'सयौं थुँगा फूलका हामी एउटै माला नेपाली...' ११ वर्षीया बालिका सृष्टिका बज्राचार्यले पियानोमा नेपाली राष्ट्रिय गीतको धुन प्रस्तुत गर्दा प्रेक्षालयमा भेला भएका दर्शकहरू आ-आफ्नो स्थानबाट उठे। १२ औं संस्करणको किड क्विन नेपाल-२०१४ को ट्यालेन्ट शोमा प्रतिस्पर्धी २९ जना बालिकाले विभिन्न प्रतिभा देखाएर कार्यक्रमलाई मनोरञ्जक बनाए। ट्यालेन्ट शोमा अधिकांश बालिकाले नृत्य प्रस्तुत गरेका थिए भने केहीले गीत अनि चित्रकलामार्फत प्रतिभा प्रदर्शन गरे। एली राजभण्डारीले हेयर स्टाइल प्रस्तुत गरेको उक्त कार्यक्रममा रानु दासले पियानोको धुन सुनाएकी थिइन् भने सम्पदा उप्रेतीले बालश्रमसम्बन्धी मन्तव्य दिएकी थिइन्। किड क्विनको निर्णायक प्रतियोगिता वैशाख २२ गते सोमबार प्रज्ञाभवन, कमलादीमा हुँदैछ।