२०७० लाई बिदाइ गर्दै ०७१ सालको स्वागतमा रहेका ताप्लेजुङवासीलाई झम्के गुलेलीका कमलीकान्त भेटवालसहितको टोलीले मनोरञ्जन मात्र प्रदान गरेन, पुरानो वर्षको अन्तिम छाप पनि राम्रै गरी छोड्यो । नेपाली सेनाको मैदानमा दर्शकहरू तीन घण्टासम्म नत थाके नत घामपानी र हावाको परवाह नै गरे । कमलीकान्तले गाइसक्दा आधा छानो त हावाले उडाइ सकेको थियो । भेटवालले कार्यक्रममा राष्ट्रिय पोसाकमा सजिएर भेडीगोठको राजधानी मानिएको ताप्लेजुङमा गोठ र खर्कका भाका सुनाएका थिए । द राइजिङ स्टार छनौट कार्यक्रममा आएका कलाकारको टोलीमा नायिकाद्वय ऋचासिंह ठकुरी र ङमा मोक्तानको नृत्य पनि आकर्षक रह्यो । गायक तथा संगीतकार ताराप्रकाश लिम्बू, गायक सचिन राई, पदम राई, दिनेश भारती आदिको प्रस्तुति पनि रोचक थियो । युवा पुस्ताको भीडमा वान्स मोर भन्दै आउने मागले कलाकारलाई मैदानबाट बाहिर निस्कन साँझ त पार्यो नै, उनीहरूसँगै उभिएर फोटो खिचाउने र अटो भराउनेहरूको लर्कोे पनि उत्तिकै थियो ।