नृत्यमा आधारित रियालिटी शो 'झलक दिखला जा' को सातौं श्रृंखला प्रसारणका लागि तयार छ। यो लोकप्रिय कार्यक्रममा विभिन्न सेलिब्रेटीहरू प्रतियोगीका रूपमा सहभागी हुन्छन्। 'झलक दिखला जा-७' मा प्रतिस्पर्धा गर्ने १३ प्रतियोगिताको नाम यसै साता सार्वजनिक गरिएको छ। यसपटकका प्रतियोगितामा क्रिकेटर, कमेडियनदेखि लिएर टेलिभिजन कलाकारसम्मले प्रतिस्पर्धा गर्दैछन्। माधुरी दीक्षित, रेमो डिसुजा तथा करण जौहर निर्णायक रहने यो प्रतियोगितामा विभिन्न धारावाहिकका नायक-नायिकाहरू करण टेकर, कृतिका कामरा, पूजा बोस, मौनी रायसहित गायिका सोफी चौधरी, बालनृत्यकार अक्षत सिंह, हास्यकलाकार किकु शारदा, उद्घोषक पुरब कोहली, नृत्यांगना शक्ति मोहन, क्रिकेटर एस. श्रीसन्थ, गायक सुखबिन्दर सिंह तथा भिजे एन्डीबीच प्रतिस्पर्धा हुनेछ। कलर्स टेलिभिजनले झलक दिखला जाको प्रसारण मिति भने तोकेको छैन। मारियाको तर्क
पप स्टार मारिया केरीले सांगीतिक जीवनबाट संन्यास लिने समाचारको खण्डन गरेकी छिन्। विभिन्न सञ्चारमाध्यममा उनले संन्यास लिन लागेको खबर सार्वजनिक भएको थियो। बिलबोर्ड म्यागजिनका अनुसार ४४ वर्षीया गायिका केरीले हालै एक अन्तर्वार्तामा आफ्नो आगामी एल्बम सांगीतिक जीवनकै अन्तिम हुने बताएकी थिइन्। अहिले आएर मारियाले आफ्नो उक्त भनाइको अर्थ सांगीतिक क्षेत्रबाट संन्यास लिनु नरहेको स्पष्ट पारेकी हुन्। 'मेरो भनाइको गलत अर्थ लगाइयो, मारियाका अनुसार उनी जीवनभरी नै संगीत क्षेत्रमा रमाउनेछिन्। भविष्यका बारेमा कसैले केही बताउन नसक्ने भएकाले उक्त एल्बम अहिलेसम्मको अन्तिम हुने बताएको उनले स्पष्ट गरेकी हुन्।