लामो कदका एक्सनस्टार अक्षयलाई देख्नेहरूले मोबाइल सोझ्याउँदै उनका तस्बिर कैद गरे र अक्षयलाई प्रत्यक्ष देखेको भनेर दंगिए। गत मंगलबार उनको सुटिङ भक्तपुर, दरबारस्क्वायरमा हुँदै थियो, सञ्चारकर्मी एवं व्यवसायी नरेशदेव पन्तले साप्ताहिकलाई खबर गरे— अक्षयकुमार भक्तपुरमा छन्, कुरा गर्न आउने हो ?
कुराकानीका लागि फोटोपत्रकार श्रुति श्रेष्ठ र म भक्तपुर पुग्यौं। सुटिङका लागि निस्कने तयारीमा रहेका अक्षयकुमारलाई स्थानीय हिमालयन जाभाको टप फ्लोरमा भेट्यौं पनि, तर अत्यधिक भीडले अक्षयकुमार, अक्षयकुमार भनिरहेको अवस्थामा उनीसँग कुरा गर्न सम्भव भएन। अक्षयका सहायक जेपीले पनि १० मिनेट ढिलो आइपुगेकाले कुराकानी गर्न असम्भव भएको बताए। जबकि भीडलाई छिचोलेर हिमालयन जाभाको टप फ्लोरमा पुग्न नै हामीलाई २० मिनेटभन्दा बढी लागेको थियो।
त्यहाँ इन्टरभ्यू नभए पनि दरबार स्क्वायर क्षेत्रमा सम्भव हुनसक्छ भनेर बताइएपछि भीडका बीच हामी अक्षयलाई पछ्याउँदै सुटिङ स्पटतर्फ पाइला सार्न थाल्यौं। भीड अब दरबार स्क्वायरमा थपिँदै थियो। त्यही क्रममा जेपीले समस्या तेस्र्याए, अक्षयकुमारले एडिटरलाई मात्र इन्टरभ्यू दिन्छन् भनेर। कुरा बुझाएपछि अन्तर्वार्ता त हुने भयो तर सुटिङ सकिएपछि मात्र।
बाक्लिँदो भीडले सुटिङ अवरुद्ध हुने अवस्था सिर्जना भैरहेको थियो, त्यही बेला आँखै अगाडि भएका अक्षयकुमार हराए। अक्षयकुमारलाई सुरक्षा प्रदान गरिरहेका नेपाल प्रहरीका आशुतोष बहादुर शाहीलाई फोन गरेको त उनी सुटिङ सकेर होटल फर्किरहेको खबर सुनियो। जेपीले पनि अन्तर्वार्ता गर्ने भए हयात पुग्ने सल्लाह दिए। हामी हयात फर्कियौं भक्तपुर, बोडे, मूलपानी, जोरपाटी, बौद्ध हुँदै। ह्यात पुग्दा जेपी नभई अन्तर्वार्ता हुन नसक्ने बताइयो, जेपीलाई फोन गरेको उनले दुई घन्टा पछि आउने बताए। यसबीच तस्बिरका लागि पुगेका महेश प्रधान, श्रुति र म अब नसकिने रहेछ भनेर अफिस र्फकने तयारीमा लाग्यौं। त्यही क्रममा जेपीले एक जनालाई अक्षयकुमारसँग कुराकानी गर्न मिलाउन सक्ने बताए।
हयातको सातौं तल्ला जहाँ अक्षय थिए, त्यहाँ पटक-पटक गरेर तीनपटक उक्लने, ओर्लने क्रम चल्यो। अन्ततः जेपीले एक व्यक्तिलाई लिन पठाए। दर्जनौं बलिउड चलचित्रमा सफल अभिनय गरेका अक्षय फराकिलो कोठामा कमेडी विथ कपिल हेरिरहेका थिए। उनले नम्रतापूर्वक स्वागत गर्दै कुराकानीका लागि तयार भएको जनाउ दिए। कुराकानीका क्रममा उनी केही बढी डिप्लोम्याटिक देखिए, यद्यपि नेपालका सम्बन्धमा आफूले सही टिप्पणी गरेको उनको जिकिर थियो। नेपाल र नेपालीसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने उनको भनाइ थियो। अक्षय भन्दै थिए-'नेपाली चलचित्र उद्योगका निम्ति योगदान हुन्छ भने यहाँका चलचित्रमा पनि काम गर्न तयार छु।'
अक्षय कुमार आफ्नी छोरी बिमारी भएको समाचार प्राप्त भएपछि गत बुधबार मध्याह्न ३ बजेको जेट एयरवेजबाट मुम्बई फर्किसकेका छन्, चाँडै नै छोरीका साथ नेपाल घुम्न आउने वाचाका साथ। अक्षयले मुम्बई र्फकनु अघि नेपाल प्रहरीको मुख्य घटना सहायता कार्यदलको कामको प्रशंसा गर्दै आफ्नो सुरक्षामा खटिएका सुरक्षा प्रमुखलाई आफूले लगाइरहेको गगल्स उपहार स्वरूप प्रदान गरेका थिए।