साप्ताहिक संवाददाता
पोखरामा नेवाः खलःले मिस नेवाः पोखरालाई यो वर्ष पनि निरन्तरता दियो भने थकाली युवतीहरूमा केन्दि्रत मिस थकालीमा २२ वर्षीया अश्विनी थकालीले पहिलो मिस थकालीको उपाधि जितिन्। नेपाल दलित समाज कल्याण संघले आयोजना गरेको पहिलो मिस दलितमा तानसेन, पाल्पाकी रोशन गजमेर विजेता भइन्। यसैगरी पोखरामा सम्पन्न पहिलो मिस सुनार नेपालमा प्रतीक्षा सुनार विजयी भइन्। यही क्रममा बुटवलमा मिस, मिसेज् एन्ड थर्ड जेन्डर तीज कम्पिटिसन, वीरगन्ज तथा पोखरामा मिसेज तीज-२०७० जस्ता प्रतियोगिताहरू भए।
काठमाडौं जेसिसले मिस टिन नेपाललाई निरन्तरता दियो भने राजधानीमै द फेसन प्लसको 'मिस टिन-२०१३' शीर्षकमा अर्को मिस टिन प्रतियोगिता सञ्चालन भयो। यो वर्ष नेप्लिज काउन्सिलले मिस टिन नेपाल पेजेन्ट र सिजन मिडियाले मिस टिन कलेजको शुभारम्भ गर्यो। राजधानीमै ई-प्लानेट नेपालले मिस टिन युनिभर्स नेपाल-२०१३ लाई सञ्चालनमा ल्यायो। चितवनमा मिस टिन चितवनको थालनी भयो।
यो वर्ष काठमाडौंमा ग्रान्ड ब्युटी पेजेन्ट, मिस डिभा नेपाल, सुपर मोडल इन्टरनेसनल नेपाल, मिस नर्स नेपाल सञ्चालनमा आए भने मोफसलमा मिस डायनामिक, मिस बुटवल, मिस गण्डकी, मिस वीरगन्ज, मिस चितवन, मिस नवलपरासी, मिस पोखराजस्ता कार्यक्रमहरू सम्पन्न भए।
टिन सुन्दरी र वयस्क सुन्दरीसँगै मिस्टरहरूको प्रतियोगिताले पनि वर्ष-२०७० लाई प्रतियोगितामय बनाउन मद्दत गर्यो। मिस्टर एन्ड मिस उर्लाबारी, मिस्टर एन्ड मिस भ्यालेन्टाइन, मिस्टर एन्ड मिस फोटोजेनिक धरानजस्ता कार्यक्रममा पुरुष प्रतियोगीहरूले पनि स्थान पाए। त्यसैगरी राजधानीमा सम्पन्न द कलेज एम्बेसडर, प्लस टु करिज्मा प्रतियोगितामा पनि पुरुष प्रतिस्पर्धीको सहभागिता थियो। यो वर्ष पुरुष प्रतियोगीको मात्र सहभागिता रहेको प्रतियोगिता 'म्यानहन्ट इन्टरनेसनल-२०१३' पनि सञ्चालनमा आयो। उक्त प्रतियोगितामा अनुप विक्रम शाही विजयी भए। राजधानीमै ई-फोर इन्टरटेनमेन्टले मिस्टर क्यापिटल शीर्षकको कार्यक्रम प्रारम्भ गर्यो, जसमा मनीष न्यौपाने विजयी भए। उता झापाबाट मिस्टर राजवंशी प्रतियोगिताको थालनी भयो, जसमा खगेश्वर राजवंशी विजयी भए। पुरुष समलिङ्गीहरूमा केन्दि्रत पहिलो प्रतियोगिताका रूपमा मिस्टर ह्यान्डसम नेपाल-२०१३ पनि यही वर्ष सञ्चालनमा आयो। उक्त प्रतियोगितामा मकवानपु्र निवासी २४ वर्षीय विश्वराज अधिकारीले उपाधि जिते।
राजधानीमा ई-प्लानेटको आयोजनामा मिसेज युनिभर्स नेपाल, अमेजन इन्टरटेनमेन्टको आयोजनामा मिसेज् हिमालयन आइकन, अल नेपाल पब्लिकेसनको आयोजनामा मिसेस नेपाल आइकन सञ्चालन भयो भने पोखरामा इभेन्ट्स फोर युले मिसेस पोखरा-२०७० को आयोजना गर्यो। एसएलसी दिएर बसेका छात्राहरूमा केन्दि्रत प्रतियोगिताका रूपमा सिजन मिडियाको एसएलसी प्रिन्सेस तथा वन्दना कला केन्द्रको मिस एसएलसी प्रतियोगितासँगै यो वर्ष द फेसन प्लसले मिस एसएलसी नेपालको थालनी गर्यो। बनेपामा काभ्रे लेडिज ट्यालेन्ट शो, काठमाडौंमा मिस ई-कलेज, मिस इन्टरनेसनल नेपाल, मिस नेसनल क्विन, मिस ग्लोबल इन्टरनेसनल, मिस नेपाल आइकन, धरानमा मिस पूर्वाञ्चल र सुपर मोडल पूर्वाञ्चलजस्ता प्रतियोगिताहरूले निरन्तरता पाए। चितवनमा भने मिस चितवनसँगै मिस टिन चितवन, मिस अरोमा चितवन, मिस डिभा चितवनजस्ता कार्यक्रम प्रारम्भ भए।
प्रसंग बालप्रतिस्पर्धाको
काठमाडौं जेसिसले लिटिल लेडी ट्यालेन्ट शोलाई निरन्तरता दियो भने नेप्लिज फेसन होमले लिटिल मिस नेवाः, मास्टर स्टार तथा किड क्विन नेपाल प्रतियोगिताको पछिल्ला संस्करण प्रस्तुत गर्यो। बालबालिकासँग सम्बन्धित प्रतियोगिता आयोजनामा एक्सन इन्टरटेनमेन्ट, मिडिया ल्यान्ड, ई-फोर इन्टरटेनमेन्ट, ई-प्लानेट नेपाल, हिमालयन काष्ठमण्डप कल्चर ग्रुप, बेटर ग्यालेक्सी, ट्रेबल फेसन कन्सर्न, अल नेपाल पब्लिकेसन, र्याडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी, नेप्लिज काउन्सिल, सिजन मिडिया, काठमाडौं लेडी जेसिज आदि संस्थाहरू काठमाडौंमा सक्रिय रहे। जित हाम्रो, लुक्स फेसन होम, ग्ल्यामरस नेपाल डटकम आदि संस्था भने मोफसलमा बढी सक्रिय रहे।
प्रचारसम्बन्धी प्रतियोगिताहरू
कान्तिपुर पब्लिकेसनको लोकप्रिय प्रकाशन 'साप्ताहिक' को सहकार्यमा चर्चित सौन्दर्य प्रसाधन उत्पादन कम्पनी जोयले वर्ष 'साप्ताहिक जोय पपैया सन ग्ल्याम हन्ट-२०१३' को आयोजना गर्यो। उक्त प्रतियोगितामा अनिता आचार्य विजयी भइन्। उपाधिसँगै उनी एक वर्षका लागि जोय पपैया सन ब्रान्डको ब्रान्ड एम्बेसडर पनि बनिन्।
कस्मेटिक ब्रान्ड डभले आयोजना गरेको 'डिस्कभर रियल ब्युटी' प्रतियोगिताअन्तर्गत छनौट भएका २० देखि ३५ वर्ष उमेरका १२ जनालाई डभ क्यालेन्डर २०७० मा समावेश गरियो। आमा-छोरीको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ युनिलिभर नेपालको उत्पादन क्लिनिक प्लस स्याम्पुद्वारा आयोजित हेल्दी हेयर कन्टेस्टको पाँचौं संस्करण यही वर्ष सम्पन्न भयो। यसैगरी यो वर्ष लिरिल फ्रेस फेसको खोजी पनि भयो। उक्त प्रतियोगितामा आयुष्मा श्रेष्ठ विजयी भइन्।