हास्यश्रृंखला 'मेरी बास्सै' का निर्देशक तथा कलाकार सीताराम कट्टेल 'धुर्मुस' भिडियो निर्देशक समेत भएका छन्। उनले गायक प्रमोद खरेलको पछिल्लो लोकप्रिय गीत 'मन कन्ट्रोलै हुँदैन...' को भिडियो निर्देशन गरेका हुन्। गायक खरेलले विभिन्न महोत्सवमा उक्त गीत गाएको सुनेपछि सीतारामले भिडियो बनाउने योजना बनाएका हुन्। सीतारामले उक्त गीतलाई हास्यशैलीको बनाउनुपर्छ भन्ने योजना सुनाएपछि गायक खरेल नौलो र रमाइलो शैलीको भिडियो तयार पार्न हौसिएका थिए। म्युजिक भिडियोमा हास्यकलाकारहरू खेम शर्मा तथा अर्जुन घिमिरेका साथमा सालु गौतम, राज अर्याल एवं दिलीप ओखेडाले अभिनय गरेका छन्। अघिल्लो साता प्रिमियर गरिएको यो म्युजिक भिडियोले युट्युबमा मात्र एक सातामा करिब ४० हजार दर्शक पाएकोमा निर्देशक सीताराम तथा गायक प्रमोद दंग छन् । फेसबुकबाटै शीर्षक
हास्यकलाकार दमन रूपाखेतीले आफ्नो निर्देशनमा बन्ने नयाँ टेलिश्रृंखलाको शीर्षक फेसबुकबाट जुराएका छन्। फेसबुकको स्ट्याटसमा उनले नयाँ टेलिश्रृंखलाका लागि पाँचवटा शीर्षक राखेर कुनै एउटा छनौट गर्न आग्रह गरेका थिए। करिब २ सयवटा प्रतिक्रियामध्ये सबैभन्दा बढी मन पराइएको शीर्षक सकिएन बालाई उनले टेलिश्रृंखलाको शीर्षक बनाएको बताएका छन्। दमनले टेलिश्रृंखलाका लागि काउकुती, सन्चै, ट्वाँ, ए आम्मै तथा सकिएन बालाई विकल्पमा राखेका थिए। 'सकिएन बा' ले सर्वाधिक ८६ वटा प्रतिक्रिया पाएको थियो। दमन अहिले यो श्रृंखलाको लेखनमा व्यस्त छन्।