नुवाकोटलगायत केही जिल्लामा एउटा जात्रा चर्चामा छ— सिन्दुरे जात्रा। कामदा एकादशीका दिन भैरवी मन्दिर र बूढी देवीमा लिङ्गो गाडेर सुरु हुने जात्रा बरुथिनी एकादशीसम्म १५ दिन मनाइन्छ। यो जात्राका क्रममा जिउँदो भगवानका रूपमा धामीलाई भैरवी मन्दिरको रथ यात्रामा हिँडाइन्छ। रथयात्रासँगै धामीले नुवाकोटको जालपादेवी मन्दिर देवीघाट तथा भैरवी मन्दिर नुवाकोटमा जिउँदो पशु चौपायाको भोग खाने परम्परा छ। जालपा देवी मन्दिरमा जिउँदो पशुको भोग खाएपछि धामीले मुलुकमा 'आगामी वर्ष के हुन्छ' भनेर भविष्यवाणी गर्ने भएकाले सिन्दुरे जात्रालाई राष्ट्रिय महत्त्वका रूपमा हेरिँदै आएको छ। धामीले गोप्य रूपमा गर्ने भविष्यवाणी देशका प्रमुखलाई पठाउने चलन छ।