व्यक्तिगत तह
समाज बदल्ने हो भने हरेक व्यक्तिमा सकारात्मक भावना आउनु आवश्यक छ। हरेक नागरिकको सोच स्वच्छ एवं परोपकारी हुनु अपरिहार्य छ। स-साना कुरा गरेर पनि समाजमा ठूलो परिवर्तन ल्याउन सकिन्छ। ट्राफिक नियम प्रहरीका लागि होइन, हाम्रै सुरक्षाका लागि हो भन्ने कुरा मनन गरी त्यसको इमान्दारितापूर्वक पालन गर्न सकिन्छ, जथाभावी फोहर नगर्न सकिन्छ, ऊर्जाको दुरुपयोग रोक्न सकिन्छ, झूट नबोल्न सकिन्छ, भ्रष्टाचार नगर्न र नगराउन सकिन्छ, वृक्षारोपण गरेर वा समाजसेवा गरेर जन्मदिन मनाउन सकिन्छ, राम्रो अध्ययन गरेर आत्मनिर्भर नभै परिवारलाई निजी सवारी साधनलगायतका अन्य सुविधाका लागि बाध्य नबनाउन सकिन्छ, स्वस्थ रहने कर्म गर्न सकिन्छ। अरूलाई देखाउन होइन, आफैप्रति इमान्दार रहुँदै आत्मशुद्धीकरण गर्न सकिन्छ, जसले हाम्रो समग्र जीवनमै सकारात्मक प्रभाव पार्छ। हामी विद्यार्थी, शिक्षक, डाक्टर, नेता, कर्मचारी, प्रहरी, खेलाडी जे-जे हो त्यो-त्यो कर्म इमान्दिारितापूर्वक गर्न सक्छौं र केही नभए पनि इमान्दार नागरिक र मानिस भएर पनि योगदान दिन सक्छौ। हरेक मानिसमा आत्मजागरण र चेतना आए मात्र परिवर्तन सम्भव छ। प्रत्येक नागरिकले विदेश जाँदा राजदूतको भूमिका निर्वाह गर्न र पर्यटनको प्रचारप्रसार गर्नसक्छन्। विरोधका सिर्जनात्मक विकल्पहरू सोच्नुपर्छ। सार्वजनिक सम्पति र धरोहरको रक्षा गर्नु हामी सबैको कर्तव्य हो र हाम्रो व्यवहारले नै वर्तमान नेपालको सभ्यताको परिचय दिन्छ।
पारिवारिक तह
हामीले सानैदेखि जे सिक्दै गयौं त्यस्तै हुँदै जान्छौं। हामी परिवारभित्र एउटा आचारसहिंता बनाउन सक्छौं र त्यही अनुसार व्यवहार चलाउन सक्छौं र घरपरिवारलाई अनुशासित एवं मर्यादित बनाउन सक्छौं। हामी छोराछोरीलाई समान अवसर दिएर विना भेदभाव हुर्काउन सक्छौ। सानैदेखि छोराछोरीलाई समानखालका काम गर्न सिकाइ, समान व्यवहार देखाएर दुवै बराबर हुन भन्ने भावना विकसित गराउन सक्छौं जसले एउटा चरणमा पुगेर समतामूलक समाज निर्माण गर्नेछ। सानैदेखि नैतिक शिक्षा सिकाउने, दान एवं परोपकारको महत्त्व बताउने, सीप सिकाउने, श्रम गर्न सिकाउने, पढेर जागिरमात्र खाने होइन उद्यमशील पनि बन्नुपर्छ र कुनै काम सानो ठूलो हुँदैन भन्ने कुरा सिकाउने, ठूलो होइन असल मानिस बन्न प्रेरित गर्ने, सबै जात, धर्मका मानिस समान हुन् भनी सिकाउने जसले ठूलो चेतना र मानसिक क्रान्ति ल्याउन सहयोग पुर्याउँछ। आफ्ना छोराछोरीलाई रोजेको विषय र क्षेत्रमै अघि बढ्न दिनुपर्छ, जसले उनीहरूको वृत्तिविकास हुन्छ र जुन क्षेत्रमा लागे पनि असल र इमान्दार हुन सिकाउँछ। छोराछोरीले पनि अध्ययन चलुन्जेल र आत्मनिर्भर नहुन्जेल अभिभावकको मार्गनिर्देशनको पालना गर्नु हितकर हुन्छ। निश्चित उमेर र शिक्षाको मापदण्ड निर्धारण गरेर जुनसुकै जात र धर्मको जीवनसाथी रोज्ने स्वतन्त्रता दिनुपर्छ र छोराछोरीको चाहनाको पनि उचित सम्मान गरी असल व्यवहार देखाउनुपर्छ। त्यसैगरी परिवारमा मनमुटाव हुन नदिन एक-अर्काको कुरा काट्नुको साटो आपसी छलफल गरी समस्या हल गर्नाले परिवार र समाजमा उत्पन्न हुने द्वन्द कम मात्र हुँदैन, मेलमिलाप र एकताको वातावरण पनि सिर्जना हुन्छ।
सामाजिक तह
जबसम्म हाम्रो मनमा हामी नेपाली बाहेक केही होइनौं, मानवताबाहेक हाम्रो अर्को धर्म छैन र मानिसबाहेक हाम्रो जात छैन भन्ने कुरा स्थापित हुन सक्दैन, तबसम्म हामी अघि बढ्न सक्दैनौं। व्यक्तिगत क्षमताका आधारमा सबैलाई समाज र राज्यका हरेक तहतप्कामा समान अवसर दिने संयन्त्र तयार गर्न सके मात्र समतामूलक समाज निर्माण हुनेछ। सामाजिक एकता, युवाहरूमा सकारात्मक सोच एवं राष्ट्रियताको भावना नभएसम्म देश विकासको कल्पना गर्न सकिँदैन। सामाजिक चालचलन र व्यवहारमा हुने तडकभडक रोक्न सके वा न्यूनीकरणमात्र गर्न सकेपनि ठूलो सामाजिक परिवर्तन सम्भव छ। विवाहगर्दा दाइजो लिनुदिनु निकृष्ट काम हो भनेर लज्जावोध गर्न सक्नुपर्छ, बरु त्यसको साटो शिक्षित र योग्य वरवधूको अपेक्षा राख्नु राम्रो हो। समाजमा उत्पन्न भएका समस्याहरूमा सामूहिक छलफल गरी त्यसको हल गर्ने तथा अन्य कामका लागि समेत सामाजिक सुधार समितिजस्ता संयन्त्र बनाइयो भने कसैले बोक्सीको आरोप पनि भोग्नु पर्दैन।
राष्ट्रिय तह
यो देश नेताले बिगारे भनेर सबैले दिनरात सरापेको सुनिन्छ, तर त्यस्ता नेताहरूलाई पाखा लगाउन चाहिँ हामी जनताले कति प्रयत्न गर्यौं त ? काम नगर्ने नेतृत्व किन फेरेनौं त ? नेतालाई दण्डित गर्ने, फेर्ने र सुधार्ने पनि हामी जनताकै काम हो जसका लागि विवेकको बिर्को बन्द गर्नुहुँदैन। यो देशमा किन स्वतस्फूर्त रूपमा उपभोक्ता आन्दोलन हुँदैन ? हामी किन सधंै दलको झन्डा मुनि मात्र आन्दोलन गर्छौ ? के हामी आफैं जागरूक हुनु आवश्यक छैन। दादागिरीको भरमा नेपाल बन्द भैरहँदा हामी किन सहन्छौं ? खाद्यान्न र इन्धनको मूल्य बढ्दा उपभोक्ताहरू स्वतन्त्र रूपमा किन एकजुट भै आन्दोलित हुँदैनन् ? नेताहरूले उचाले उचालिन्छौं, बसाले थेच्चारिन्छौं अनि नेताले देश बिगारे भन्नुको के अर्थ ? हामीले अब सबैभन्दा पहिले राजनीतिक दलको नेता बन्न चाहिने न्यूनतम मापदण्ड बनाउनु आवश्यक छ। त्यसमा पनि सांसद र मन्त्री बन्न चाहिने शैक्षिक योग्यता र अन्य गुणहरूका बारेमा खाका तयार गरी विस्तारै राजनीतिलाई शिक्षित र चरित्रवान्हरूको हातमा पुर्याउनुपर्छ। आज सुरु गरे केही वर्षमा सकारात्मक परिवर्तन आउनेछ। सरकारी छात्रवृतिमा अध्ययन गरेका चिकित्सक एवं अन्य जनशक्तिलाई अनिवार्य रूपमा कडाइका साथ देशसेवामा लगाउने र केही वर्ष ग्रामीण क्षेत्रमा काम गर्नैपर्ने संयन्त्र बनाउनु आवश्यक छ।
कहाँ-कहाँ छ अवसर ?
कृषि
कृषि एकदमै सम्भावना भएको क्षेत्र हो। यसमा युवाहरूले क्रान्ति नै ल्याउन सक्छन् तर यसमा हुनुपर्ने जति आकर्षण देखिँदैन। अब पढेका र परेका दुवै थरी युवा कृषि कर्ममा जुट्नुपर्छ। नेपालका बहुसंख्यक मानिसको मुख्य पेसा कृषि हो। देशको दुईतिहाइभन्दा बढी जनसंख्या कृषिमा संलग्न भए पनि खाद्यान्न अभाव बढ्दै गएको छ। पछिल्लो समय अन्न मात्र होइन अरू खाद्यवस्तुमा पनि परनिर्भरता बढ्दै छ। अहिले मासु, वनस्पति घिउ, तेलहन, तरकारी, दाल तथा फलफूलजस्ता खाद्यवस्तुको आयात उच्च छ। खाद्यवस्तुमा मात्र ८० अर्बभन्दा बढीको व्यापार घाटा छ। नेपालको निर्यात खाद्यवस्तु आयातको तुलनामा २० प्रतिशत पनि छैन।
त्यसैले यो एकदम सुरक्षित क्षेत्र हो जसको बजार र नाफा दुवै सुरक्षित छ। खेतवारीमा फलाउनेदेखि लिएर बजारीकरणसम्म नै पढेका र परेका युवाहरूको सञ्जाल बनाई साझेदारीको अवधारणामा काम गर्न सके न कोही खाडी जान आवश्यक छ, न अन्त नै। सबैमा जित-जितको भावना आउँछ र आफ्नो कर्मप्रति गौरव गर्ने वातावरण पनि बन्छ। यसले लाखौं युवालाई देशमै रोक्न सक्छ। यसका लागि पढेका युवाहरूले नयाँ प्रविधि र ज्ञान लगाउने अनि श्रम गर्न सक्ने युवाले यही श्रम गर्ने अवधारणामा संयुक्त लगानी गर्न सकिन्छ। यसले उद्यमशीलता बढ्न गै रोजगारीसमेत बढ्छ र कृषिमा हामी आत्मनिर्भर पनि हुन सक्छौं।
खेलकुद
नेपालमा खेलकुदमा लाग्यो भने घर परिवार र समाजले नै छोराछोरी बिगि्रएको मान्छ। त्यस्तो सोच्नुको एउटै आधार छ-खेलकुदमा लागेर भविष्य सुनिश्चित छैन। हालै विश्वकप क्रिकेटमा नेपालको सहभागिताले अवसर र उचित व्यवस्थापन हुने हो भने युवाहरूले देशका निम्ति केही गर्न सक्छन् भन्ने कुरा देखाएका छन्। यसका लागि राज्यले सबै खेलका खेलाडीलाई खेल्ने मैदान, अन्य पूर्वाधारलगायत आवश्यक सुविधा उपलब्ध गराउनुपर्यो, जसले उनीहरूको भविष्यको सुनिश्चितता गर्न सक्नुपर्छ। राम्रा खेलाडी उत्पादन गर्ने हो भने प्रतिभा भएका खेलाडीलाई सानैदेखि उनीहरूको वृत्तिविकास र शिक्षाको जिम्मा लिई निर्धक्कसँग खेल्ने वातावरण निर्माण गर्नुपर्छ। राष्ट्रिय खेलाडीको हकमा तलब सुविधाका साथै पेन्सनको पनि व्यवस्था गरिनुपर्छ। खेलकुदले देशको नाम फैलाउनेदेखि लिएर पर्यटनमा पनि उत्तिकै सहयोग पुर्याउँछ भने देशलाई नै एकताबद्ध गरेर राख्छ। पारस खडका, दीपक विष्ट, संगीना वैद्य जस्ता खेलाडीहरू प्रत्येक वर्ष जन्मन सक्छन् र हाम्रा खेलाडीहरूले अन्त गएर खेलेर पनि कमाउने वातावरण बन्न सक्छ। यसले युवाहरूलाई अवसर त दिन्छ नै राष्ट्रप्रति प्रेम र दायित्ववोध पनि गराउँछ।
पर्यटन
युवाहरूका लागि अर्को अवसर पर्यटनमा पनि छ। आफ्नो ठाउँ र योग्यताअनुरूप आन्तरिक एवं बाह्य पर्यटनमा लगानी गर्न सकिन्छ। देशको भौगोलिक, सांस्कृतिकजस्ता अनेकन विशेषता उजागर गराउन सके नेपालको पहिचान त जोगिन्छ नै, पर्याप्त पैसा पनि कमाउन सकिन्छ। आफ्नै गाउँमा थोरै लगानी गरेर पनि पर्यटन व्यवसाय प्रारम्भ गर्न सकिन्छ। गाउँका स्थानीय खानेकुरा ख्वाउन सकिन्छ, संस्कृति, नाचगान आदि प्रदर्शन गरी पर्यटकहरूलाई आकषिर्त गर्न सकिन्छ। कम्तीमा हप्ताको एकदिन भए पनि नजिकका गाउँठाऊँ डुल्ने परम्परा बसाल्न सकिए पनि धेरैले रोजगारी प्राप्त गर्न सक्छन्। केवल सोच र कार्यान्वयनको खाँचो छ।
उद्यमशीलताका अन्य क्षेत्र
ठूलो लगानी गर्ने हैसियत युवाहरूमा हुँदैन र सुरुमै बैक एवं परिवारले विश्वास गर्न पनि गार्हो हुन्छ। यसका लागि युवाहरूको समूह बनाई पुँजी संकलन गरी उद्यम थाल्न सकिन्छ। चाहे चियापसल वा मम पसल नै किन नहोस्। विस्तारै काम विस्तार हुँदै गएपछि बैकहरूले पनि परियोजनाको सम्भाव्यता हेरी लगानी गरिदिन सक्छन् जसका लागि नेपाल राष्ट्र बैकले उचित नीति ल्याएर युवाहरूलाई प्रोत्साहित गर्न सक्छ। यसरी काम गर्दा जोखिम कम भएर व्यवस्थापन पनि राम्रो हुन्छ। यस्ता व्यवसायमा युवाहरूलाई अल्पकालीन रोजगारीको व्यवस्था गरी उनीहरूको सदुपयोग र प्रोत्साहन गर्न सकिन्छ। समाज र देशका लागि आवश्यक वाइरिङ, प्लम्बिङ, मेकानिकजस्ता सीप सिकेर युवाहरू एकजुट भै कार्यालय खोली आवश्यक क्षेत्रमा त्यसको व्यवस्थापन गरी रोजगारसहित व्यवसायी पनि बन्न सकिन्छ। युवाहरूले आईटीलगायत अन्य सेवामूलक काममा पनि एकजुट भै काम गर्न सक्छन् जसको विस्तार र व्यापार अन्तराष्ट्रिय रूपमै गर्न सकिन्छ। त्यसैगरी कला र मनोरञ्जनको क्षेत्रमा पनि धेरै युवाको आकर्षण छ।
हामीले के बुझ्नुपर्छ भने यो देश राजनीतिक खिचातानी र अव्यवस्थाले गर्दा थिलथिलो भएको कुरा सत्य हो, तर जहाँ हिलो हुन्छ त्यही कमल पनि फुल्छ। जहाँ समस्या हुन्छ त्यहीँ अपार सम्भावना पनि हुन्छ। खाँचो केवल व्यवस्थापनको हो। जहाँ गए पनि चुनौती त जिन्दगीका हरेक मोडमा हुन्छ। हार्ने र जित्ने, सफल र असफल हुने सम्भावना जहाँ र जहिले पनि बराबर हुन्छ। नेताले बनाएर मात्र यो देश बन्छ भनेर कुर्नु हुँदैन। असल नेता जन्माउने दायित्व पनि हाम्रै हो र खराव नेता फेर्ने पनि हामीले नै हो। राज्यबाट जागिर पाइएन भनेर निराश हुनुको साटो आफ्नै पौरखमा के गर्न सकिन्छ भनेर सोचौं र अघि बढौं, जसले गर्दा राज्य नै हाम्रो सोचसामु झुकोस्। जनता जागरुक, चेतनशील, नैतिकवान, शिक्षित एवं आशावादी भए भने नेता पनि त्यस्तै निस्कन्छन् र राज्य पनि विस्तारै त्यस्तै बन्छ। यो वर्ष सकारात्मक र सिर्जनात्मक तरिकाले अघि बढ्न सकौं, आगामी वर्षहरूदेखि हामी बिस्तारै हिँड्न र दौडन पनि सक्छौं। व्यक्ति, घरपरिवार, समाज अनि राष्ट्र नै जाग्न सक्यो भने क्रान्ति सम्भव छ- नयाँ वर्षको सबैलाई शुभकामना।