साप्ताहिक संवाददाता
हाम्रो पुरानो पुस्ताको सामाजिक दृष्टिकोण पनि अलिक संकीर्ण छ। हाम्रो पुरानो पुस्ताले नयाँ पुस्तालाई 'डाक्टर भएस्, इजिनियर भएस्' भनेर आशीर्वाद प्रदान गर्ने परम्परा छ। यो शुभेच्छाको शैलीबाट अरू क्षेत्र उपेक्षित हुन पुगेका छन् भने केही औलामा गन्न सकिने क्षेत्र मर्यादित बनाइएका छन्। यो पेसाप्रति पुरानो पुस्ताले हेर्ने दृष्टिभ्रम मात्र हो। यो केही पेसाप्रति सम्मान र बाँकी पेसाप्रति अपमान पनि हो। आजको समयमा धेरै नयाँ विषय र प्रविधि भित्रिँदैछन्। नयाँ-नयाँ प्रविधिमा छोराछोरीको आकर्षण हुन सक्छ। कुनै समय नेपालमा हुँदै नभएको कम्प्युटर आज सबैको अध्ययनको विषय भएको छ, तर पनि अभिभावकहरूको सन्तानप्रति हस्तक्षेप गर्ने परम्परा टुंगिएको छैन। यही समाजमा बाबुआमाको दबाबमा आफ्नो अभिरुचिको विषयलाई तिलाञ्जली दिँदा आज कैयन् विद्यार्थी उच्च शिक्षाको भुमरीमा न तैरिन सक्ने न त डुब्न सक्ने अवस्थामा पुगेका छन्। अभिभावकहरू आफ्ना सन्तानलाई डाक्टर र इन्जिनियर पढाएर सामाजिक प्रतिष्ठा उच्च हुने भावनाले ऋण लिएर भए पनि पढाउँछन्। यसरी छोराछोरीलाई बाध्यात्मक शैलीमा आफ्नो सपनाको बाटो देखाउँदा सन्तानको अभिरुचि केमा छ ? कसैले सोच्दैनन्। वास्तवमा कोही पत्रकारिता पढेर देशको सेवा गर्न चाहिरहेका हुन्छन् भने कोही राजनीतिशास्त्र पढेर। राजनीतिशास्त्र पढेर केही हुँदैन भन्ने खालको भ्रम पनि उत्तिकै छ। फलस्वरूप राजनीतिशास्त्र आज नेपालमा परित्यक्त छ, उपेक्षित छ। त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा कम विद्यार्थी राजनीतिशास्त्रमै छन्। विभिन्न विषय अध्ययन गर्ने विद्यार्थीबीच संख्यात्मक सन्तुलन आजको आवश्यकता हो। व्यवस्थापन, मानविकी र प्रविधिको तराजुमा अलिकता मात्र असन्तुलन आयो भने त्यसले देशको सिङ्गो रोजगारीमा असर पार्छ।
जब सन्तानको अभिरुचिप्रति अनभिज्ञ भएर उनीहरूमाथि आफ्नो इच्छा थोपरिन्छ, त्यसले उनीहरूको कलिलो मनमा ठूलो चोट वा धक्का पुग्छ। आफ्नो सपना कुल्चिएकोमा उनीहरूको हृदयमा आफ्नै अभिभावकप्रति एक प्रकारको आक्रोश र घृणा हुर्कन सक्छ। यस्तो आक्रोशले उनीहरू आफ्नो उज्ज्वल भविष्यतर्फ पाइला टेक्न छाडेर विकृतिको बाटामा अग्रसर हुन सक्छन्। गत वर्ष एक गैरसरकारी संस्थाले गरेको सर्वेक्षणमा १६ प्रतिशत बालबालिका मद्यपान र धूम्रपानमा फस्नुको कारण पारिवारिक दबाब नै जिम्मेवार पाइयो। यसर्थ नयाँ पुस्तामाथि दासता थोपर्नु कुनै पनि कोणबाट उचित होइन। छोराछोरीको अभिरुचि बुझेर उनीहरूको प्रतिभा जेमा छ त्यसमै अघि बढ्न दिनुपर्छ।
बर्नाड शाले एटम बम बनाउन सक्दैनन् भने आइन्सटाइनले कविता लेख्न सक्दैनन्। देवकोटाले मीठो गीत रच्न सक्लान्, तर मीठो धुन गुनगुनाउन सक्दैनन्। प्रत्येक व्यक्तिभित्र प्रतिभा हुन्छ। यदि त्यो प्रतिभा पहिचान भए मात्र सृजना हुन्छ। जसको प्रतिभा जेमा छ, उसलाई त्यही विषय छान्न दिनुपर्छ। गीत गुनगुनाउने छोरालाई नेपाली पढ्न दबाब दिनु, व्यापारमा अभिरुचि राख्ने छोरीलाई बिज्ञानमा दबाब दिनु उनीहरूको प्रतिभा खोस्नु मात्र होइन, उनीहरूको नैसर्गिक अधिकारमाथिको प्रहार पनि हो। विज्ञानमा इच्छा राख्ने छोरालाई दबाबमा व्यवस्थापन पढाउनु, एउटा आइन्सटाइनको हत्या हो भने नेपालीमा इच्छा राख्ने छोरीलाई दवाबमा संगीत पढाउनु एउटी पारिजातको हत्या हो। यसैले आजको समयमा विद्यार्थीलाई उसको इच्छाअनुसारको विषय छनौट गर्न ।