साप्ताहिक संवाददाता
नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान नेपाली खेलकुदकै सर्वाधिक पुरानो संघमध्ये एक हो। यद्यपि काम र चरित्रका आधारमा क्यान बाँकी सबै संघभन्दा पछाडि छ। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एकपछि अर्को सफलता हात पारेको छ, त्यो बेग्लै कुरा हो तर क्यान जसरी सञ्चालन हुने गरेको छ, त्यो पहिले पनि ठीक थिएन, अहिले पनि हुन सकेको छैन।
क्यान यस्तो संस्था हो, जसमा क्रिकेट नै नबुझेकाहरू पनि छन्। त्यस्तै अर्को पनि समूह छ, जसले क्रिकेट बुझेको दाबी त गर्छ, तर काम भने केही गर्दैन। क्यान गतिलो ढंगले चलेको हुन्थ्यो भने यो खेलमा अहिले प्राप्त सफलता धेरै अघि प्राप्त हुन सक्थ्यो। क्यानले चलाउने राष्ट्रिय प्रतियोगिता नाम मात्रका छन् र ती पनि सुरु गरेपछि सक्न हतार हुन्छ।
बंगलादेशबाट फर्किएयता कप्तान पारस खड्काले विमानस्थलमै भनेका थिए, क्यान व्यावसायिक ढंगमा चल्नुपर्यो। त्यतिबेला खेलाडीको मनमा विद्रोहको भाव थियो जुन अहिले विस्फोट भएको छ। काठमाडौं र पोखरामा भैरहेको वान डे राष्ट्रिय सिनियर प्रतियोगिता नै बहिस्कार गर्दै राष्ट्रिय खेलाडीले विभिन्न माग तेर्साएका छन्।
उनीहरूको पहिलो माग थियो, आठ/नौ महिनादेखि तलब पाएका छैनौं, त्यो पाउनुपर्यो। लगभग एक वर्षदेखि खेलाडीले तलब र भत्ता पाउन सकेका छैनन्। क्यानका अध्यक्ष टंक आङबुहाङ नेकपा एमाओवादीका केन्द्रीय सदस्य हुन्। उनले वास्तवमै क्रिकेट राम्रोसँग बुझेका छन् अथवा छैनन्, त्यो आफ्नो ठाउँमा छ, तर उनले काम भने गर्न सकेका छैनन्, त्यो निश्चित हो।
यही प्रसङ्गमा क्यान राजनैतिक पार्टीहरूको भागबन्डा चल्ने तथ्य पनि नयाँ होइन। खेलाडीहरूको यस्तै आन्दोलन चार वर्षअघि पनि चलेको थियो। फरक के भने त्यति बेला अहिलेको जस्तो चर्चा भएन। क्यानले खेलाडीलाई मौखिक आश्वासन धेरैपल्ट दिएको छ, तर त्यसलाई पूरा गर्ने काम भने विरलै गर्छ।
एसियाली क्रिकेट काउन्सिलले क्यानलाई सीईओ र फाइनान्स निर्देशक राख्न दिएको लिखित निर्देशन पूरा हुन सकेको छैन। तीन सातापछि हुने एसीसी प्रिमियर लिग नै खेल्दैनौं, अहिलेको क्यानका पदाधिकारी नै फेरिनुपर्छ भन्ने मागका विषयमा केही पक्षले फरक धारणा राख्न सक्छन्। यो त अति नै भयो, धेरैले प्रतिक्रिया पनि दिएको हुनुपर्छ। अनुशासनहीनताको पनि आरोप लाग्न सक्छ।
जति बेला नेपाली क्रिकेटको सबै कथा बुझिन्छ तब लाग्छ, यी त केही होइनन। अहिले एकपछि अर्को वार्ता चलिरहेको छ। वार्तामा आउने अनुहार पनि फेरिरहेका छन्, तर निष्कर्ष के-कस्तो हुने हो, अनुमान गर्न गार्हो छ। खालि अन्यौल मात्र बढिरहेको छ। यो स्थिति अझै कायम रहने हो भने नेपाली क्रिकेट धराशायी हुनेछ र त्यसको जिम्मेवारी अरू कसैले होइन, क्यान आफैंले लिनुपर्ने छ।