कक्षाकोठामा छिर्दा कक्षाकोठा मानसिक अस्पतालजस्तो देखिन्थ्यो। टिचर आउँदा 'गुड मर्निङ सर' भनेर केटीहरू मात्र उठ्थे। केही केटाहरू अलिकति घुँडा खुम्च्याएर झोला हातमा लिँदै ५० प्रतिशत उठ्थे। दुई/तीन जना थिए, जो टिचर आउँदा उठ्नु वा सतर्क हुनु त परै जाओस्, टिचर क्लासमा बसुन्जेल 'भाडमा जाओस् यस्ता मास्टर' भन्ने दृष्टि टिचरको उपेक्षा गर्दै अश्लील र भद्दा शब्दहरूका साथ गफ गरिरहन्थे। तीमध्ये तीन जनाजति केटा थिए, जो कहिल्यै होमवर्क गर्दैनथें। बरु उनीहरू हरेक दिन कुटाइ खान तयार हुन्थे तर होमवर्क गर्नुलाई सबैभन्दा ठूलो सजाय मान्थे।
दिनदयालले एक वर्षसम्म यस्ता विद्यार्थी झेल्नु थियो। सबैभन्दा बढी नम्बर आउने विषय हिसाब। सयमा ९०, नभए पनि ८५ त उनका त्यसअघिका विद्यार्थीका कटेकै हुन्थ्यो। यसपालि रेकर्ड खराब हुने भो'— उनी आत्तिए। पटक-पटक प्रिन्सिपलसमक्ष कम्प्लेन गरे। प्रिन्सिपल एक दिन आएर गाली गरेर जान्थे केटाहरूलाई, भोलिपल्टदेखि उस्ताको उस्तै।
तिनै विद्यार्थीलाई पढाउन थालेको तीन महिनामा दिनदयालको तौल ६५ बाट ५८ मा झर्यो। एकदिन घरमा श्रीमतीसँग ठाकठुक परेर आएका दिनदयालको मुठभेट तिनै केटाहरूसँग भयो।
उनी जोमेट्रीको पाइथागोरस थ्योरम पढाइरहेका थिए। केटाहरूको अश्लील जोक सुरु भैसकेको थियो। घरमा श्रीमतीलाई हान्न मन लाग्दा लाग्दै हिम्मत नभएर छुटेको झापु तिनीहरूमध्येकै नाइकेले खायो। नाइके केटो पनि रन्थनिंदै दाहिने हातले कान छोप्दै दिनदयाललाई सरेआम अश्लील गाली गर्न थाल्यो। दिनदयाल लज्जित भएर क्लासबाटै निस्किए।
'भएन यसरी त !' एक मनले लाग्यो जागिरै छोडिदिउँ। मन त उनलाई बिहान घरबाट निस्कँदा स्वास्नी नै छोडिदिउँ जस्तो पनि लाग्या थियो तर मन लागेजति गर्ने कल्पनामा मात्र हो— यो उनले हिसाबभन्दा पनि राम्ररी बुझेका थिए। के गरी ठेगान लाग्छन् यी लम्फूहरू ? के सजाय दिनु ? उनी अन्यौलमा परे। धेरै सोचिसकेपछि उनले एउटा जुक्ति निकाले। कत्तिको काम गर्छ त्यो जुक्तिले उनलाई परीक्षण गर्न मन लाग्यो। भोलिपल्ट उनी कक्षामा गए। अघिल्लो दिनको उनको झापुले कक्षाकोठा केही शान्त अवश्य भएको थियो। दिनहरू बित्दै गए। केटाहरू उसैगरी आफ्नो औकातमा आउन थालिसकेका थिए। दिनदयाल उसैगरी हरेक दिन होमवर्क दिन्थे। केटाहरू उसैगरी त्यसो नगर्न बानी परिसकेका थिए।
यता दिनदयालले आफ्नो रुटिनमा भने एउटा बदलाव ल्याए। सधैं होमवर्क नगर्ने ती तीन जना केटालाई एक दिनदेखि उनले पिट्न छाडिदिए। बेन्च-बेन्चमा गएर सबैको होमवर्क चेक गर्थे तर तिनीहरूको बेन्चमा उनले वास्तै गर्न छाडिदिए। ती तीन जनाबाहेक अरूले होमवर्क नगरेको छ भने चैं उनी सजाय दिइहाल्थे। हल्ला गरेका छन् भने पनि ती चैं कारबाहीमा पर्थे। यसबीचमा एकचोटी क्लास टेस्ट पनि लिए। टेस्ट हुन्जेल क्लासमा ती तीनजना छाडेर सबैको निगरानी गरे। कापी पनि सबैको लिएर गए तर ती तीन जनाको लिएनन्। सधैं कुटाइ र गाली खान बानी परेका ती केटाहरूलाई दिनदयालको यस्तो गतिविधिले झस्कायो। अनेक तरहका विचार उनीहरूको मस्तिष्कमा आए। कक्षाबाट किनाराकृत गरिएकोमा मौन रूपमै लज्जित महसुस गरे।
तर त्यसमा उनीहरूको केही लाग्नेवाला थिएन। पढ्दा ध्यान नदिने तिनै थिए। हल्ला गर्ने तिनै थिए। परीक्षामा चिट चोर्ने तिनै थिए। होमवर्क नगर्ने तिनै थिए। मुख छाड्ने तिनै थिए। सबैथोक झन् खुल्ला रूपमा गर्न पाइरहेका थिए तर पनि किन हो, तिनीहरूलाई चित्त बुझेन। सबथोक एवनर्मलझैं लागे।
तीन जनामध्ये एउटाले एकदिन होमवर्क गरेर ल्यायो— दिनदयालले उसको होमवर्क हेरिदिएनन्। अर्को दिन अर्को पनि गरेर ल्यायो— दिनदयालले त्यो अर्कोको पनि होमवर्क हेरिदिएनन्। तीनै जनाले गरेर ल्याए— दिनदयालले कसैको होमवर्क हेरेनन्। उनी उसैगरी सधैं क्लासमा आएर पढाएर जान्थे, उनीहरूको वास्ता नगरिकनै। सबै कुरा आफूले चाहेबमोजिम छ, तर पनि केटाहरू खुसी देखिएनन्। केटाहरूलाई घोर अफसोच हुन थाल्यो। एकदिन दिनदयाल अफिसमा बसिरहेको बेलामा तीनै जना सँगै गए र हात जोड्दै माफी माग्न लागे, 'माफ पाउँ सर, हामीबाट ठूलो भूल भो। बरु पिट्नुस्। गाली गर्नुस् तर यसरी बेवास्ता नगनुस् सर, सरी।' तीनै जनाले कान समाते। घुँडा टेके। दिनदयाल मुसुमुसु हाँस्दै गद्गद भैरहेका थिए। गाली गर्नु, पिट्नुले त छालामा असर गर्ने न हो तर उनले जुन सजायको आविष्कार गरेका थिए, त्यसले उनीहरूको मनमा असर गरेको थियो।