साप्ताहिक संवाददाता
खेलकुदमा मात्र नभएर वर्ष २०७० कै सर्वाधिक चर्चित व्यक्ति रहे, पारस खड्का। क्रिकेटमा कप्तानको ठूलो भूमिका हुन्छ। कप्तान सबल नेता मात्र भएर पुग्दैन, उसको प्रदर्शन पनि उत्तिकै दरिलो हुनुपर्छ। न्युजिल्यान्डमा भएको वान डे विश्वकप छनोटमा नेपाल असफल हुनुका पछाडि पारस पूर्णतः फिट नरहनु ठूलो कारण थियो। ट्वान्टी-२० विश्वकपका क्रममा उनले अन्तर्राष्ट्रिय मिडियाको पनि ध्यान खिचे र धेरैले माने, पारस माथिल्लो दर्जाका खेलाडी हुन्। बंगलादेशमा उनको ब्याट र बल दुवै चल्यो। पारसको महत्त्वकाक्षा छ, कुनै दिन समग्र नेपाली क्रिकेटकै नेतृत्व लिने।
सुभाष खकुरेल (क्रिकेट)
नेपाली राष्ट्रिय क्रिकेट टिमका लागि विकेटकिपरसँगै प्रारम्भिक ब्याट्सम्यानका रूपमा सुभाष खकुरेल दुई महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। खकुरेलले ट्वान्टी-२० विश्वकपमा अफगानिस्तानविरुद्धको खेलमा अर्धशतक बनाए। त्यसक्रममा उनी अन्तर्राष्ट्रिय मान्यताप्राप्त माथिल्लो दर्जाको क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याट्सम्यान बने। अफगानिस्तानविरुद्ध ५६ रनको उक्त इनिङ्सले टिमको जितको आधार तयार पारेको थियो।
शरद भेषवाकर (क्रिकेट)
हङकङविरुद्ध शरद भेषवाकरको चौकासँगै नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट भएको थियो। उनी बंगलादेशमा नेपालका लागि सर्वाधिक ९१ रन बनाउने ब्याट्सम्यान हुन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले निकालेको ट्वान्टी-२० क्रिकेटका उत्कृष्ट सय ब्याट्सम्यानको वरियता सूचीमा शरद पनि परे। ट्वान्टी-२० छनोटका अधिकांश खेलका निर्णायक मोडमा नेपाललाई जिताउने काम शरदले नै गरेका थिए।
शक्ति गौचन (क्रिकेट)
ट्वान्टी-२० विश्वकपमा शक्ति गौचन नेपालका त्यस्ता पहिलो खेलाडी भए, जसले 'म्यान अफ द म्याच' एवार्ड पायो। उनले यो उपलब्धि हङकङविरुद्ध हात पारेका हुन्। उनको ९ रनमा ३ विकेटको प्रदर्शनले हङकङ नाटकीय पतनको सिकार भएको थियो। वर्तमान नेपाली क्रिकेट टिमका सर्वाधिक अनुभवी शक्तिले ३ विकेटको प्रदर्शन पछि ठूलो खुसीयाली मनाए। कारण थियो, सम्भवतः शक्ति नेपालका लागि अन्तिम ठूलो खेलिरहेका थिए।
जितेन्द्र मुखिया (क्रिकेट)
जितेन्द्र मुखिया अफगानिस्तानविरुद्धको खेलमा
'म्यान अफ द म्याच' रहे। शक्तिपछि उनी यस्तो उपलब्धि हात पार्ने दोस्रो नेपाली खेलाडी हुन्। उनको एकपछि अर्को योर्करमा अफगान ब्याट्सम्यानहरूले रन बटुल्न सकेनन्। उनले फ्याँकेको १९ औं ओभरले अफगानिस्तानविरुद्धको खेल नेपालको पक्षमा आएको थियो। मुखियाको प्रदर्शनबाट प्रभावित हुनेमा धेरै पुराना अन्तर्राष्ट्रिय बलरहरू पनि रहे, विशेषतः इयान बिशप।
वसन्त रेग्मी (क्रिकेट)
जति-जति बेला नेपाली राष्ट्रिय क्रिकेट टिम संकटमा पर्छ, त्यो स्थितिबाट टिमलाई उद्धार गर्ने खेलाडी हुन्, वसन्त रेग्मी। आईसीसी डिभिजन थ्री र ट्वान्टी-२० विश्वकप छनोटमा नेपालका लागि सर्वाधिक राम्रो प्रदर्शन गर्ने खेलाडी हुन्, वसन्त। बंगलादेशमा पनि उनले ५ विकेट लिए। हङकङविरुद्ध उनको ३ विकेटको प्रदर्शन पनि गजब थियो। बंगलादेशमा वसन्त र शक्तिले समान रूपमा ५-५ विकेट लिएका थिए।
विमल घर्तीमगर (फुटबल)
विमल घर्तीमगर एन्फा एकेडेमीका त्यस्ता उत्पादन हुन्, जसबाट नेपाली फुटबलले धेरै आशा गर्न सक्छ। फरवार्ड विमलले साफ च्याम्पियसिपमा पाकिस्तानविरुद्ध सानदार गोल गरे र उनको उक्त प्रदर्शनले नेपालको सेमिफाइनल यात्रा तय भएको थियो। यू-१६ का दुई प्रतियोगिता एएफसी च्याम्पियनसिप र साफ च्याम्पियनसिप दुवैमा उनको प्रदर्शन माथिल्लो दर्जाको रह्यो। विमल अहिले नेदरल्यान्डमा एन्डरलेटको जुनियर टिमसँग अभ्यास गरिरहेका छन्। भाग्यले साथ दिए, उनी युरोपमा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी हुन सक्छन्।
विशाल र रिन्जी (उसु)
विशाल थापा सिञ्जाली र रिन्जी शेर्पाले फिलिपिन्समा भएको सातौं जुनियर उसु च्याम्पियनसपमा २ वटा कांस्य पदक जिते। विशाल र रिन्जीको जोडीले थाउलुको सेट फाइट तुइलिनमा नेपाललाई पहिलो पदक दिलाएका थिए। सेट फाइनलमा नेपालले अन्तर्राष्ट्रिय पदक जितेको यो पहिलो अवसर हो। त्यसपछि विशालले नान क्वानमा पनि व्यक्तिगत दोस्रो कांस्य जिते। उसुका लागि फिलिपिन्सको प्रदर्शन ऐतिहासिक थियो।
यानसाजन सुनार (एथलेटिक्स)
नेपालका 'फास्टेस्ट म्यान' हुन्, यानसाजन सुनार। नेपाल प्रहरीका यामसाजनले पुरुष सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाए। पहिलो लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपमाअन्तर्गत भएको ३९ औं राष्ट्रिय एथलेटिक्समा यामले हिट चरणमा सय मिटर १० दशमलव ५६ सेकेन्डमा पूरा गरे, जुन इलेक्ट्रोनिक टाइम थियो। ह्यान्ड टाइममा भने उनले निकालेको समय १० दशमलव ४ सेकेन्ड थियो । यसक्रममा उनले सन् १९९८ को आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा रामकृष्ण चौधरीले कायम गरेको १० दशमलव ७१ सेकेन्डको कीर्तिमान भंग गरे । पछि फाइनलमा स्वर्ण पदकका लागि यामले १० दशमलव ५ सेकेन्डको समय निकाले । उनको महत्त्वाकांक्षी लक्ष्य छ— दक्षिण एसियाली खेलकुदमा सय मिटरतर्फ स्वर्ण जित्ने ।