विजेताका रूपमा मेरो नाम घोषणा हुँदा असाध्यै रुन मन लागेको थियो तर आफूलाई सम्हालें। वास्तवमा हामीलाई उपाधि घोषणापछि नरुन आग्रह गरिएको थियो। हर्षको आँसुका कारण फोटो बिग्रन्छ भन्ने कुराले नरुन भनिएको थियो।
मिस नेपालको मुकुट आफ्नो शिरमा सजिँदाको क्षण कस्तो महसुस गर्नुभयो ?
सर्वप्रथम त विश्वासै लागेन। सपना जस्तो लाग्यो। भोलिपल्ट सबै पत्रिकाको प्रथम पृष्ठमा आफ्नो तस्बिर देखेपछि मात्र मैले मिस नेपालको उपाधि ययार्थमै जितेको महसुस गर्न थालेँ।
मिस नेपाल बन्नुअघि र पछिको सुबिन लिम्बूमा कस्तो अन्तर पाइरहनुभएको छ ?
क्राउन जित्नुअघि र क्राउन जितिसकेपछिको सुबिन लिम्बूमा कुनै अन्तर त छैन तर मिस नेपाल हुनुअघि म काजीमान लिम्बू र मीनाकुमारी लिम्बूकी माइली छोरी मात्र थिएँ। मिस नेपाल भैसकेपछि म सम्पूर्ण नेपालकी छोरी भएकी छु। लन्डनमा हुने मिस वल्र्ड-२०१४ मा नेपालको प्रतिनिधित्व गर्ने एउटा पात्र बनेकी छु। मेरो जिम्मेवारी बढेको छ।
मिस नेपाल हुनेबित्तिकै मनमा कुन कुरा आएको थियो ?
सर्वप्रथम त म छक्क परेकी थिएँ, किनभने मैले आफूलाई टप टेनसम्म पुग्छु भन्ने तयारी गरेकी थिएँ। टप फाइभमा पुग्दा नै मैले जितिसकेको अनुभव गरेकी थिएँ। विजेताका घोषणा हुने क्रममा म हार्नका लागि भित्रैदेखि तयार थिएँ, जित्छु भन्ने एक मनले पनि सोचेकी थिइनँ। त्यसैले त उद्घोषकले मेरो नाम मिस नेपालका रूपमा घोषणा गरिसक्दासमेत म केही सेकेन्डका लागि स्तब्ध भएँ।
तपाईंको भागमा परेको टप टेनको प्रश्न र निर्णायक प्रश्न उस्तै-उस्तै भएकाले केही सहज भएको हो ?
दुवै प्रश्न युवासँग सम्बन्धित भएकाले यो प्रश्न सोध्नुभएको होला तर मलाई त्यस्तो लागेन। नेपालमा रोजगारी बढाउने सबैभन्दा राम्रो उपाय नेपालमा भएका प्राकृतिक स्राेत, खानी हुन् भन्ने कुरा मैले पढेकी थिएँ, त्यही कुराले मलाई निर्णायक चरणमा सफल बनायो।
निर्णायक प्रश्न सुन्दा कस्तो जवाफ दिन्छु भन्ने सोच्नुभएको थियो ?
निर्णायक प्रश्न हाम्रो अनुमानभन्दा विपरीत केही लामो थियो। मुख्य निर्णायकले उक्त प्रश्न तीनपटक दोहोर्याउने क्रममै मैले दिमागमा उत्तर तयार पारिसकेकी थिएँ। जवाफको अन्त्यमा मैले 'जय देश' भन्ने शब्द प्रयोग गर्नु उचित मानेँ। मेरो त्यो शब्दले निर्णायक तथा दर्शकलाई प्रभावित बनाएको अनुभव गरें।
ँजय देश’ भन्ने शब्द कसरी फुराउनु भयो ?
यो शब्दको श्रेय नेपाली क्रिकेट टिमलाई जान्छ। क्रिकेटको टी-ट्वान्टी विश्वकपमा नेपाली खेलाडीलाई देशभरबाट जुन साथ र समर्थन मिल्यो, त्यतिबेला जय देश भन्ने शब्दले विशेष महत्त्व पाएको थियो। हामी सबै नेपालीलाई बाँध्ने एउटै शब्द जय देश हो।
उपाधिको हकदार आफैं नै हुन्छु भन्ने कुनै बेला लागेको थियो ?
नढाँटी भन्नुपर्दा मैले आफूलाई हकदारका रूपमा लिएकी थिइन। उपाधि घोषणा हुँदासमेत मैले आफूलाई सम्भावित विजेताको रूपमा हेरेकी थिइन्। महत्वपूर्ण कुराचाहिँ के हो भने मैले निर्णायक प्रश्नको जवाफ दिनुअघि आफूलाई सम्झाइरहेकी थिएँ, नर्भस हुनु हुँदैन भनेर आफैंलाई सम्हालिरहेकी थिएँ।
विजयी हुन के गर्नुपर्दो रहेछ त ?
सबैभन्दा ठूलो कुरा इच्छा नै हुनुपर्यो। त्यसपछि मनमा दृढता, आत्मविश्वास, आँखामा चमक पनि हुनुपर्यो। ती सबै कुरा हामी १९ जना प्रतिस्पर्धीमा थियौं।
मिस नेपाललाई कसरी परिभाषित गर्नु हुन्छ ?
नेपालका 'मिस नेपाल' लाई सेलिब्रेटीको रूपमा हेरिन्छ। यो एउटा सम्मानित उपाधि हो। यो एउटा यस्तो उपाधि हो जसमा सबै नागरिकले विश्वास गर्नुहुन्छ। उनको कुरा सुन्न मन पराउनुहुन्छ। उनलाई उदाहरणका रूपमा लिनुहुन्छ।
आफूलाई कत्तिको राम्री मान्नुहुन्छ ?
मलाई त म आफू धेरै राम्री लाग्छु। मेरो हाइट राम्रो छ। मेरो पढाइ राम्रो छ। त्यसभन्दा पनि ठूलो कुरा मेरो मन राम्रो छ।
फिटनेसका लागि के गर्नुहुन्छ ?
म प्रशस्त पानी पिउँछु। दिनमा यति-उति लिटर भन्ने छैन, तर पानी पिइरहेकी हुन्छु। बिहान ह्याभी ब्रेकफास्ट गर्छु, दिउँसो हल्का खाना खान्छु, राति सकेसम्म खानै खान्न। फलफूल पनि मलाई असाध्यै मनपर्छ।
कस्तो डे्रसअप मनपर्छ ?
मलाई बडी सेप देखिने फूल लेन्थ पहिरन मनपर्छ। जिन्समा म आफूलाई सहज महसुस गर्दिनँ।
कत्तिको फेसन कन्सस हुनुहुन्छ ?
लेटेस्ट टे्रन्डलाई अलि-अलि फलो गर्छु तर फेसनकै बारेमा सोचेर समय बिताउँदिनँ।
मेकअप गर्न कति समय लगाउनुहुन्छ ?
पहिले-पहिले त मेकअपको नाममा गाजल र ब्लस मात्र लगाउँथे तर अहिले मेकअप अनि हेयरलाई झन्डै एक घण्टा समय दिन थालेकी छु। मिस नेपाल भएपछि त अझ राम्री भएर हिँड्नुपर्यो नि !
फुर्सदमा के गर्नुहुन्छ ?
मुडमा भर पर्छ। कहिलेकाहीं ऐना अगाडि बसेर लिपस्टिक, गाजल आदि लगाएर रमाउँछु। पत्रपत्रिका पढ्छु। केही दैनिक पत्रिका नियमित अध्ययन गर्छु। महिलासम्बन्धी पत्रिकाहरू नछुटाइ पढ्छु।
परिवारमा को-को हुनुहुन्छ ?
मेरो परिवारमा बुवा, आमा र हामी तीन जना दिदीबहिनी छौं। बुवा बि्रटिस आर्मी हुनुभएकाले लामो समयदेखि लन्डनमा हुनुहुन्छ। आमा र बहिनी पनि तीन वर्षदेखि उतै हुनुहुन्छ। मचाहिं दिदीसँग काठमाडौंमै बसोबास गरिरहेकी छु।
तपाईंचाहिँ किन नजानुभएको ?
बीबीएको अध्ययनमा व्यस्त भएकाले उता नगएकी। पढाइ सिध्याएर जाने योजना थियो, अब मिस नेपाल भएपछि कम्तीमा एक वर्ष जान्नँ। अँ...यसपटक संयोग कस्तो परेको छ भने मिस वल्र्ड-२०१४ लन्डनमै हुँदैछ, लामो समयपछि बुवा-आमा र बहिनीसंँग भेट हुने कुराले एक्साइटेड पनि छु।
बाल्यकालका बारेमा केही बताइदिनुहोस् न ?
मेरो घर चतरा लाइन, धरानमा छ। मैले धरानको सिद्धार्थ शिशु सदनमा कक्षा ५ सम्म अध्ययन गरेकी थिएँ। त्यसपछि विजयपुर हाइस्कुलबाट प्लस टु गरें। प्लस टु सकिएपछि बीबीए गर्ने क्रममा विगत पाँच वर्षदेखि काठमाडौंमा छु।
बाल्यकालका केही रमाइला घटना सम्झनुहुन्छ ?
म सानो छँदा असाध्यै चकचके स्वभावकी थिएँ। हुन त छुकछुक गर्ने मेरो बानी अहिले पनि छुटेको छैन। सानो छँदा गरेको चकचक अहिले सम्झँदा रमाइलो लाग्छ।
सानो छँदा भविष्यमा के बन्ने सपना देख्नुहुन्थ्यो ?
मैले त्यतिबेला भविष्यमा के बन्ने भन्ने सोचेकै थिइनँ। बुवा-आमाले पढेर ठूलो मान्छे बन्नुपर्छ भन्नुहुन्थ्यो। मेहनत गरेर पढें। मिस नेपालको उपाधि जितेपछि बुवाले लन्डनबाट फोन गरेर बधाई दिने क्रममा हर्षका आँसु खसाल्नु भयो। सम्भवतः बुवाले पनि मैले कुनै दिन यस्तो सफलता पाउनेछु भन्ने सोच्नु भएको थिएन।
बीबीएकी छात्रा, मोडलिङमा कसरी आकषिर्त हुनुभयो ?
वर्ष २०१० मा सम्पन्न मिस मंगोलमा सहभागिता जनाउनुअघि मलाई मोडलिङका बारेमा केही जानकारी थिइन, रुचि पनि थिएन। आमाको रहर पूरा गर्न म मिस मंगोलमा सहभागी भएँ। भाग्यवश फस्ट रनर्सको उपाधि पनि पाएँ। उक्त प्रतियोगितापछि नै मैले मोडलिङमा रुचि बढाउन थालें।
छोरीलाई मोडल बनाउने आमाको रहर कस्तो लाग्यो ?
वास्तवमा हरेक आमालाई आफ्नी छोरी राम्री भएर स्टेजमा उत्रिएको हेर्ने रहर हुँदो रहेछ। मेरी आमालाई पनि म मेकअप गरेर, राम्री भएर स्टेजमा उत्रिएको हेर्न मन लागेको रहेछ। उहाँले नै मलाई कर गरेर मिस मंगोलमा पठाउनुभएको थियो। उहाँको कर र रहरले आज मलाई यो सफलता दिलाउँला भन्ने कल्पनासमेत गरेकी थिइन।
त्यतिबेलाको अनुभव मिस नेपालका लागि कत्तिको सहयोगी भयो ?
त्यति बेला सिकेका कुराले धेरै सहयोग पुर्यायो। वास्तवमा प्रशिक्षणले नै मानिसलाई निखार्छ भन्ने कुरा मिस नेपालको प्रशिक्षणबाट पनि पुष्टि भयो।
तपाईंलाई त धरानकी सुबिन, लिम्बू समुदायकी सुबिन भनेर पनि प्रचार गरिँदै छ नि ?
म धरानकी हुँ। लिम्बू समुदायकै हुँ अनि त्योभन्दा पनि ठूलो कुरा म नेपाली हुँ।
अरूले थाहा नपाएको तपाईंको खुबी के हो ?
म राम्रो गीत गाउँछु। मिस नेपालको ट्यालेन्ट शोमा पनि मैले गीत गाएकी थिएँ। कुनै दिन गीत रेकर्ड गरौं भन्ने सोची रहेकी छु। मेरो यो खुबीका बारेमा थोरैलाई मात्र जानकारी छ।
तपाईंलाई मनपर्ने नेपाली स्वर ?
मलाई सत्य-स्वरूप आचार्य, सिने गुरुङ, कर्णदास, दीपक लिम्बू तथा विष्णु चेम्जोङको स्वर असाध्यै मनपर्छ।
तपाईंको कमजोरीचाहिँ के हो नि ?
आलोचना सहन नसक्नु मेरो ठूलो कमजोरी थियो, तर जबदेखि मिस नेपालमा सहभागी भएँ, आलोचना सहन सक्नुपर्छ भन्ने कुरा सिकें। यतिबेला मेरो यो कमजोरी सुधि्रने क्रममा छ। वास्तवमा आलोचनाले पनि व्यक्तिलाई अघि बढ्न सहयोग पुर्याउँदो रहेछ।
कुन कुराले खुसी बनाउँछ ?
बेकरीमा गएर कपकेक खान पाएँ असाध्यै खुसी लाग्छ।
अनि कुन कुराले दुःखी ?
बिना कारण कसैले हेप्दा, व्यक्तिगत रिस अरूमाथि थोपर्दा असाध्यै दुःखी हुन्छु।
भविष्यमा के बन्ने लक्ष्य लिनु भएको छ ?
बीबीएकी छात्रा भएकाले व्यवसाय नै मेरो लक्ष्य हो तर मिस नेपालको उपाधिले ग्ल्यामर क्षेत्रमा पनि सक्रिय हुनुपर्ने भएको छ। कर्पोरेट क्षेत्रमा केही गर्ने योजना छ।
पछिल्लो पटक हेरेको नेपाली चलचित्र कुन हो ?
मैले धेरै नेपाली चलचित्र हेरेकी छैन। पछिल्लो पटक 'बुहारी' भन्ने पुरानो चलचित्र हेरेको थिएँ, जुन असाध्यै राम्रो लाग्यो। यतिबेला 'नोभेम्बर रेन' हेर्ने मन छ। धरानमा छायांकन भएकाले पनि यो चलचित्रमा धरानलाई कसरी प्रस्तुत गरिएको रहेछ भनेर हेर्न मन छ।
भविष्यमा चलचित्र नायिका बन्ने प्रस्ताब आयो भने ?
अहिले नै चलचित्रमा आउँछु त भन्न सक्दिनँ, तर भविष्यमा विषयवस्तु राम्रो भएको चलचित्र भयो भने, अभिनय गर्दा राम्रो हुन्छ भन्ने लाग्यो भने अवश्य अभिनय क्षेत्रमा आउनेछु।
तपाईं क्रिकेटको फ्यान हो ?
फ्यान नै त होइन तर क्रिकेट एउटा यस्तो खेल हो जसले सम्पूर्ण देशलाई एकत्रित बनाउँछ। नेपाललाई विश्वसामु चिनाउने एउटा राम्रो माध्यम क्रिकेट नै बनिरहेको छ। नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिरहेको देख्दा यसको फ्यान बन्न करै लाग्छ।
राजनीतिका बारेमा के बुझ्नुभएको छ ?
राजनीतिलाई 'डर्टी गेम' भनिन्छ तर म यो कुरामा विश्वास गर्दिनँ। म त भन्छु जबसम्म तपाईं राजनीति बुझ्नु हुन्न तबसम्म यसलाई डर्टी नभन्नुस।
नेपालको राजनीतिक अवस्था कस्तो लाग्छ ?
डामाडोल छ भन्ने बुझेकी छु। अघिल्लो वर्ष नै संविधान आउनुपर्ने थियो तर आएन। अब यसपटक पनि राजनीतिक दलका नेताहरूले संविधान दिएनन् भने नेपाली जनता चुप लागेर बस्दैनन् होला।
आफ्नो शारीरिक उचाइ कसरी बढाउनुभयो ?
मेरो बुवा ५ फिट ९ इन्च अग्लो, आमा ५ फिट ५ इन्च अग्ली। म ५ फिट ८ इन्च अग्ली। मेरो उचाइ बढ्नुमा बुवा-आमाको उचाइले पनि साथ दिएको हुनुपर्छ। अर्को कुरा म सानो छँदा मार्शल आर्ट्स, बास्केट बल जस्ता खेल खेल्थें। त्योभन्दा पनि रमाइलो कुरा के भने धरानमा छँदा म भान्छाको काम बढी नै गर्थें। भान्सामा भाँडा माझेर घोप्ट्याउने ठाउँ हाम्रो टाउकोभन्दा केही माथि थियो। बिहान-बेलुकै भाँडा माझेर घोप्टाउने क्रममा खुट्टाको औंलाको सहारा लिनुपथ्र्यो। हरेक दिन त्यसरी तन्किएर भाँडा घोप्टाउँदा नजानिँदो शैलीमा मेरो उचाइ बढेको हो कि जस्तो पनि लाग्छ।
कसैसँग प्रेम सम्बन्ध छ कि ?
प्रेम त सबैसँग छ नि। तपाईंले भन्नुभएको जस्तो प्रेमचाहिं छैन। धेरै जनाले प्रेम प्रस्ताव नराखेका पनि होइनन, तर मैले अहिलेसम्म कुनै पनि प्रस्ताव स्वीकार गरेकी छैन।
विवाहचाहिं कस्तो गर्ने ?
मेरा बुवा-आमाको विवाह हुँदा उहाँहरूको उमेर १८ र १६ वर्ष थियो रे। बुवा-आमाले हामी तीनै जना छोरीलाई 'जुन केटा मनपर्छ, त्यही केटासँग विवाह गर्नु' भन्ने छुट पनि दिनुभएको छ, तर हामी पढेलेखेका छोरीहरू त्यसरी जस्तो पायो त्यस्तो केटासँग होइन, राम्रो, पढेलेखेको, भलाद्मी केटासँग विवाह गर्ने भनेर बसेका छौं। म भविष्यमा प्रेम विवाह नै गर्ने कुरा सोचिरहेकी छु। अबको पाँच-छ वर्ष भित्र त भैसक्छ होला।
दाजु-भाइको कमी महसुस हुन्छ कि हुँदैन ?
परिवारमा छोरा छैन ? भाइ छैन ? भन्ने प्रश्न सोधेर दिक्क लगाउँदा चाहिं कमी महसुस हुन्छ तर अरू बेला हुँदैन। हामी छोरीहरू नै छोरा जत्तिकै सक्षम छौं भनेर सबैले बुझ्नु भएको छ।
तपाईंलाई मनपर्ने व्यक्तित्व ?
साझा सवालका पूर्वप्रस्तुतकर्ता नारायण श्रेष्ठको व्यक्तित्व मनपर्छ। खासगरी उहाँले प्रश्न सोध्ने शैलीको म फ्यान हुँ।
मनपर्ने पूर्व मिस नेपाल ?
सुगरिका केसी। उहाँमा भएको आत्मविश्वास तथा आँखाको चमकले मलाई प्रभावित तुल्याएको छ। उहाँले विगतमा दिनुभएको फेयरवेल स्पिच म कहिल्यै बिर्सन्न।
प्रसंग बदलौं, मिस वल्र्ड-२०१४ को तयारी कस्तो छ ?
मिस नेपालको उपाधि जितेको पहिलो दुई हप्ता सञ्चारमाध्यमहरूलाई समय दिनुपर्ने भएकाले मिस वल्र्ड-२०१४ को औपचारिक तयारी प्रारम्भ भएको छैन। यद्यपि व्यक्तिगत रूपमा गत शुक्रवार मिस नेपालको उपाधि जितेको क्षणदेखि नै मेरो ध्यान मिस वल्र्डमा केन्दि्रत भैसकेको छ। विगतका मिस नेपालले मिस वल्र्डमा पाएको उपलब्धिलाई अझ बढाउने ठूलो जिम्मेवारी मेरो काँधमा आएको छ। आयोजक हिडन टे्रजरले मिस वल्र्डको तयारीका लागि विभिन्न प्रशिक्षणको तयारी गर्दैछ। आगामी सातादेखि म पूर्ण रूपमा त्यसमै केन्दि्रत हुनेछु।
गत वर्ष ईशानी श्रेष्ठले मिस वल्र्डमा ब्युटी विथ पर्पसको उपाधि जितेकी थिइन्। उक्त उपाधिका लागि तपाईंको तयारी के छ ?
ब्युटी विथ पर्पसका लागि नेपालमा धेरै विषय छन्। कुन विषयमा प्राेजेक्ट तयार पार्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौं।
आगामी वर्षका मिस नेपाल प्रतियोगीलाई के सुझाव दिनुहुन्छ ?
मिस नेपालले अन्तर्राष्ट्रियस्तरमा सफलता पाइरहेको परिपेक्ष्यमा आगामी वर्षका प्रतिस्पर्धिहरूलाई नेपालका लागि मात्र नभएर आफूलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी प्रस्तुत गर्ने भन्ने तयारीका साथ आउन आग्रह गर्छु। त्यसका लागि हाम्रो देश नेपालका बारेमा धेरै भन्दा धेरै जानकारी हासिल गर्नुपर्छ।
तपाईं एक वर्षका लागि मिस नेपाल कि जीवनभरिका लागि ?
मैले आफ्नो सम्पूर्ण जीवनभरिकै लागि मिस नेपालका रूपमा चिनिने लक्ष्य बनाएकी छु। त्यसका लागि मैले धेरै काम गर्नु छ, ती कामहरूले मलाई जीवनभरिको मिस नेपाल बनाउन सहयोग पुर्याउनेछन्।