साप्ताहिक संवाददाता
ठूलो मान्छेका कुरा
चलचित्र 'ठूलो मान्छे' ले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजित गर्दै आगामी जेठ २ गतेदेखि सार्वजनिक प्रदर्शनीमा जाने घोषणा गरेको छ। यसै साता सम्पन्न उक्त समारोहमा चलचित्रको प्रोमो तथा गीत पनि प्रिमियर गरिएको थियो। बालमनोविज्ञानमा आधारित यो चलचित्रमा बालबालिकाको चाहना, स्वभाव तथा त्यसलाई पूरा गर्न उनीहरूले गर्ने क्रियाकलापदेखि बालबालिकाको मनोवृत्ति पूरा गर्न नदिने अभिभावकको प्रवृत्ति पनि चित्रण गरिएको कलाकार तथा निर्देशक प्रशान्त तामाङले बताएका छन्। चलचित्रमा निर्देशक प्रशान्तसँगै केकी अधिकारी, कुशल, रोमन, उज्ज्वल, आशिस, विवेक, अविरल, प्रेम, शुष्मा आदि कलाकारले अभिनय गरेका छन्।
आचार्यलाई पितृशोक
चलचित्र निर्देशक विकास आचार्यलाई पितृशोक परेको छ। आचार्यका बुवा ८४ वर्षीय देवीप्रसाद आचार्यको गत मंगलबार मातातीर्थ औंसीका दिन विराटनगरमा निधन भएको हो। उनी मुटुको समस्याबाट पीडित थिए। स्व. आचार्यका निर्देशकसहित पाँच जना छोरा छन् विकास आचार्य साहिँला हुन्। विकासको पछिल्लो चलचित्र 'नाइँ नभन्नु ल-२' व्यावसायिक रूपमा सफल भएको छ। जेठा छोरा शैलेश आचार्य पनि चलचित्र निर्देशक हुन्। शैलेशको पछिल्लो चलचित्र 'खग्रास' गत वर्ष प्रदर्शनमा आएको थियो।
मुखौटाको हल टे्रलर
प्रदर्शनको तयारीमा रहेको चलचित्र 'मुखौटा' को टे्रलर सार्वजनिक भएको छ। माफियाहरूको गतिविधिमा आधारित यो चलचित्रको निर्देशन अर्पण थापाले गरेका हुन्। चलचित्रमा राजेश हमाल, सौगात मल्ल, निशा अधिकारी, दयाहाङ राई, प्रशान्त ताम्राकार, रविन तामाङ, हषिर्का श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन्।
हवल्दार सुन्तली
निर्माता छवि ओझाले नयाँ चलचित्र 'हवल्दार सुन्तली' निर्माण गर्ने घोषणा गरेका छन्। दीपक शर्माको संगीत निर्देशन रहने यो चलचित्रको एउटा गीत गायक युवराज चौलागाईंको स्वरमा रेकर्ड भैसकेको छ। हवल्दार सुन्तलीमा नायिका शिल्पा पोखरेलले शीर्ष भूमिका निर्वाह गर्ने पक्का भएको छ। चलचित्रमा सविन श्रेष्ठ र किशोर खतिवडा पनि प्रस्तुत हुनेछन्।
द्वन्द्व कलाकार संघमा श्रेष्ठ
योगेन्द्र श्रेष्ठ नेपाल चलचित्र द्वन्द्व कलाकार संघको नयाँ कार्यसमिति अध्यक्षमा दोस्रो पटक निर्वाचित भएका छन्। योगेन्द्रले प्रतिद्वन्द्वी सूर्य थोकरभन्दा ४१ मत बढी ल्याएका थिए। संघको उपाध्यक्षमा भरत क्षेत्री, महासचिवमा राजकुमार उप्रेती तथा कोषाध्यक्षमा बब्लुविक्रम थापा विजयी भएका छन्। सचिवको पद खाली राखिएको छ। संजय थापा, शुक्रराज शाह, राजाराम गौतम, सञ्जय महर्जन, केवीराज वाहक, भूपेन्द्र बीसी तथा किरण कार्यसमितिको सदस्यमा निर्वाचित भएका छन्।
निर्देशक समाज पुनर्गठित
चलचित्र निर्देशक समाज नेपालमा महासचिवलगायत ६ जना पदाधिकारीले असन्तुष्टि जनाउँदै राजीनामा दिनेहरूमध्ये दुई जना आरबीके शरद तथा महेशप्रसाद ढुंगेलले आ-आफ्नो राजीनामा फिर्ता गरेका छन्। राजीनामा फिर्तासँगै अध्यक्ष दिनेश डिसीले विधानले दिएको अधिकार प्रयोग गर्दै कार्यसमिति पुनर्गठन गरेका छन्। पुनगर्ठित कार्यसमितिको उपाध्यक्षमा सुचित्रा श्रेष्ठ र सुमन दाहाल, महासचिवमा नीलहरि काफ्ले, सचिवमा घनश्याम खतिवडा, कोषाध्यक्ष्मा योगेश घिमिरे, सहकोषाध्यक्षमा शेखर खनाल तथा सदस्यहरूमा आरबीके शरद, रक्षा राणा, सम्झना उप्रेती रौनियार, महेशप्रसाद ढुंगेल तथा अमोल शर्मा छन्।
जेठमा ओफा एवार्ड
फिल्मीखबर डटकमले जेठ २६ गते दोस्रो संस्करणको 'अनलाइन फिल्मीखबर एवार्ड (ओफा)-२०७१' वितरण गर्ने घोषणा गरेको छ। यसपटकको एवार्डमा विभिन्न १७ वटा विधामा 'पपुलर' एवार्ड वितरण गरिनेछ ।
ज्येष्ठ नागरिकलाई नि:शुल्क
लोकतन्त्र दिवसको अवसरमा पश्चिम नेपालको डढेल्धुरा पुगेका कलाकार तथा निर्माता नवल खड्काले भीमदत्त पन्तको सालिकमा माल्यार्पण गर्दै चलचित्र 'भीमदत्त' ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले देश तथा विदेशका जुनसुकै सिनेमा हलमा नि:शुल्क हेर्न पाउने घोषणा गरेका छन्। भीमदत्तको समकालीन जेष्ठ नागरिकलाई सम्मान गर्न यस्तो तयारी गरिएको चलचित्रका कार्यकारी निर्माता प्रतापचन्द्र तामाङले स्पष्ट पारेका छन्। हिमग्याप टासी निर्देशित यो चलचित्रको डढेल्धुरामै विशेष प्रदर्शन समेत गरियो। चलचित्रमा नवल खड्काले भीमदत्तको भूमिका निर्वाह गरेका छन्।