नयाँ वर्षको पूर्वसन्ध्यामा झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने धिमालहरू आफ्नो मुख्य चाड जात्री पर्व मनाउने तयारीमा छन्। हरेक वर्षको वैशाख २ गते धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्रीपर्व मनाइन्छ। ग्रामथानमा हाँस, कुखुरा, सुँगुर आदिको बलि दिएपछि जात्री पर्व प्रारम्भ हुन्छ। भोगटेनीबाट सुरु भएपछि धिमाल बस्तीका टोलटोलमा यो पर्व पुग्छ। प्रकृतिपूजक धिमालहरू रोगव्याधी नलागोस्, बालीबिरुवा लगाउने बेला वर्षा होस्, जंगली जनावरले दुःख नदिऊन् भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्छन्।