साप्ताहिक संवाददाता
पछिल्ला केही दिन नेपाली क्रिकेटका लागि उत्तिकै चतारचढावपूर्ण रहे। यसै साता नेपाली खेलाडीले गरेको एक खाले विद्रोहमा छोटो समयका लागि विराम त लाग्यो, तर त्यसले नेपाली क्रिकेटलाई के दियो भन्ने प्रश्न अझै अनुत्तरित छ। अहिले तत्काल सबैको ध्यान त्यो कमिटीमा छ, जसले नेपाली क्रिकेटलाई योजनाबद्ध रूपमा अगाडि लाने दाबी गरिएको छ।
उक्त कमिटी अझैसम्म विस्तार भने भएको छैन। यसमा संयोजक छन्, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामा, युवा तथा खेलकुद मन्त्रालयका उपसचिवभन्दा माथिल्लो स्तरका प्रतिनिधि, नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधि, प्रशिक्षक पुबुदु दसानायेके तथा कप्तान पारस खड्का। यो क्यानको समानान्तर संस्था हो कि अरू नै केही हो, त्यो पनि खुलेको छैन।
अहिले तत्काल भने नेपाली राष्ट्रिय टिम मलेसियामा हुने एसीसी मेन्स प्रिमियर ट्रफीको तयारीमा छ। स्वाभाविक रूपमा नेपाली टिमले त्यसका लागि उपयुक्त तयारी गर्न पाएको छैन। विवादले लामो समय खाएको नेपालको तयारी वैदेशिक प्रशिक्षणबिना सम्पन्न हुनेछ। पुरानो एसीसी ट्रफीलाई विस्तार गर्ने क्रममा यो प्रतियोगिता आएको हो।
यसमा एसियाका छ प्रमुख एसोसियट देशले भाग लिनेछन् र प्रतियोगिता राउन्ड रोबिनका आधारमा चल्नेछ। वैशाख १८ प्रारम्भ हुने प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, हङकङ, युएई, ओमान तथा आयोजक मलेसिया छन्। नेपालले आफ्नो पहिलो खेलमा युएईको सामना गर्नेछ। त्यसपछि नेपालीले मलेसिया, ओमान, हङकङ तथा अफगानिस्तानको सामना गर्नेछ।
यसका लागि प्रारम्भिक चरणको टिम पनि घोषणा भैसकेको छ, जसमा भेट्रान लेग स्पिनर राजकुमार प्रधानले पुनरागमन गरेका छन्। उनी अन्तिम टिममा पनि पर्ने विश्वास गरिएको छ। यस्तै यसपल्ट वीरगन्जका युवा खेलाडी आरिफ शेखले पनि अवसर पाउने विश्वास गरिएको छ। टिममा ट्वान्टी-२० विश्वकप खेल्ने खेलाडीको बाहुल्य रहनेछ।
पछिल्लो साता नै राष्ट्रिय खेलाडीको बहिष्कारका कारण आफ्नो चमक गुमाएको वान डे राष्ट्रिय प्रतियोगिता पनि टुंगिएको छ। क्यानसँग सहमति भएपछि पनि राष्ट्रिय खेलाडीले प्रतियोगिताको अन्तिम चरणका खेल भने खेलेनन्। उनीहरूको अनुपस्थितिमा यसपल्ट उपाधि जित्न सफल रह्यो, वीरगन्ज। फाइनलमा वीरगन्जले डिफेन्डिङ च्याम्पियन एपीएफलाई तीन विकेटले हराएको थियो
पहिले ब्याटिङ गरेको एपीएफले ४६ दशमलव १ ओभरमा २ सय १३ रन मात्र बनाउन सक्यो। प्रत्युत्तरमा वीरगन्जले सात विकेट गुमाएर जित आत्मसात् गरेको थियो। राष्ट्रिय खेलाडीको बहिष्कारका कारण यो प्रतियोगिता नयाँ खेलाडीका लागि आफूलाई सिद्ध गर्ने अवसर पनि साबित भयो। फलस्वरूप आरिफ 'म्यान अफ द सिरिज' भए भने राजकुमार उत्कृष्ट बलर।