लागि प्रियंकाले केही समय ठमेल क्षेत्रको स्थलगत अध्ययनसमेत गरेकी थिइन्। अघिल्लो वर्ष प्रदर्शन भएको चलचित्र 'भिजिलान्ते' बाट समेत प्रशंसा पाएकी प्रियंकाले 'थ्री लभर्स' तथा 'कलिउड' मा पनि अभिनय गरेकी थिइन्। ती चलचित्र व्यावसायिक रूपमा असफल भएका थिए। उनले डेब्यु गरेको चलचित्र 'मेरो बेस्ट फ्रेन्ड' का साथै सुन्तली, आवरण र श्री ५ अम्बरे वर्ष २०७१ मा प्रदर्शन हुँदैछन् ।
नम्र्रता श्रेष्ठ, नायिका
यो वर्ष नायिका नम्रता श्रेष्ठले अभिनय गरेका दुई चलचित्र 'मौन' तथा 'मेघा' प्रदर्शन भए। दुवै चलचित्रमा नम्रता केन्द्रीय भूमिकामा प्रस्तुत भएकी थिइन्। मौनमा उनले बोल्न र सुन्न नसक्ने चुनौतीपूर्ण चरित्र निर्वाह गरेकी थिइन्। व्यावसायिक रूपमा औसत सावित उक्त चलचित्रबाट नम्रताले प्रशस्त पाइन्। सम्झना उप्रेती रौनियारको चलचित्र 'मेघा' मा उनी दुई नायकसँग प्रस्तुत भएकी थिइन्। यतिबेला उनी आर्यन सिग्देलको नयाँ चलचित्र 'नोभेम्बर रेन' बाट आशावादी छिन्, जुन आगामी वैशाख १२ गते प्रदर्शनमा आउँदैछ। ताण्डब र जिन्दाबाद उनका नयाँ चलचित्र हुन् ।
निशा अधिकारी, नायिका
वर्ष २०७० को प्रारम्भमै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नायिका निशा अधिकारीले नौलो कीर्तिमान कायम गरिन्। सगरमाथा आरोहण तयारीकै लागि उनले केही महिना चलचित्रमा काम गरिनन्। सगरमाथाको सफल आरोहण गर्नुअघि उनले अभिनय गरेको चलचित्र 'सुनभागा' प्रदर्शन भएको थियो। आरोहणपछि निशाले अभिनय गरेको चलचित्र 'भीमदत्त' च्यारिटी शोमार्फत दर्शकमाझ आइसकेको छ। व्यावसायिक प्रदर्शन हुन बाँकी नवल खड्काको उक्त चलचित्रमा निशा अनुसन्धानकर्ताको भूमिका निर्वाह गरेकी छिन्। वर्ष २०७० को उत्तरार्द्धमा निशाले बंगाली चलचित्रमा समेत अनुबन्धित भइन्। वर्ष २०७१ मा प्रदर्शन हुने चलचित्र 'मुखौटा' मा समेत उनी प्रभावकारी भूमिकामा प्रस्तुत भएकी छिन्। 'मेरो बेस्ट फ्रेन्ड' तथा 'मेरो भ्यालेन्टाइन' उनका आगामी चलचित्र हुन्। यही वर्ष प्रदर्शन भएको निशाको चलचित्र 'पद्मिनी' भने व्यावसायिक रूपमा असफल भएको थियो।
सम्झना उप्रेती रौनियार, निर्देशक
वर्ष २०७० मा महिला निर्देशकका रूपमा सम्झना उप्रेती रौनियारले राम्रो चर्चा पाइन्। उनले निर्देशन गरेको पहिलो चलचित्र 'मेघा' विषयवस्तु, अभिनय तथा सांगीतिक रूपले उत्कृष्ट सावित भयो। नारीप्रधान यो चलचित्रमार्फत सम्झनाले सहरका आधुनिक दम्पतीको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेकी थिइन्। चलचित्र राम्रो बन्दाबन्दै पनि व्यावसायिक रूपमा असफल हुँदा सम्झनालाई दुःख लागेको हुनुपर्छ, तर उनले हिम्मत भने हारेकी छैनन्। आगामी वर्ष अझ आकर्षक विषयमा चलचित्र निर्देशन गर्ने उनको योजनालाई सलाम गर्नैपर्छ
जेनिशा केसी, नायिका
चैत महिनाको तेस्रो साता प्रदर्शनमा आएको चलचित्र 'आधी बाटो' की मुख्य नायिका हुन्— जेनिशा केसी। निकै कम चलचित्रमा देखा पर्ने जेनिशाले यही वर्ष अभिनय गरेको चलचित्र 'काले' प्रदर्शनको क्रममा छ। 'आधी बाटो' मा उनले बेलायतमा जन्मिएकी नेपाली मूलकी युवतीको भूमिका निर्वाह गरेकी छिन्। दर्शकले उनको अभिनय मन पराएका छन्। लामो समयपछि जेनिशाले व्यावसायिक रूपमा सफल चलचित्र पाएकोमा वर्ष २०७१ आफ्ना लागि सुखद हुने अपेक्षा गरेकी छिन्।
सुमिना घिमिरे, नायिका
वर्ष २०७० मा प्रदर्शन भएका केही चलचित्रमार्फत सुमिना घिमिरेले आफूलाई कामुक नायिकाका रूपमा प्रस्तुत गरिन्। सुमिना यो वर्ष 'नाइन ओक्लक', 'लभ फरेबर', 'स्टार', 'अप्रिल फूल' जस्ता चलचित्रमा देखा परिन्। विडम्बना के रह्यो भने तीमध्ये कुनै पनि चलचित्र सफल भएनन्। चलचित्र 'भीमदत्त' मा भीमदत्तकै श्रीमतीको भूमिका निर्वाह गरेकी सुमिना उक्त चलचित्रबाट आशावादी छिन्। यो चलचित्र वर्ष २०७१ मा व्यावसायिक प्रदर्शनमा आउनेछ।