परिचयात्मक चरणदेखि नै निर्णायक तथा दर्शकलाई प्रभावित तुल्याउँदै आएकी सुबिनले मिस नेपाल-२०१४ का रूपमा आफ्नो नाम घोषणा हुनासाथ दुवै हातले आफ्नो अनुहार छोपिन्, केही क्षण कुनै पनि प्रतिक्रिया जनाइनन्। उद्घोषकले बधाई दिने क्रममा सुबिनले उपाधि विजेतामा आफ्नो नाम घोषणा भएकोमा विश्वासनै नलागेको हाउभाउ प्रस्तुत गरिन्। यति बेला कस्तो महसुस गरिरहनुभएको छ भन्ने जिज्ञासाको जवाफमा स्टेजबाटै सुबिनले भनिन्— 'डि्रम कम ट्रू' जस्तो लागिरहेको छ। मलाई यो क्षण एउटा सपनाझैं लागिरहेको छ। मैले आज क्राउन होइन अमूल्य खजाना नै जितेजस्तो लागेको छ।' विजेताका रूपमा आफ्नो नाम घोषणा हुनेबित्तिकै सुबिनले विदेशमा रहेका आमा-बुवालाई सम्झिएको बताइन्। थेम्स कलेजमा बीबीए अध्ययनरत सुबिनले आगामी दिनमा आफू मिस वल्र्ड-२०१४ को तयारीमा जुट्ने योजनासमेत सुनाइन्। २३ वर्षीया सुबिनलाई गत शुक्रबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न मिस नेपाल-२०१४ को क्राउन सेसनमा गत वर्षकी मिस नेपाल इशानी श्रेष्ठले आफ्नो शीरमा सजिएको चम्किलो मुकुट पहिराइदिइन्। प्रतियोगितामा सुबिनले १८ जना प्रतिस्पर्धीलाई उछिनेकी थिइन्।
त्यसो त विजेता सुबिनले टप टेन चरणमै निर्णायकहरूलाई प्रभावित तुल्याउने जवाफ दिएकी थिइन्। निर्णायक नम्रता शर्माद्वारा सोधिएको 'आजका युवा-युवतीका समस्या के हुन् ? तिमी मिस नेपाल भयौ भने ती समस्या कसरी समाधान गछर्यौ ?' भन्ने प्रश्नमा सुबिनको जवाफ थियो— 'परिवर्तन नै आजका पुस्ताको समस्या हो, मिस नेपाल उपाधि जितेँ भने यही परिवर्तनको कुरा बुझाउनेछु।'
करिब साढे दुई घण्टा चलेको प्रतियोगितामा बालाजु, काठमाडौंकी प्रिन्सा श्रेष्ठले मिस नेपाल अर्थ (फस्ट रनर्सअप) को उपाधि जितिन्। २१ वर्षीया ५ फिट साढे ७ इन्च अग्ली प्रिन्साले फस्ट रनर्सअपबाहेक बेस्ट कम्प्लेक्सन तथा ब्युटी विथ पर्पसको शीर्षक उपाधि पनि हात पारिन्। प्रिन्साले नगद ६५ हजार रुपैयाँसहित फिलिपिन्समा सम्पन्न हुने मिस अर्थ-२०१४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेकी छिन्। शंकरदेव क्याम्पसमा बीबीए अन्तिम वर्षमा अध्ययरत प्रिन्साले आफूमा भएको सकारात्मक भावना, परिवारको सहयोग तथा आत्मविश्वासका कारण सफलता हासिल गरेको प्रतिक्रिया दिइन्।
प्रतियोगितामा माझबार, पोखराकी सोनी राजभण्डारीले मिस नेपाल इन्टरनेसनल (सेकेन्ड रनर्सअप) को उपाधि जितिन्। ४० हजार रुपैयाँसहितको यो उपाधिबाहेक सोनीले मिस स्टाइलिस र मिस फ्रेन्डसिपको उपाधिसमेत हात पारिन्। ५ फिट ५ इन्च अग्ली सोनीले हालै मात्र बीबीएको अध्ययन पूरा गरेकी हुन्। सोनीले जापानमा हुने मिस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
शुक्रबार साँझ साढे ४ बजे प्रारम्भ भएको प्रतियोगितालाई विभिन्न चरणमा विभाजन गरिएको थियो। सबा नेपालले डिजाइन गरेका आकर्षक पहिरनमा पालैपालो स्टेजमा प्रस्तुत भएपछि प्रतिस्र्धीहरूले सामूहिक नृत्यमार्फत दर्शकहरूको स्वागत गरेका थिए। पृष्ठभूमिको प्रोजेक्टरमा रेकर्ड गरिएको आफ्नो परिचय प्रसारण भैरहँदा प्रतियोगीहरूले दर्शकहरूलाई अभिवादन गरेका थिए। पहिलो चरणको समापनसँगै निर्णायकहरूले दोस्रो चरणका लागि उत्कृष्ट १० को छनौट गरे। प्रि-जजिङको प्रस्तुति तथा पहिलो सिक्वेन्सको हाउभाउ तथा परिचय दिने शैलीका आधारमा उत्कृष्ट १० का लागि रश्मिता महर्जन, नेहा बजाज, सुबिन लिम्बू, शीतोष्णा बन, अलिशा कुँवर, वर्षा राई, प्रनयना केसी, आस्था पोखरेल, प्रिन्सा श्रेष्ठ तथा रोनी राजभण्डारी छानिए। दोस्रो चरणमा क्याजुअल वेयरमा प्रस्तुत भएका दस जना प्रतियोगीलाई १० जना निर्णायकले एक-एकवटा प्रश्न सोधेका थिए। त्यसक्रममा उनीहरूले दिएको जवाफका आधारमा निर्णायकहरूले अन्तिम चरणका लागि ५ जना सुन्दरीको छनाैट गरे। निर्णायक चरणमा आस्था पोखरेल, सोनी राजभण्डारी, प्रनयना केसी, सुबिन लिम्बू तथा प्रिन्सा श्रेष्ठले प्रवेश पाए। उनीहरूको छनौटसँगै प्रमुख निर्णायकले तीन मिनेटको अवधिमा लिखित जवाफ दिनुपर्ने सामूहिक प्रश्न सोधे। त्यही प्रश्नको जवाफका आधारमा विजेताको घोषणा गरियो। मिस नेपालको यो १९ औं संस्करणमा काठमाडौंबाहेक झापा, मोरङ, सुनसरी, जनकपुर, चितवन, नुवाकोट, पोखरा, रसुवा, ललितपुर, पाँचथर तथा नवलपरासीका युवतीहरू सहभागी थिए।
प्रतियोगितालाई मनोरञ्जक बनाउन प्रदर्शनको तयारीमा रहेको चलचित्र 'मुखौटा' का कलाकारहरू सौगात मल्ल, दयाहाङ राई, निशा अधिकारी, हषिर्का श्रेष्ठ आदिले चलचित्रकै एउटा गीतमा नृत्य प्रस्तुत गरेका थिए। फिलिपिनो नृत्यांगनाले प्रस्तुत गरेको स्पेनिश नृत्य फ्लेमिङ्गोले पनि दर्शकहरूको मन जितेको थियो।
उपाधि विजेताहरू
मिस नेपाल वल्र्ड ः सुविन लिम्बू, धरान
मिस नेपाल अर्थ ः प्रिन्सा श्रेष्ठ,, काठमाडौं
मिस नेपाल इन्टरनेसलन सोनी राजभण्डारी, पोखरा
मिस फोटोजेनिक ः शीतोष्णा बन, चितवन
मिस पञ्चुआलिटी ः अलिसा कुँवर, काठमाडौं
मिस स्टाइलिस ः सोनी राजभण्डारी, पोखरा
मिस ट्यालेन्ट ः लाक्पा वाङ्मो तामाङ, रसुवा
मिस बब्लि ः लाक्पा वाङ्मो शेर्पा, रसुवा
बेस्ट कम्प्लेक्सन ः प्रिन्सा श्रेष्ठ, काठमाडौं
मिस ब्युटिफूल हेयर ःरश्मि अधिकारी, पोखरा
मिस ब्युटी विथ पर्पज ःप्रिन्सा श्रेष्ठ, काठमाडौं
मिस फेन्ड्रसिप ः सोनी राजभण्डारी, पोखरा
मिस पर्सनालिटी ः प्रनयना केसी, ललितपुर
उपाधिप्रति सन्तुष्ट छु
प्रिन्सा श्रेष्ठ, मिस नेपाल अर्थ-२०१४
तपाईंलाई त मिस नेपालकै दाबेदारका रूपमा हेरिएको थियो होइन ?
मैले पनि आफूलाई मिस नेपालकै दाबेदारका रूपमा लिएकी थिएँ। वास्तवमा प्रतियोगितामा सहभागी भएपछि सबैको चाहना विजयी हुने नै हुन्छ। मैले पनि विजयी हुने लक्ष्य लिएकी थिएँ। मिस नेपाल अर्थ-२०१४ को उपाधिले मेरो त्यो चाहना पूरा गरिदिएको छ।
मिस नेपाल-२०१४ को उपाधि आफूले जित्न नसक्ने कुरा कुन बेला अनुभव गर्नुभयो ?
निर्णायक चरणपछि हामी पाँचै जनाले पालैपालो जवाफ दिन थाल्यौं। मभन्दा अघि जवाफ दिने प्रनयना केसी, आस्था पोखरेल र सोनी राजभण्डारीको जवाफ सुनें अनि त्यसलाई आफ्नो जवाफसँग तुलना गरें। मेरो पालो चौथो नम्बरमा आयो। आफ्नो जवाफ दिइसकेपछि जब सुबिन लिम्बुको जवाफ सुनें, त्यतिबेलै मलाई के लाग्यो भने मिस नेपालको मुकुट सुबिनको शिरमा सजिनेछ।
तपाईं र सुबिनको जवाफमा के अन्तर थियो ?
मैले नेपाली दाल, भात र तरकारीको तुलना विश्वका कुनै पनि खानेकुरासँग नहुने भएकाले यही खाना खाएर स्वदेशकै सेवा गर्नुपर्छ भनेकी थिएँ भने सुबिनको जवाफ त्योभन्दा प्रभावकारी थियो।
मिस नेपाल अर्थको उपाधि जित्छु भन्ने लागेको थियो ?
सुबिनको जवाफपछि मैले मिस नेपाल हुने सम्भावनालाई त बिर्सिसकेकी थिएँ, तर मिस नेपालबाहेक मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल पनि मिस नेपालजत्तिकै प्रतिष्ठित उपाधि हुन्, ती दुईमध्ये कुनै एकमा मेरो नाम घोषणा हुन्छ भन्ने कुरामा ढुक्क थिएँ।
मिस नेपाल अर्थका रूपमा आफ्नो नाम घोषणा हुनासाथ के सोच्नुभयो ?
म एक्साइटेड थिएँ। मिस अर्थमा देशको प्रतिनिधित्व गर्दै फिलिपिन्स जान पाइने कुराले रोमाञ्चितसमेत भएँ।
मिस नेपालअघि अन्य कुनै प्रतियोगितामा भाग लिनुभएको थियो ?
मैले सन् २००८ मा सम्पन्न मिस टिन कलेजमा भाग लिएर उपाधि नै जितेकी थिएँ। त्यसपछि करिब एक वर्ष सक्रिय रूपले मोडलिङ पनि गरें। मिस टिन कलेज र मोडलिङको अनुभवले मलाई मिस नेपालमा ठूलो सहयोग पुर्यायो।
मिस नेपाल अर्थ भैसकेपछि आफूमा कुनै परिवर्तन महसुस गर्नुभएको छ ?
त्यस्तो उल्लेखनीय परिवर्तन महसुस गरेकी छैन। रातारात सेलिब्रेटी भइन्छ भन्ने थियो तर त्यस्तो महसुस गरिरहेकी छैन।
मिस अर्थ-२०१४ को तयारी कस्तो छ ?
उक्त प्रतियोगिताको तयारी त मिस नेपालको प्रशिक्षणकै क्रममा प्रारम्भ भएको हो। डेढ हप्ताको प्रशिक्षणले हामीलाई धेरै कुरा सिकाएको छ। अब लिइने प्रशिक्षणले हामीलाई थप आत्मविश्वासी बनाउनेछ। अबको केही हप्तापछि म नृत्य आदिको कक्षा पनि लिँदैछु।
आफूलाई कत्तिको राम्री मान्नुहुन्छ ?
बाहिरबाट झट्ट हेर्दा असाध्यै राम्री त छैन, तर नराम्री पनि छैन। भित्रबाट भने असाध्यै सुन्दर छु।
कस्ता पहिरन लगाउन मन पराउनुहुन्छ ?
स्कर्ट मलाई मनपर्ने पहिरन हो। त्यसबाहेक स्कुटर चलाउँदा सजिलो हुने हरेक प्रकारका पहिरन मन पर्छन्।
कत्तिको फेसनेबल हुनुहुन्छ ?
म नराम्रो डे्रसअप गर्दिनँ, तर टप टेन बेस्ट डे्रस्ड नेपालीमा पनि पर्दिनँ।
मेकअपमा कत्तिको रुचि छ ?
मिस नेपालमा भाग लिनुभन्दा दुई साताअघिसम्म पनि मलाई मेकअपमा कुनै रुचि थिएन। मिस नेपालमा भाग लिने भएपछि सकिल कुँवरसँग एक साता लामो प्रशिक्षण लिएँ। प्रशिक्षणपछि मैले मेकअपको महत्त्व थाहा पाएँ। अहिले म आफ्नो मेकअप आफैं गर्छु।
मिस नेपाल-२०१४ का केही रोचक पक्ष
- मिस नेपाल सुबिन लिम्बू यसअघि मिस मंगोल-२०१० की फस्ट रनर्सअप हुन् भने उनले नेपाल फेसन सप्ताहको रनवेमा व्यावसायिक मोडलका रूपमा क्याटवाक गरेको अनुभव सँगालिसकेकी छिन्। फस्ट रनर्सअप प्रिन्सा पनि व्यावसायिक र्याम्प मोडल हुन् भने उनले पनि फेसन सप्ताहको रनवेमा क्याटवाक गरिसकेकी छिन्।
- मिस नेपाल सुबिन लिम्बू तथा उपविजेताहरू प्रिन्सा श्रेष्ठ र सोनी राजभण्डारीबीच केही रोचक समानता र भिन्नता छ। मिस नेपालको परिणामजस्तै उनीहरूको शारीरिक उचाइ पनि ठूलोबाट सानोतर्फ छ। सुविनको शारीरिक उचाइ ५ फिट ८ इन्च छ भने प्रिन्साको उचाइ ५ फिट साढे ७ इन्च तथा सोनीको उचाइ ५ फिट ५ इन्च छ। यी तीनै जना सुन्दरीसँग बीबीए अध्ययन गरेको समानता छ, जसमध्ये सुबिन र सोनीले बीबीएको अध्ययन पूरा गरेका छन् भने प्रिन्सा बीबीए फाइनल सेमेस्टरकी विद्यार्थी हुन्।
- सुविन र सोनी दुवै २३ वर्षीया हुन् भने प्रिन्सा २१ वर्षीया हुन्।
- अन्तिम पाँचमा पर्न सफल सोनी राजभण्डारीबाहेक अन्य चार जनासित यसअघि सौन्दर्य प्रतियोगितामा सहभागी भएको अनुभव थियो। प्रनयना केसी. २००८ को मिस नेपालमा पनि सहभागी थिइन् भने सुविन लिम्बू, प्रिन्सा श्रेष्ठ र आस्था पोखरेलसँग र्याम्पको राम्रो अनुभव थियो।
- टप टेनमा पुग्न सफल १० सुन्दरीमध्ये सोनी राजभण्डारीसँग मात्र र्याम्प शो वा सौन्दर्य प्रतियोगिताको अनुभव थिएन।
- निर्णायक सहाना बज्राचार्य यसअघि मिस नेपाल प्रतियोगिताको उद्घोषक थिइन् भने मञ्चमा प्रस्तुति दिने निशा अधिकारी यसअघि मिस नेपाल प्रतियोगिताकै निर्णायकमध्ये एक थिइन्।
रोजिन शाक्य
पोखरेलीलाई हषिर्त बनाएकी छु
सोनी राजभण्डारी, मिस नेपाल इन्टरनेशनल-२०१४
मिस नेपाल-२०१४ मा मिस नेपाल इन्टरनेसनलको उपाधि जित्दा कस्तो लागिरहेको छ ?
म अत्यन्त खुसी छु। मोडलिङ र र्याम्पको कुनै पनि अनुभवबिना यो उपलब्धि हासिल गर्न सकेकोमा आफूलाई भाग्यशालीसमेत मानिरहेकी छु।
यो खुसीयालीलाई कसरी सेलिब्रेट गर्नुभयो ?
मिस नेपाल-२०१४ को प्रतिस्पर्धा हेर्न पोखराबाट मेरो परिवारका करिब डेढ दर्जन सदस्य कार्यक्रमस्थलमा आउनुभएको थियो। पहिलो खुसी उहाँहरूसँग साटेँ। त्यसपछि सम्पूर्ण देशवासी अनि विशेषगरी पोखरावासीलाई धन्यवाद दिएँ। पोखरावासीहरूलाई हषिर्त बनाउन सफल भएकोमा खुसी लागेको छ।
नीलिमा गुरुङपछि पोखराबाट तपाईर्ंले सफलता हासिल गरेकोमा कस्तो महसुस गर्नुभएको छ ?
एक दशकपछि मिस नेपालको उपाधि पुनः पोखरा फर्काउन सफल भएँ जस्तो लागेको छ। मिस नेपाल इन्टरनेसनलका रूपमा जापानमा सहभागिता जनाउन पाउने कुराले थप उत्साहित छु।
मिस इन्टरनेसनल-२०१४ को तयारी कस्तो छ ?
आगामी नोभेम्बर महिनामा जापानमा हुने यो प्रतियोगिताका लागि आन्तरिक तयारी प्रारम्भ भैसकेको छ। हिडन टे्रजरको समन्वयमा हामी आगामी सातादेखि विभिन्न प्रशिक्षणमा व्यस्त हुनेछौं।
मिस इन्टरनेसनलमा आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ ?
त्यहाँ मैले नेपालको प्रतिनिधिका रूपमा त्यहाँ प्रस्तुत हुनुपर्नेछ। त्यसका लागि नेपाललाई कसरी चिनाउँदा प्रभावकारी हुन्छ, त्यसकै लागि प्रयास गर्नेछु।
यसअघिका कुनै पनि मिस इन्टरनेसनल प्रतियोगितामा नेपालले उपलब्धि हासिल गरेको छैन, तपाईंबाट केही आशा गर्न सकिन्छ ?
अवश्य सकिन्छ। प्रतियोगितामा हार-जित भैरहन्छ। म यसपटक जितका लागि प्रयास गर्नेछु। म हरेक कुरामा सकारात्मक छु, यो प्रतियोगितालाई पनि मैले सकारात्मक रूपमा लिएकी छु।
दुईवटा शीर्षक उपाधि पनि जित्नुभयो, पहिलो प्रतियोगितामै यो सफलता कसरी ?
मैले प्रतियोगितामा मिस स्टाइलिस तथा मिस फ्रेन्डसिपको शीर्षक उपाधि पनि जितें। अर्को शब्दमा भन्नुपर्दा प्रतियोगितामा तीनवटा एवार्ड जितेर ह्याटि्रक नै गरेँ। यो सबै सफलताका पछाडि मेरो कडा मेहनत तथा लगनशीलताले ठूलो भूमिका निर्वाह गरेको छ।
मिस नेपालमा सहभागी हुने योजना कहिलेदेखिको हो ?
म सानैदेखि मिस नेपाललगायत मिस वल्र्ड, मिस युनिभर्सजस्ता अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरू हेरिरहन्थें। कुनै दिन आफू पनि त्यो भव्य स्टेजमा प्रस्तुत भएर आफ्ना भनाइहरू राख्न पाउँदा कस्तो होला भन्ने सोच्थें। स्नातक तहको अध्ययन पूरा भएपछि मिस नेपालका लागि प्रयास गर्नेछु भन्ने थियो। बीबीएको अध्ययनपछि यसपटकको मिस नेपालमा सहभागी भएर सफलता पनि प्राप्त गरेँ।
परिवारमा को-को हुनुहुन्छ ?
बुवा, आमा, भाइ र बहिनी छौं। बुबा-आमा पोखरामै रेडिमेड कपडाको व्यवसाय गर्नुहुन्छ। भाइबहिनी पढ्दैछन्।
आफू कत्तिको राम्री छु जस्तो लाग्छ ?
मेकअप गर्यो भने जो पनि राम्री देखिन सक्छन्, तर म राम्री देखिनेभन्दा पनि राम्रो बन्ने प्रयास गर्छु।
फुर्सदमा के गर्न मन पराउनुहुन्छ ?
हाम्रो घरमा पाँचवटा पप्पी छन्। फुर्सद भयो कि उनीहरूकै स्याहारमा दिन बित्छ।