साप्ताहिक संवाददाता
मेरो प्रयास
गायक तथा संगीतकार टीबी पाखि्रनका आधुनिक गीतहरूको एल्बम 'मेरो प्रयास' लाई राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलाले काठमाडौंमा सार्वजनिक गरे। पूर्वेली जुनतारा म्युजिकले आयोजना गरेको समारोहमा विमोचित एल्बमका दुईवटा गीतको म्युजिक भिडियोको प्रिमियर गरिएको थियो।
सुमन कुमारको नयाँ गायक सुमन कुमारको एल्बम
'बिहानी-२' का गीतहरू लोकप्रिय भैरहका छन्। उक्त एल्बमको एउटा गीत 'गल्ती गरेछु मैले...' को म्युजिक भिडियो यसै साता काठमाडौंमा प्रिमियर गरिएको छ। पत्रकार सम्मेलनमार्फत गरिएको प्रिमियर शोमा भिडियोका निर्देशक सुरज श्रेष्ठको प्रशंसा भयो। भिडियोमा केकी अधिकारी तथा सुवास थापाले अभिनय गरेका छन्। भिडियोमा दुर्घटनामा अशक्त भएका श्रीमान्लाई आफ्नै श्रीमतीले हेला गरेको प्रसंग प्रस्तुत गरिएको छ। बिहानी-२ मा पाँचवटा गीत संग्रहित छन्।
संगीतकारको निधन
पोखरेली संगीतकार सुन्दर थापाको चीनको गोन्जाओमा निधन भएको छ। कर्णदासको लोकप्रिय गीत 'पुरानो डुंगा...' का सर्जक संगीतकार थापाको घाँटीको क्यान्सरका कारण ४१ वर्षको उमेरमा निधन भएको हो। चलचित्र 'कैदी' का संगीतकार थापा 'नमुना', 'सुकृति', 'आशय' तथा 'साधना' शीर्षकका एकल एल्बमका संगीतकार पनि हुन्। संगीतकार थापाको अघिल्लो बिहीबार पोखरामा अन्तिम संस्कार गरिएको छ। उनी ब्यापारको सिलसिलामा लामो समयदेखि चीनमै थिए।
बेस्ट युथ भ्वाइस
सुशीला आर्ट एकेडेमीद्वारा सञ्चालित सांगीतिक प्रतिस्पर्धा बेस्ट युथ भ्वाइस सम्पन्न भएको छ। गत साता काठमाडौंको रसियन कल्चर सेन्टरमा उक्त प्रतिस्पर्धा सम्पन्न भएको घोषणा गरिएको हो। रसियन नृत्यबाट प्रारम्भ भएको उक्त सांगीतिक कार्यक्रममा अन्तिम स्पर्धामा छानिएका गायक अजनब मानन्धर, गायक सुमन परियार तथा गायिका विमला नेपालीले विभिन्न गीत गाएका थिए। उक्त अवसरमा श्रीति प्रधान, आस्मा राई, उपमा पण्डित, बन्दना अधिकारी, सिर्जना कार्की, नरबहादुर गुरुङ तथा रुशा रिजालले पनि विभिन्न गीत सुनाएर कार्यक्रमलाई मनोरञ्जक बनाएका थिए।
ब्रबिमको सेबारो
किराँत भाषाका गीतमात्र गाइरहेका गायक ब्रबिम सेर्माले पहिलो पटक गाएका नेपाली गीतहरूको एल्बम 'ब्रबिमको सेबारो' किराँती धर्म गुरु आत्मानन्द लिङ्देलले इलामको लाराम्बामा सार्वजनिक गरेका छन्। लिङ्देन गायक सेर्माका धर्म गुरु पनि हुन्। विमोचित एल्बममा डिल्लीविक्रम सेर्मा तथा ब्रबिम सेर्माद्वारा संगीतबद्ध सातवटा गीत समावेश छन्।
स्व. गायिकाको सम्झना
मोटरसाइकल दुर्घटनामा जीवन गुमाएकी गायिका स्व. मञ्जु महतको निधन भएको १३ औं दिनको पुण्य तिथिमा काठमाडौंमा शोकसभा सम्पन्न भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिले हिजो बिहिबार काठमाडौंमा आयोजना गरेको शोकसभामा लोक संगीतकर्मीहरूले स्व. महतको स्मरण गरेका थिए। स्व. महत प्रतिष्ठानकी प्रथम उपाध्यक्षसमेत थिइन्।